एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन, फ्रन्टलाइन हस्पिटल र एनआईसी एशिया बैंकबीच भएको सम्झौतापछि ग्राहकहरूले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिँदा बैंकको डिजिटल माध्यमबाट भुक्तानी गरेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र अस्पतालका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् । ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा सो छुट उपलब्ध हुनेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई स्वास्थ्य सेवामा सहजता पुग्ने र देशमा नगदरहित कारोबार तथा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको छ ।
विपन्न महिलाको उपचारका लागि सानिमा बैंक र पाटन अस्पतालबीच सहयोग सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सानिमा बैंकले आगामी एक वर्षसम्म पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ, जसअन्तर्गत न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारमा सहयोग गरिनेछ । बैंकले २०७४ सालदेखि नै पाटन अस्पतालमार्फत विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । यस अभियानलाई थप सुदृढ बनाउँदै, बैंकले 'नारी बचत खाता' खोल्ने प्रत्येक ग्राहकका लागि मासिक रु १ को दरले 'नारी राहत कोष'मा रकम संकलन गर्दै आएको छ । सो कोषमा संकलित रकम देशभरका विभिन्न अस्पतालमार्फत प्रयोगमा ल्याइँदै आएको छ । पाटन अस्पतालको परिसरमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सानिमा बैंक हाल देशभर सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।
माछापुच्छ्रे बैंकको नाफा २ अर्बभन्दा बढी, लाभांश क्षमता ९.२३ प्रतिशत
काठमाडौं । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १५.४० प्रतिशत ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९८ करोड ८१ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ६ लाख ७४ हजार रुपैयाँ, सञ्चालन नाफा ९९.९१ प्रतिशत बढेर ३ अर्ब ३३ करोड २ लाख ३८ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी १८.१६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५१ लाख ७६ हजार रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ९.२३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक थियो । गत वर्ष बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सेयर प्रिमियम ३ करोड ८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोष ६ अर्ब ३१ करोड १० हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन १६.०९ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ११.७४ प्रतिशत १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५८ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८.३२ रुपैयाँ बढेर १७.३१ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३.८ रुपैयाँ रहेको छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा पनि घटेको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.८३ प्रतिशतमा झरेको छ । बैंकका अनुसार अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलता तथा केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताले व्यवसायीक वातावरण सकारात्मक बन्न सकेको छैन । व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकले जनाएको छ । साथै बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको जनाएको छ । यद्यपि बैंकमा रहेको तरलतालाई गुणस्तरीय लगानीमा लगाई बैंकको सूचकांकहरूलाई सुधार गरी अधिकतम प्रतिफल प्राप्त गर्न प्रयत्नरत रहेको बैंकको भनाइ छ । बैकको सञ्चालन खर्चमा हुँदै गएको वृद्धिलाई नियन्त्रण गर्दै दीर्घकालिन व्यावसायिक योजना अनुरूप आगामी अवधिमा पनि गुणस्तरीय कर्जा प्रवाह, कर्जाको साँवा तथा ब्याज असुलीलाई विशेष प्राथमिकता, आम्दानीमा वृद्धिका साथै स्मार्ट बैंक बन्ने मूल नारालाई आत्मासात गर्दै प्रभावकारी डिजिटल बैंकिङ्ग सेवा विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । माछापुच्छ्रे क्यापिटलमा बैंकको ६९.८५ प्रतिशत र माछापुच्छ्रे सेक्युरिटिजमा सतप्रतिशत लगानी रहेको छ ।