प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले गरे शपथ ग्रहण, ३८ वर्ष सरकारी सेवाको अनुभव

काठमाडौं । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथग्रहणपछि कार्कीले बैंक सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गर्दै नयाँ जिम्मेवारी सम्हालेका हुन् । नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना, डेपुटी गभर्नर बम बहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावल, प्रभु बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । मिति २०८१ असोज २९ गते सम्पन्न प्रभु बैंकको तेईसौं वार्षिक साधारणसभाबाट सर्वसाधारण समूहका सेयरधनी प्रतिनिधिका रूपमा सञ्चालकमा निर्वाचित भएका कार्की २०८२ असार १९ गते बसेको सञ्चालक समितिको ३८०औं बैठकबाट अध्यक्ष पदका लागि चयन भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका कार्कीले लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयका सहसचिवका रूपमा सेवा गरेका छन् । त्यस्तै निजामति किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकका रूपमा काम गरेको अनुभवसमेत उनको छ । नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद, कृषि अनुसन्धान कोष लगायतका संस्थामा सञ्चालक समिति सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालेका कार्कीले ३८ वर्षभन्दा बढी सरकारी सेवामा विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको बैंकले जनाएको छ । प्रभु बैंकले अध्यक्ष कार्कीको सबल नेतृत्वबाट बैंकको व्यापार विस्तार र अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा अभिवृद्धिमा थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

हिमालयन बैंकलाई एफपीओ जारी गर्न बोर्डको अनुमति, प्रतिकित्ता १५७ रुपैयाँ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन बैंकलाई एफपीओ बिक्री गर्न अनुमति दिएको छ । बैंकलाई १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो ।  बैंकले अंकित मूल्य १ सय रुपैयाँमा ५७ रुपैयाँ थप गरी प्रतिकित्ता १५७ रुपैयाँ दरमा एफपीओ बिक्री गर्नेछ । बैंकले साधारण सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो। साविक सिभिल बैंकलाई गाभेपछि बैंकको संस्स्थापकको हिस्सा बढेर साधारण सेयरको हिस्सा घटेको थियो ।  बैंक तथा वित्तीय संस्थाको साधारण सेयर हिस्सा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ। बैंकको हाल साधारण सेयर हिस्सा २७.०१ प्रतिशत छ। बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रभु बैंकको २१ लाख कित्ता बिक्री खुला, कसले खरिद गर्न पाउँछन् ?

काठमाडौं । प्रभु बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २१ लाख ५ हजार ६७५ कित्ता सेयर बिक्रीमा राखेको हो ।  बैंकको उक्त सेयर खरिदका लागि विभिन्न समयमा विद्यमान संस्थापक सेयरधनीहरुलाई जानकारी गराएको थियो । तर, संस्थापक सेयरधनीहरुले खरिद नगरेकाले सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।  बैंकको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । साथै, खरिदका लागि बैंकको केन्द्रिय कार्यालय काठमाडौं बबरमहलमा सम्पर्क गर्नुपर्नेछ ।