कुमारी बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशत वृद्धि गरी ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ८० करोड ३३ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत बढेर १५ अर्ब १३ करोड ३० लाख ५२ हजार रुपैयाँ, सञ्चालन नाफा ५२९.८७ प्रतिशत बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ३८ लाख १९ हजार रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३६ करोड ७४ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन ९.४६ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ र कर्जा लगानी २.७८ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ०.०२ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ६.४२ प्रतिशत पुगेको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.७३ प्रतिशत, आधार दर ६.४४ प्रतिशत रहेको छ ।
मानवसेवा आश्रमलाई नेपाल एसबिआई बैंकको सहयोग, खाद्यान्न र नगद सामग्री हस्तान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंकले मानवसेवा आश्रम, धनगढी (कैलाली)लाई अत्यावश्यक सामग्री र नगद आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले यस प्रकारको सहयोगमार्फत सडकमा बसोबास गर्ने घरबारविहीन, शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई राहत प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई सामग्री तथा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइरालासहित बैंक तथा आश्रमका अन्य वरिष्ठ पदाधिकारीहरू समेत उपस्थित थिए । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायस्तरमा यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ ।
कामना सेवा विकास बैंक र स्काइ वाकबीच टिकट शुल्कमा छुट सम्बन्धी सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौं कमलादीस्थित स्काइ वाकबीच सेवा शुल्कमा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, बैंकका ग्राहक तथा कर्मचारीहरूले स्काइ वाकको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा लिन ग्राहकहरूले बैंकसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात देखाउनुपर्नेछ । बैंकले उक्त सहकार्यले आफ्ना सेवाग्राहीहरूलाई मनोरञ्जन तथा विश्रामसँग जोडिएको नयाँ अनुभव प्रदान गर्नुका साथै विशेष लाभ दिलाउने विश्वास व्यक्त गरेको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइ वाकका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।