दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि
उदयपुर । जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् । ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् । त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताए । ‘असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो ५० रुपैयाँ पर्नेमा अहिले एक सय पचास रुपैयाँ पर्छ’, उनले भने । स्थानीय राजु धमलाले दुई साताभित्रै तेब्बरले मूल्य वृद्धि गरेर व्यापारीले वर्षा र सडकलाई माध्यम बनाएर उपभोक्ता ठगी गरिरहेका बताए । ‘सरोकार भएका निकायको उचित ध्यान जान नसक्दा उपभोक्ता मारमा पर्नुका साथै व्यापारीको कालाबजारी बढ्यो’, उनले भने । असारको १५ गतेसम्म बोडी प्रतिकेजी ६० रुपैयाँ देखि सत्तरी रहेकामा अहिले एक सय ८० देखि दुई सय रुपैयाँ पर्ने गरेको छ । ‘दैनिक तीन सयदेखि चार सयको हाजिरीमा काम गरेर जीविकोपार्जन गर्ने मजस्ता श्रमिकले कसरी यती महँगो तरकारी किनेर खानु’, त्रियुगा–१२ पुरानो गाईघाटका श्रमिक देवेन्द्र चौधरीले प्रश्न गरे । फलफूल तथा तरकारी व्यापारीका अनुसार जिल्लाभित्र उत्पादनमा कमी आउँदा बाहिरबाट ढुवानी गरेर आपूर्ति गर्ने गरिएकाले वर्षासँगै मूल्य वृद्धि भएर आएको बताउँछन् । कृष्णप्रसद खनालले भने, ‘बजार क्षेत्रमा खेतीयोग्य जमिनमा सडक विस्तार, घर निर्माण हुँदा अधिकांशले खेती गर्दैनन् । यहाँ उत्पादन नभएपछि व्यापारीले जति मूल्य भने पनि किनेर खानुपर्ने बाध्यता छ ।’ यहाँ व्यापारीले सिरहाको लाहानबाट सस्तोमा सामग्री खरिद गरेर उपभोक्तालाई महँगोमा बेचिरहेका उनले बताए । यस विषयमा सरोकारा भएका निकायले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले कालोबजारी गरिरहेका यहाँका उपभोक्ता बताउँछन् । रासस
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ मूल्यले रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो । महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार नौ सय रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै, आइतबार प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि एक लाख ४६ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ ।
कृषिमा रमाएका निर्मल भन्छन् : ५ घन्टा मेहनत गर्ने हो भने राम्रो आम्दानी हुन्छ
मध्यविन्दु । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी फेरिएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत ३ वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आएका छन् । नेपाली सेनाको जागिरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उहाँ व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका छन् । ‘उमेरमै जागिरबाट पेन्सन निस्किए, राम्रो देशमा आकर्षक तलबसहित रोजगारीका लागि साथीहरू गइरहेका थिए तर मलाई यही माटोमा पसिना बगाउन मन थियो अहिले केरा खेती गरिरहेको छु’, उनले भने, ‘विदेशमा १० घन्टा बगाउने पसिना यहाँ ४/५ घन्टा मेहनत गर्ने हो भने कृषिबाट नै राम्रो मनग्य गर्न सकिने रहेछ ।’ दीर्घकालीन सोचसहित निर्मलले कावासोती नगरपालिका– १० रतौलमा १२ बिघा जमिन भाडामा लिएर व्यावसायिक केराखेती गरिरहेका छन् । छिटो आम्दानी गर्न सकिने, अनुकूल हावा पानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केराखेतीतर्फ आफू आकर्षित भएको उनको भनाइ छ । ‘पहिलो वर्ष प्रतिगोटा रु ४० का दरले १७ हजार आठ सय ५० वटा बिरुवा ल्याएर केरा खेती सुरु गरेको हो’, निर्मलले भने, ‘तीन वर्ष अगाडि रोपेका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् ।’ उनको व्यावसायिक केराखेतीबाट २ जनाले रोजगारीसमेत पाएका छन् । अहिले केराखेतीबाट मेहनतअनुसारको आम्दानी हुन थाले पछि निर्मललाई सन्तुष्टि दिलाएको छ । ‘अहिले बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारीले प्रतिगोटा ७ रुपैयाँका दरले काँचो केरा खरिद गरेर लाने गरेका छन्’, उनले भने, ‘प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको छु ।’ समयमा बीउ, मल नपाउनु, सिँचाइको अभाव, कामदार नपाउनुजस्ता समस्याले गर्दा केरा खेती गर्ने किसानले दुःख पाउने गरेको उनको अनुभव छ । पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको उनले बताए । ‘सिँचाइ, हावाहुरी र कीरा केराखेतीको मुख्य समस्या रहेछन्, रोग लागेन र हावाहुरीले क्षति पुगेन भने यसबाट राम्रो आम्दानी लिन सकिने रहेछ’, उनले भने । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा करिब पाँच सय ५१ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘कृषि ज्ञान केन्द्रमार्फत व्यावसायिक केराखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदान दिँदै आएका छौं’, उनले भने, ‘किसानको खेतबारीमा गएर अनुगमन गरी समस्याका बारेमा सुझाव दिने गर्ने गरेका छौँ ।’ पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ । केही युवा स्वदेशमै स्वरोजगारसँगै आम्दानीको क्षेत्र पहिचान गर्न लागि परेका छन् । यसरी स्वदेशमै पसिना बगाउन चाहने युवालाई राज्यले उचित सहयोग गर्ने हो भने रोजगारीको समस्या नपर्ने किसानको भनाइ छ । रासस