बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन १ लाख १९ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो । मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
तनहुँको एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन
दमौली । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ । गत वर्ष पनि रु तीन करोड बराबरको सुन्तला बिक्री गरेका यहाँका कृषकले अहिले पनि सोही हाराहारीमा सुन्तला बिक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले जानकारी दिए । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको उनको भनाइ थियो । यस वर्ष रु ५५ लाख बराबरको सुन्तला उत्पादन गरेका थापाले भने, ‘धेरै वर्ष पहिला अधियाँ गरेर खानुपर्ने बाध्यता रहेकामा अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ ।’ उनका अनुसार सुरुका दिनमा रु थोरै ऋण माग्दा पनि कसरी तिर्ला भन्ने अहिले आम्दानी देखेर दङ्ग छन् । सुन्तला खेतीले कृषकको जीवनस्तर बदलिएको छ । यो वडाको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँका कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन् । सुन्तला उत्पादनमा जिल्लाकै पकेट क्षेत्रका रुपमा देवघाट परिचित छ । थापाले भने, ‘विगतमा केही पनि अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका कृषकले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङ्ग्रिङमा एउटै घरबाट २० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।’ स्थानीय विष्णुकुमार श्रेष्ठले विदेश वा अन्यत्र गएकाहरु पनि गाउँ फर्किएर सुन्तलाखेतीमा लागेको जानकारी दिए । उनले भने, ‘सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाहिर भएकाहरु गाउँ फर्किए ।’ छापस्वाँराका डिलकुमार श्रेष्ठले सुन्तलासँगै बाख्रापालनलाई अगाडि बढाएका छन् । यस वर्ष रु दुई लाख ५० हजारको सुन्तला बेचिसकेको उल्लेख गर्दै उनले भने, ‘५० वटा बाख्रा पालेको छु । सुन्तला र बाख्रा नै आम्दानीको स्रोत हो ।’ गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट सुन्तला उत्पादनमा पकेट क्षेत्रका रुपमा विकास भएको बताए । देवघाटमा सुन्तला प्रशस्त उत्पादन भए पनि बजारीकरणका लागि कृषकले समस्या भोगिरहेका छन् । नदी पारी रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला कृषकको गुनासो थियो । यहाँका कृषकले लुङ्ग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारागणगढ सडकको गाईघाटसम्म जिपमा राखेर ल्याउने र त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् । गाउँपालिकाले सुन्तला उत्पादक कृषकलाई लक्ष्य गरी सुन्तला नर्सरी स्थापना गर्न रु ३० लाख विनियोजन गरेको छ । उक्त नर्सरीमा बिरुवा उत्पादन गरेर इच्छुक किसानलाई निःशुल्क वितरण गरिने बताइएको छ । रासस
शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न
काठमाडौं । शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान मूल नाराका साथ शुरु गरिएको यो प्रतियोगिता तेश्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तिन जना विजेता र १२ जनालाई सान्तवना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ । उक्त प्रतियोगितामा पहिलो हुनेमा सप्तरिकि मिथिला चित्रकार रुबी कर्ण, दोश्रो हुनेमा महोतरीकि नेहा कुमारी, तेश्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकि छिन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार, दोश्रो हुनेलाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजार साथै बाँकि १२ जनालाई सान्तवना पुरस्कार नगद ११ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए । उक्त प्रतियोगितामा निर्णायकको भुमिकामा मिथिला चित्रकार शयाम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी रहेका थिए ।