नेपाल एसबिआई बैंकले पायो ‘च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५’ को उपाधि
काठमाडौं । नेपाल एसबिआई बैंक क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई डट को ) लण्डनद्वारा ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’ को उपाधिबाट सम्मानित भएकोे छ । यस प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ। त्यसैगरी बैंक सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) द्वारा होलसेल बैंकिङ अवार्ड २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’ , नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ अवार्ड २०२५ अन्तर्गत ‘डिजिटल बिजनेस बैंकिङ इनिसियटिभ अफ द इयर – नेपाल’ र ‘एसएमई बैंक अफ द इयर – नेपाल’ बाट सम्मानित भएको हो । यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
४२ दिनका लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्न लागेको हो । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । मौद्रिक नीतिपछि बजारमा लगानी व्यापक बढ्ने अपेक्षा गरिएपनि त्यसो हुन सकिरहेको छैन । जसकारण अधिक तरलतापछि निक्षेप खिच्न बाध्य भइरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएपनि सरकारको वित्त नीति कार्यान्वयन प्रभावकारी हुन नसक्दा लगानीको वातावरण बन्न सकिरहेको छैन ।
अब भारतबाट सिधै नेपाल पैसा पठाउन सकिने, महालक्ष्मी विकास बैंकको नयाँ प्रणाली सुरु
काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमापार वित्तीय सेवा प्रवर्द्धनका लागि समझदारी भएको छ । समझदारीपछि अब भारतबाट नेपालमा सिधा डिजिटल भुक्तानी गर्न सकिने सुविधा सुरु भएको हो, जसले नेपाल–भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । यस समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंक भारतको एचडीएफसी बैंकसँगको सहकार्यमा सिएमएस प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत भारतमा रहेका व्यक्ति वा संस्थाले नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाइम ग्रस सेटलमेन्ट तथा अन्य डिजिटल माध्यमहरू प्रयोग गरी नेपालस्थित महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् । त्यस्तै, भारतका अन्य बैंकमा रहेको चेक जम्मा गरेर समेत नेपालमा पैसा पठाउन सकिने व्यवस्था समेत गरिएको छ । महालक्ष्मी विकास बैंक यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले प्रक्रिया पूर्ण गरी परीक्षण कारोबार समेत सम्पन्न गरिसकेको बैंकले जनाएको छ । बैंकका अनुसार यस सेवा प्रारम्भसँगै सीमापार व्यापार, रेमिट्यान्स सेवा र डिजिटल कारोबार झन् सरल, सुरक्षित र प्रभावकारी बन्नेछ । यसले डिजिटल नवप्रवर्तनप्रतिको बैंकको प्रतिबद्धता समेत प्रष्ट पार्ने विश्वास बैंकले व्यक्त गरेको छ ।