नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव सम्पन्न, रक्तदान र ह्वीलचेयर वितरण

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सोमबार ३२औं वार्षिकोत्सव विविध कार्यक्रमहरू गरेर मनाएको छ । यस अवसरमा बैंकले सबै कर्मचारीलाई समेटेर सपथ ग्रहण समारोह आयोजना गरेको थियो, जहाँ सहभागी कर्मचारीहरूले बैंकप्रतिको प्रतिबद्धता नवीकरण गरेका थिए । समारोहलाई सम्बोधन गर्दै बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकले हालसम्म हासिल गरेका उपलब्धिहरूको समिक्षा गर्दै दिगो प्रगतिका लागि सबै कर्मचारीले आफ्नो व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । साथै, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको निरन्तर सफलतामा योगदान पुर्‍याउने सबै कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यस्तै समर्पणका साथ अघि बढ्न आग्रह गरे । त्यस्तै, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डाले बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थागत मूल्य, पारदर्शिता, र सेवा उत्कृष्टता बैंकको मूल आधार भएको उल्लेख गरे । उक्त अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमलादीस्थित कर्पोरेट कार्यालय तथा सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै, रूपन्देहीको भैरहवामा फरक क्षमताका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरेर समावेशी सेवा तथा सहानुभूतिको सन्देश दिएको छ । नेपाल एसबिआई बैंकले विगत तीन दशकभन्दा बढी समयदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको छ, र आगामी दिनहरूमा अझ नविन र जिम्मेवार सेवाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

वार्षिक मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित, खाद्य वस्तुको मूल्य स्थिर

काठमाडौं । वार्षिक मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ ।  बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ४.१७ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत मात्र रहँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ । खाद्य समूहभित्र घ्यू तथा तेलको मूल्य १०.०६ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दालरगेडागुडीको २.८५ प्रतिशतले बढेको छ भने तरकारीको मूल्य ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछारमासुको २.९१ प्रतिशतले घटेको छ । त्यस्तै गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवामा ९.४३ प्रतिशत, कपडा तथा जुत्तारचप्पलमा ६.८२ प्रतिशत, शिक्षामा ५.८८ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थमा ४.६८ प्रतिशत मूल्य वृद्धी देखिएको छ । स्थानगत रूपमा ग्रामीण क्षेत्रको मुद्रास्फीति २.९० प्रतिशत र सहरी क्षेत्रको २.६६ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकाको मुद्रास्फीति २.७३ प्रतिशत, तराईमा २.५८, पहाडमा २.४८ र हिमाली क्षेत्रमा सबैभन्दा बढी ४.१८ प्रतिशत छ । प्रदेशगत रूपमा कोशी र हिमाल क्षेत्र ४.१८ प्रतिशतले अगाडि छन् भने मधेश २.५२, बागमती २.२९, गण्डकी १.७५, लुम्बिनी २.३९, कर्णाली २.५४ र सुदूरपश्चिममा ३.८६ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ । थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति भने घटेर १.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.४८ प्रतिशत थियो । उपभोग्य वस्तुहरूमा थोक मुद्रास्फीति ५.६६ प्रतिशत, मध्यवर्ती वस्तुहरूमा ०.९३ प्रतिशत गिरावट र पुँजीगत वस्तुहरूमा २.९९ प्रतिशत वृद्धी देखिएको छ भने निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ०.३५ प्रतिशत मात्र बढेको छ । 

प्रि-मनिटरी पोलिसी डिस्कसनमा गभर्नरले भने - अवस्था सुधारोन्मुख, तर ऋण लिनुपर्ने वर्ग अझै तयार छैन

काठमाडौं । नेपाल व्यवस्थापन संघको आयोजनामा प्रि-मनिटरी पोलिसी डिस्कसन (पूर्व मौद्रिक नीति छलफल) नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरू, बैंकर्स, उद्योगी–व्यवसायी, विज्ञलगायत सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो । नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहन ओझाले स्वागत मन्तव्य दिंदै आगामी मौद्रिक नीतिले हालको आर्थिक शिथिलता अन्त्य गरी अर्थतन्त्रलाई पुनः चलायमान बनाउने अपेक्षा व्यक्त गरे। गभर्नर पौडेलले विशेष मन्तव्य दिंदै हाल देशको आर्थिक परिसूचकहरू सकारात्मक रहेको उल्लेख गर्दै भने, 'बैंकमा पर्याप्त निक्षेप छ, विदेशी मुद्रा सञ्चिति १८ अर्ब अमेरिकी डलरभन्दा धेरै छ, मुद्रास्फीति र ब्याजदर समेत नियन्त्रणमा छन् । पूर्वाधार निर्माण भइरहेको छ र हामीसँग अर्थतन्त्रलाई अगाडि बढाउने इच्छाशक्ति पनि छ। तर, ऋण लिनुपर्ने वर्ग अझै सक्रिय भएको देखिंदैन ।' उनले कृषि, ऊर्जा तथा साना तथा मझौला उद्यमका लागि निर्देशित कर्जामार्फत अर्थतन्त्रको जग बलियो बनाउने नीति अवलम्बन गरिएको भए पनि ती क्षेत्रमा गैरसञ्चलनशील कर्जा (एनपीएल) बढ्दै जानु चिन्ताजनक भएको बताए । अवसर र सम्पत्तिको केन्द्रीकरणले अस्थिरता निम्त्याउने भन्दै समतामूलक समाज निर्माणमा जोड दिनुपर्ने धारणा पनि राखे । कार्यक्रममा विभिन्न प्रतिनिधिहरूले मौद्रिक नीतिमा समेटिनुपर्ने विषयमा आफ्ना सुझाव प्रस्तुत गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आधार दर खारेज गर्नुपर्ने, काउन्टर साइक्लीकल बफर तत्काल कार्यान्वयन नगर्नुपर्ने र कार्यशील पूँजीसम्बन्धी निर्देशिका वन साइज फिट्स अल अवधारणामा नआउनुपर्ने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कार्यशील पूँजीको सीमा तोक्ने नीतिले अर्थतन्त्रमा माग सृजना गर्न नसक्ने उल्लेख गर्दै क्षेत्र विशेषको आवश्यकताअनुसार निर्देशिका परिमार्जन हुनुपर्नेमा जोड दिए । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले ऋण–मूल्य अनुपातमा पटक-पटक हुने परिवर्तनले सवारीसाधन, घरजग्गा र अन्य व्यवसायहरू प्रभावित भएको भन्दै सूक्ष्म व्यवस्थापन राष्ट्र बैंकले होइन, बैंक तथा वित्तीय संस्थाले गर्नु उपयुक्त हुने बताए । उनले २०७७/७८ मा सहुलियतपूर्ण मौद्रिक नीति लिएर कर्जा प्रवाह उच्च बनाइएको तर त्यसको लगत्तै कसिलो नीति लिएर अर्थतन्त्र सुस्त पारेको उल्लेख गरे । नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष नीति निर्माताहरू, निजी क्षेत्र र विज्ञहरूबीच खुला संवाद गराउने उद्देश्यले प्रि-मनिटरी पोलिसी डिस्कसन आयोजना गर्दै आएको छ ।