सानिमा बैंक र दराजबीच दशैं धमाका योजनामा सहकार्य

काठमाडौं । सानिमा बैंक लिमिटेडले बडादशैंको अवसरमा अनलाइन शपिङ प्लेटफर्म दराजसँग सहकार्य गर्दै 'दशैं धमाका योजना' सार्वजनिक गरेको छ । यस सहकार्यअन्तर्गत योजना अवधिभर दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्ने भएका छन् । यस योजना अनुसार, डेबिट कार्ड प्रयोग गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउनका लागि दराजमार्फत बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । साथै, योजना अवधिभर 'पहिलो आउनेलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना भाद्र २४ गतेदेखि आश्विन ७ गतेसम्म लागू हुनेछ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानीप्रति आकर्षित गराउन निरन्तर रुपमा विभिन्न छुट तथा अफरहरु प्रदान गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई स्वास्थ्य, पर्यटन, खाद्य तथा अन्य क्षेत्रमा सुविधा उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गरेको छ । सम्झौता अनुसार, बैंकका डेबिट वा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सहकार्य संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने भएका छन् । यस अन्तर्गत चितवनको कुरिनटारस्थित मनकामना दर्शनको केवलकार टिकटमा १० प्रतिशत, बानेश्वरको समाज डेण्टल हस्पिटलमा एक्सरे तथा फार्मेसीबाहेकका सेवामा १५ प्रतिशत, दरबारमार्गको मत्सुरी टोकियोमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । यसैगरी, पर्साको मंगलम डायगोनोस्टिक सेन्टरमा प्याथोलोजी सेवामा १० प्रतिशत, सिमराको होटल क्वीक २० रिभरसाइडमा खाना, आवास तथा पेय पदार्थमा ५ प्रतिशत, नयाँबजारको नाईस न्यू होम डेकोरमा कार्पेट र फ्लोरिङ सामग्रीमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी, ढुंगेधारास्थित शुभ काठमाडौं टायर सेन्टरमा एमआरएफ ब्रान्डका टायरमा १० प्रतिशतसम्म, मकवानपुरको कुलेखानी भिलेज रिसोर्टमा कोठा शुल्कमा १० प्रतिशतसम्म, हेटौंडाको रिगल हेटौंडा रिसोर्टमा खाना, आवास तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा भरतपुरस्थित कविलास रिसोर्ट एण्ड फनपार्कमा खाना तथा फनपार्क शुल्कमा १५ प्रतिशत छुट दिइने भएको छ । बैंकले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । साथै, डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले विभिन्न शाखामार्फत वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।

कामना सेवा विकास बैंकको १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको गत वर्ष वितरणयोग्य नाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको थियो । सो आधारमा बैंकले १७.३० प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको थियो । तर, बैंकले केही रकम जगेडामा राखेर सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।