तोलामा ४ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा यस साता सुनको मूल्य तीन हजार नौ सय १५ रुपैयाँले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार प्रति दस ग्राम ९६ हजार एक सय ९५ रुपैयाँ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो । आज प्रति दस ग्राम सुनको मूल्य ९३ हजार दुई सय ८० रुपैयाँमा झरेको छ । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति दस ग्राम तीन हजार नौ सय १५ ले कम हो ।  नेपाली बजारमा साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन स्थिर रहेको सुनको मूल्य अन्य सबै दिन ओरालो लागेको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन प्रतिदस ग्राम एक हजार दुई सय २६ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतिदस ग्राम एक हजार तीन सय ९५ मा झरेको छ । यो साता विश्व बजारमा सुनको मूल्यमा कमी आयो । अमेरिकी बजारमा सुनको बिक्री बढ्नाका साथै अमेरिकी डलर मजबुत बनेकाले मूल्यमा उच्च गिरावट आएको हो । विश्व बजारमा कच्चा तेलको मूल्यमासमेत कमी आएकाले त्यसले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई सुनको मूल्यमा कमी आएको बताइएको छ । अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको असरस्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीले नेपाली बजारमा समेत मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

चाडबाडमा सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । यसपालिको चाडबाडमा सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट हुने भएको छ । असोज ११ गते देखि असोज २७ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ । यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेल कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोड तथा बुटवल र सुर्खेतमामा सोनामका सोरुम रहेको कम्पनीले जनाएको छ ।

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव सुरु, ५० प्रतिशत छुट

काठमाडौं । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन गरिएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरे । नेपाललाई आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी उद्योगको प्रवर्दन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताए । साथै नेपाली उत्पादनहरु प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरे । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुदैछ । विहान ९ बजे देखि वेलुकी ७ बजे सम्म खुल्ला रहने महोत्सवमा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र ब्रान्डहरुको सहभागिता रहेको छ । यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा खरिद गर्न सक्नेछन् ।