लसुनको भाउ सुनसरह बढ्दै, डल्ले च्याउको ३०० पुग्यो

काठमाडौं । वर्षासँगैको विपद्का कारण काठमाडौंमा तरकारीको मूल्य बढेको छ । वर्षा लागेसँगै मुलुकभर बाढी पहिरोका कारण सडकहरु अवरुद्ध हुँदा काठमाडौंमा तरकारीको मूल्य बढ्न थालेको हो । बाढी पहिरोका कारण उपत्यका भन्दा बाहिरको तरकारी काठमाडौ आउन नसक्दा उपत्यकामा तरकारीको मूल्य वृद्धि भएको छ । वर्षातको कारण बाढी पहिरो आउँदा हरेक वर्ष काठमाडौंमा तरकारीको मूल्य वृद्धि हुने गर्छ । तरकारीको मूल्य वृद्धि भएसँगै उपभोक्ताको चुलो पनि महँगो हुन गएको छ । केही दिनदेखि लौका, बोडी, काउली, घिरौँला लगायतको मूल्य वृद्धि भएको छ । कालीमाटी तरकारी बजारमा तरकारी खरिद गर्न आएका उपभोक्ताहरुले वर्षा याममा तरकारीको मूल्य वृद्धि भएको बताए । उनीहरुले बजारमा गोलभेडा, घिरौँला,काउली लगायत तरकारीको मूल्य बढेको बताए । उपभोक्ताहरुले शुक्रबारको बजारमा गोलभेडा बाहेक अन्य तरिकारीको मूल्य सय रुपैयाँ भन्दा कम नभएको गुनासो गरे । मुलुकमा नै उत्पादन भएको गोलभेडाको मूल्य उच्च रुपमा वृद्धि भइरहेको अवस्थामा शुक्रवार भने गोलभेडा सस्तो भएको छ । सानो गोलभेडा कालिमाटी तरकारी बजारमा १६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । टनेलमा उत्पादन भएको स्वदेशी सानो गोलभेडा प्रतिकिलो २४.२० रुपैयाँमा बिक्री भएको छ । त्यस्तै स्वदेशमै उत्पादन भएको ठूलो गोलभेडा भने ११६.६७ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी तरकारी बजारका अनुसार शुक्रबार रातो आलु ६९.६०, मुढे रातो आलु ५१, सेतो आलु ४९, प्याज ९२, गाजर ९६, बन्दा ४५, स्थानीय काउली ७६, ज्यापु काउली ९६, सेतो मुला ३६, लाम्चो भान्टा ८६, तने बोडी ११०, घिउ सिमी १६६ र घिउ सिमी हाइब्रीड १७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यस्तै, राजमा घिउ सिमी १४५, तिते करेला ८२, लौंका ९०, परवर ७६, चिचिण्डो ६६.६७, घिरौंला ११६, झिगुनी ७६.६७, पाकेको फर्सी ६८.६७, डल्ले फर्सी ८६.६७, भिण्डी ११०, पिडालु ९६.६७, स्कुस ९६, रायो साग १८३.३३, कन्ये च्याउ १८०, डल्ले च्याउ ३०० र राजा च्याउ २९० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेकाे छ । यस्तै न्युरो ११५, ब्रोकाउली ११०, कटहर ४६.६७, भेडे खुर्सानी ११६, अदुवा २३० र स्वदेशी लसुन २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

डिश मिडिया नेटवर्कको ‘माईडिशहोम’ एप पुन:लन्च गरिँदै

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले ‘माईडिशहोम’ एपको पुन:सुरुवातको घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी गरेका हुन् । कम्पनीका अनुसार ‘माईडिशहोम’ एप टिभी, इन्टरनेट र थप कुराहरू सहित डिशहोम सेवाहरू प्रबन्ध गर्नका लागि एक सिमलेस, सबैमा एक प्लेटफर्म प्रदान गर्न डिजाइन गरिएको हो । एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधाहरूको एक होस्टको साथ आएको छ । मुख्य सुविधाहरूमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटररवाइफाइ सेटिङहरू, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पिपीभी खरीद, प्याकेज बुकिङ र खरीद, खाता प्रणाली सम्पादन, र अन्य धेरै सुविधाहरु समावेश गरिएको कम्पनीले बताएको छ । ‘यस पुन:लन्चको साथ, हामीले हाम्रा ग्राहकहरूलाई थप एकीकृत र प्रयोगकर्ता-मैत्री अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौं, हाम्रा ग्राहकहरुलाई डिशहोमका सबै उत्पादनहरू र सेवाहरू सहज रूपमा स्व-व्यवस्थापन गर्न सक्षम पार्छौ’, श्री मानन्धरले भने । ‘माईडिशहोम’ एप अब आईओएस एप स्टोर र एन्ड्रोइड प्ले स्टोर दुवैमा डाउनलोड गर्नका लागि उपलब्ध छ। डिशहोमलाई पहिलेभन्दा धेरै पहुँचयोग्य बनाउँदै प्रयोगकर्ताहरूले डिशहोमका सम्पूर्ण सेवाहरूको आनन्द लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा छ मेट्रिक टन, केपिलासगढीमा शून्य दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिच्ची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित लिच्चीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताएका छन् । ‘जिल्लामा उत्पादित लिच्ची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ’, उनले भने, ‘यसप्रति तीनवटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।’ जिल्लामा उत्पादित लिच्ची स्थानीय हाटबजार तथा राजधानी काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ । लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । रासस