केन्ट आरओको दसैंतिहार अफर, सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार

काठमाडौं । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्सले नजिकिँदो दसैंतिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणका लागि ग्राहकले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्षित गर्दै ‘यो दसैंतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित विभिन्न अफर ल्याएको हो । अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको कम्पनीले जनाएको छ । यो ग्राहक योजना भदौ २८ देखि देशभर सीमित अवधिका लागि लागू गरिएको छ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।

एमपीआईएको पुरानै कार्यसमितिले पायो निरन्तरता

काठमाडौं । मोबाइल फोन इम्पोर्टस् एशोसिएसन (एमपीआईए) को पुरानै कार्यसमितिले निरन्तरता पाएको छ । असोज २ गते सम्पन्न संस्थाको साँतौ वार्षिक साधारण सभाले आगामी दुई वर्षको लागि दिपक कुमार मलहोत्राको अध्यक्षतामा ९ सदस्य रहेको कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको हो । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभामा समितिका महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराएका थिए । त्यस्तै, कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जावलाखेलमा असोज १० गतेदेखि जुत्ता चप्पल मेला हुँदै

काठमाडौं । ललितपुरको जावलाखेलमा  असोजको १० गतेदेखि ‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’ को आयोजना हुने भएको छ ।  नेपाली जुत्ता चप्पल उत्पादक समुहले आइतबार एक कार्यक्रमको आयोजना गर्दै दशैं लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना हुन लागेको जानकारी दिएको हो । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारा सहित आयोजना हुन लागेको सो मेला असोजको १० गतेदेखि  कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बिचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना हुने भएको मेला संयोजक होमनाथ उपाध्यायले बताए । वडादशैं पर्व लक्षित यो मेलामा नयाँ/नयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुने पनि उपाध्यायले जानकारी दिए । उनका अनुसार मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ । मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने पनि बताइएको छ । आयोजक टिमले मेलामा नेपाली र गुणस्तरीय उत्पादनका जुत्ता चप्पल रहने पनि बताइएको छ । उपाध्यायले नयाँ उत्पादनहरु उक्त मेलामा लन्च गरिने बताउँदै मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको पनि बताए । आयोजक टिमले मेला अवधिभरमा तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखेको छ । मेलामा निःशुल्क प्रवेश  गर्न सकिने छ । मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल रहने छ । मेलामा रोयल शु इण्डष्ट्रिजको रोयल शुज, वेश फुटवेयरको वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको- क्रस रोड शुज, शुभकामना फुटवेयरको -फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर।डि।कलेक्सनको – हाई लाईफ, केटिएम शुजको-केटिएम, डि.जे. शुज कम्पनीको- डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको-उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ ।