डिशहोमका ग्राहक भुपाजित राईले जिते एक लाख रुपैयाँ

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा गरिएको छ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद एक लाख रुपैयाँ जितेका छन् । असोज ८ गते सोमबार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद एक लाख जितेका हुन् । डिशहोमका अनुसार दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउँनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

खल्ती लिंक गरी बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने

काठमाडौं । खल्ती लिंक गरि बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत बैंक लिंक गरेका खल्ती  प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्ने कम्पनीले जनाएकाे छ। यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ । खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैंक लिंक विकल्प छनोट गरी बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन् । साथै बैंक लिंक  खाता खल्तीमा लिंक नगरेका प्रयोगकर्ताले पनि केही विवरण भरि केही समयमै  बैंक खाता खल्तीमा लिंक गर्न सक्नेछन् । यति मात्र नभएर खल्तीमा बैंक लिंक गरी प्रयोगकर्ताले विभिन्न अफरमा पनि सहभागी हुन सक्ने कम्पनीले जनाएकाे छ। यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् , ‘अहिले दसैँ नजिकिँदै गरेको माहौलमा डिजिटल कारोबारको आवश्यकता र लोकप्रियतलाई मध्यनजर गर्दै  हामीले हाम्रा प्रयोगकर्ताहरूकालागी ‘सेन्ड मनी फर फ्री’ अफर फेरी पनि उपलब्ध गराएका छौँ । यस सुविधाले प्रयोगकर्ताहरू निर्धक्क रूपमा आवश्यक रकम जुन सुकै बैंक खातामा पठाउने कुरामा हामी विश्वस्त छौँ।’

सप्तकोशी सिमेन्टले कमायो २ अर्ब बढी, व्यापार बढाउन एक सय करोड ऋण लिँदै

काठमाडौं । सप्तकोशी सिमेन्टले एक वर्षमा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । मोरङको विराटनगरस्थित कटारीमा रहेको यस कम्पनीले सन् २०२३मा सो रकम बराबरको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ३१.२१ प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले एक अर्ब ७९ करोड १० लाख रुपैयाँ मात्रै व्यापार गरेको थियो । सन् २०२१ मा कम्पनीले २ अर्ब एक करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । उक्त तथ्यांकअनुसार कम्पनीको व्यापारमा तलमाथि भइरहेको देखिन्छ । व्यापार बढाएको कम्पनीको मार्जिन भने निरन्तर घटेर ४.०८ प्रतिशतमा झरेको छ । जुन सन् २०२१मा ७.७९ प्रतिशत र २०२२ मा ६.६८ प्रतिशत थियो । कम्पनी सन् १९९६ अप्रिलमा स्थापित भइ सञ्चालनमा आएको हो । शुरुवाती चरणमा नेशनल सिमेन्ट प्राइभेट लिमिटेडको नामबाट कारोबार शुरु गरेको कम्पनीको नाम बीचमा परिवर्तन गरी सप्तकोशी सिमेन्ट प्राइभेट लिमिटेड राखिएको हो । उक्त नाम गत तीन वर्ष मात्रै परिवर्तन गरिएको हो । कम्पनीले प्रतिदिन ६०० टन क्षमताको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन गर्दै आएको प्लान्टमा दुई इकाइहरु छन् । डिसेम्बर २०१८ देखि पहिलो इकाइमा एक सय र दोश्रोमा ५०० गरी कूल ६०० टन सिमेन्ट उत्पादन हुन थालेका छन् । कम्पनीले व्यापार विस्तारका लागि ऋण सुविधा लिने भएको छ । कम्पनीले एक अर्ब १२ करोड रुपैयाँ बराबरको ऋण सुविधा लिन केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । जसअन्तर्गत कम्पनीले दीर्घकालिन कर्जा सुविधा (९१ करोड ५ लाख) का लागि डबल बी र अल्पकालिन कर्जा सुविधा (२० करोड ९४ लाख) का लागि ए फोर रेटिङ पाएको छ । उक्त ऋण सुविधाले कम्पनीको नाफा मार्जिनमा सुधार गर्न, सञ्चालनको स्केल र कम्पनीको क्षमता बढाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । सिमेन्ट उत्पादनमा २२ वर्षभन्दा बढीको अपरेशनल ट्रयाक रेकर्ड रहेको यस कम्पनीमा एचआर गोयल ग्रुपको मूख्य लगानी छ । उक्त ग्रुपसँग नेपाली सिमेन्ट उद्योगमा २४ वर्षभन्दा बढीको अनुभव छ । गोयल ग्रुपका अध्यक्ष आशिष गोयल पनि विगत १२ वर्षदेखि यो क्षेत्रमा आवद्ध छन् ।