एनआईसी एशिया बैंकले भन्यो–प्यान अपडेट नगरेर समस्या भए हामी जिम्मेवार हुँदैनौ
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार, 'आयकर ऐन, २०५८' बमोजिम ग्राहकका खाताबाट हुने कर कट्टी नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्न आवश्यक भएकाले प्यान अद्यावधिक अनिवार्य छ । ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप वा वेब पोर्टल प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, प्यान अद्यावधिकको सुविधा देशभरका शाखा कार्यालयहरूमा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकले निक्षेपमा तिर्नुपर्ने ब्याजमा गरिएको कर कट्टीलाई इडीटीएस प्रणालीमा पठाउन प्यान आवश्यक भएको स्पष्ट पारेको छ । प्यान अद्यावधिक भएपछि कर कट्टी विवरण स्वचालित रूपमा मिलान हुने र कर चुक्ता प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट हट्ने बैंकको भनाइ छ । बैंकले प्यान अद्यावधिक नगरेका ग्राहकको ब्याज कर समायोजनमा उत्पन्न हुन सक्ने समस्यामा बैंक जिम्मेवार नहुने स्पष्ट रूपमा जनाएको छ । यदि यसअघि प्यान उपलब्ध गराइसके पनि विवरण समावेश नभएको खण्डमा ग्राहकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सक्नेछन् । सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले सबै ग्राहकलाई समयमै प्यान अद्यावधिक गरी लाभ लिन अनुरोध गरेका छन् ।
ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरू, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे । ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरूलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ । ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो । ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट 'नेपालको उत्कृष्ट बैंक' को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न प्रोत्साहित गर्नेछ । यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र कर्मचारीहरूलाई सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव विविध सामाजिक र संस्थागत कार्यक्रमसहित मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रिय कार्यालय डिल्लीबजार र पोखराको न्युरोड शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । दुवै स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा १५६ जनाले रक्तदान गरेका छन् । सो अवसरमा २० वर्षभन्दा बढी समय विभिन्न तह र जिम्मेवारीमा रही सेवा दिएका कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिहरू बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र कार्यबाहक प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले संयुक्त रूपमा दीर्घ सेवा पदक तथा मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रेग्मीले शुभकामनासहित स्वागत मन्तव्य राखेका थिए भने सञ्चालक केशव खतिवडाले पनि शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष भट्टराईले बैंकप्रति विश्वास राख्ने ग्राहक, सेयरधनी तथा समर्पित कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहेको बताए ।