प्रतितोला १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
रामेछापका किसानलाई जुनार बेच्न भ्याइनभ्याइ
रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उनले बताए । तामाङले भने– ‘बजारको समस्या छैन ।’ व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उनको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन् । धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन् । मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ । सुन्तला बगैँचाबाटै प्रतिकिलो रु एक सय र जुनार प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । पहेँलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं विद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताए । रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ । यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको हो । जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन् । जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताए । अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ । गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो रु ३० देखि रु ४० मा बिक्री हुने गरेको थियो । केही वर्ष यहाँको जुनारमा फल कुहाउने औँसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो । थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे । यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ । उनका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ । यो उत्पादन अहिलेसम्मकै उच्च हो । कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ । उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताए । अघिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताए । फल कुहाउने औँसाबाट जुनार जोगाउनका लािग १० पटकसम्म विषादी छरेको उनको भनाइ छ । जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो। रामेछाप नगरापालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकिरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन् । विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङ बताउँछन् । रामेछापको ओख्रेनी र सुकाजोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन् । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष १५ हजार मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ। जिल्लाको रामेछाप, रामपुर , सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्यांक संकलन गर्ने काम भइरहेको बताउँछन् । रासस
हस्तकला व्यापार मेला सुरु, लाखौं मूल्यका सामग्री प्रदर्शनीमा
काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गरेको २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आजबाट सुरु भएको छ । दरबारमार्गस्थित होटेल डेल अन्नपूर्णमा भइरहेको उक्त व्यापार मेला पुस २ गतेसम्म सञ्चालनमा हुनेछ । महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२औं हस्तकला दिवसको अवसर पारेर सुरु गरिएको उक्त मेलाको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । उद्घाटनका क्रममा पौडेलले विदेशी मुद्रा अर्जन गर्ने प्रमुख वस्तुका रूपमा हस्तकला रहेकोले यसको प्रवर्द्धन गर्न अपरिहार्य रहेको बताए । ‘नेपाली हस्तकलाका सामग्री निर्यात गर्न सरकारको सहयोग पनि व्यवसायीलाई आवश्यक छ, परम्परामा आधारित वस्तुलाई उपयोगितासँगै सौन्दर्य थप्दै लैजाने पद्धति हस्तकलाभित्र पर्छ, त्यसैले युवा पुस्तालाई पनि यसको सीप दिन जरुरी देखिन्छ,’ उनले भने । नेपाली हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजारमा पुर्याउन व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने पौडेलको भनाइ छ । यस्तै, महासंघका अध्यक्ष प्रचण्ड शाक्यले मेलाबाट हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने बताए । उनका अनुसार हाल नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँको हस्तकलाका सामग्रीहरू निर्यात भइरहेको छ । मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरूको प्रदर्शनी राखिएको पनि शाक्यले बताए । मेलामा ३ वटा प्याभिलियनसहित करिब १ सय ३० वटा हस्तकलाका वस्तुका स्टलहरू रहेका छन् । लाखौं मूल्य पर्ने हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको छ । महासंघले मेलामा झण्डै १ लाख आगन्तुक आउने अपेक्षा गरेको छ । जसमध्ये २० हजार आगन्तुकका लागि निःशुल्क प्रवेश पास वितरण गरिने पनि बताइएको छ । यस्तै, व्यापार मेला अवलोकन गर्नको लागि महासंघले एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था महासंघले मिलाएको हो ।