गाउँ गाउँमा चलचित्र हल बन्नुपर्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व नाथ पौडेलले गाउँगाउँमा चलचित्र हल बन्नुपर्ने बताएका छन् । शुक्रबार आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सवकाे अवसरमा उनले सो बताएका हुन् । कार्यक्रममा गभर्नर पौडेलले बजेटमा पनि गाउँ गाउँमा चलचित्र हल खोल्ने वातावरण बनाउन अर्थमन्त्रीलाई सुझाव दिएको बताए ।  त्यस्तै, उनले अप्ठ्यारो स्थितिमा पनि उद्यमी जन्मिनु पर्छ भन्ने उल्लेख गरे । ‘गाउँबाट आएको मान्छेले पनि सहज रूपमा व्यवसाय गर्न सकोस्,’ उनले भने,‘जोखिम रहेको बेला वा राजा वीरेन्द्र मारिएको समयमा व्यवसाय गर्न कठिन अवस्थामा सुरुवात गरेको हुँदा सफल हुन सकेको छ ।’

१२५ अर्ब रुपैयाँ पुग्यो सेयर कर्जा, अझै बढेन बजार

काठमाडौं । बैंकहरूको सेयर धितो कर्जा (मार्जिन नेचर लोन) १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत वर्षको वैशाखमा बैंकहरूले ८६ अर्ब १८ करोड ५४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले सेयर कर्जा ४५.६४ प्रतिशत अर्थात् ३९ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ सेयर कर्जा बढाएका हुन् ।  चालु आवको वैशाखसम्ममा वाणिज्य बैंकहरूले मात्रै १ खर्ब ३ अर्ब १३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत वर्षको वैशाखसम्ममा वाणिज्य बैंकहरूले ६७ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ सेयर कर्जा दिएका थिए । गत वर्षको तुलनामा बैंकहरूको सेयर कर्जा ५३.१४ प्रतिशत अर्थात् ३५ अर्ब ७९ करोड १७ लाख रुपैयाँ बढाएको राष्ट्र बैंकले जनाएको छ ।  स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकाल सेयर कर्जा वृद्धि भएपनि बजार उकालो लाग्न नसकेको बताउँछन् । साथै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी बजारका लागि कति प्रतिशत फाइनान्सिङ गर्ने हो स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ छ । सेयर कर्जामा सीमा लगाउन नहुने उनले बताए ।  ‘ऋणीको क्षमता, व्यवसाय विस्तारको आवश्यकताका आधारमा कर्जा लिने हो । व्यक्तिगत रूपमा सीमा लगाउनु हुँदैन । जस्तो भोलिदेखि पेट्रोल पाइँदैन भन्ने सूचना आउनेबित्तिकै पेट्रोलपम्पमा लाइन लाग्छ । तर, सधैं पेट्रोल पाइन्छ भन्ने हो भने आफूलाई जति चाहिने त्यति हाल्छन् । त्योबेला खासै अभाव सिर्जना हुँदैन,’ उनले भने, ‘कर्जा पनि यस्तै हो । कोर क्यापिटल, पुँजीको निश्चित प्रतिशत कर्जा सेयर बजारमा जानुपर्छ भनेर स्पष्ट तोक्नुपर्छ ।’  चालु आवको १० महिनामा नेपाल एसबिआई बैंकले सेयर धितो कर्जा सर्वाधिक बढाएको छ । नेपाल एसबिआइको कर्जा ३८८.५९ प्रतिशत बढाएर ६१ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको सेयर कर्जा १२ करोड ५७ लाख रुपैयाँ मात्रै थियो ।  माछापुच्छ्रे बैंकले २९१.९५ प्रतिशत बढाएर १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, कृषि विकास बैंकको १५७.८२ प्रतिशत बढाएर ३ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ, कुमारी बैंकले १४६.६१ प्रतिशत बढाएर ९ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ, एनएमबि बैंकले १२८ प्रतिशत बढाएर २ अर्ब २ करोड ९१ लाख रुपैयाँ सेयर धितो कर्जामा लगानी गरेका छन् ।  राष्ट्र बैंकका अनुसार प्राइम बैंकले ९२.१३ प्रतिशत बढाएर ७ अर्ब ८२ करोड १४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६४.५८ प्रतिशत बढाएर ५ अर्ब ४५ करोड १६ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ६४.५१ प्रतिशत बढाएर ११ अर्ब ५९ करोड १४ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ६३.९४ प्रतिशत बढाएर ३ अर्ब २७ करोड ४४ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् ।  प्रभु बैंकले ५८.१० प्रतिशत बढाएर ४ अर्ब ७० करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकले ५३.२३ प्रतिशत बढाएर २ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४९.२५ प्रतिशत बढाएर ६ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४६.१५ प्रतिशत बढाएर २ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ४०.९० प्रतिशत बढाएर ७ अर्ब ८६ करोड १० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।  वैशाखसम्ममा राष्ट्रिय वाणिज्य बैंकले ३८.२७ प्रतिशत बढाएर ५ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ, नेपाल बैंकले ३३.७५ प्रतिशत बढाएर ७ अर्ब ७७ करोड १९ लाख रुपैयाँ, नबिल बैंकले २८.४२ प्रतिशत बढाएर १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ, हिमालयन बैंकले १७.२२ प्रतिशत बढाएर २ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ मार्जिन नेचर लोन प्रवाह गरेका छन् । तर, यस अवधिमा एनआईसी एशिया बैंकले भने सेयर कर्जा घटाएको छ । चालु आवको १० महिनामा एनआईसी एशिया बैंकले ४६.७६ प्रतिशत घटाएर २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ मात्रै सेयर कर्जा प्रवाह गरेको छ ।  अध्यक्ष ढकालका अनुसार सेयर कर्जामा एक/दुई प्रतिशत मात्रै छुट्याएर बाँकी कर्जा कृषि, पर्यटन, उद्योग लगायतमा दिएपनि हुन्छ । बजारमा रहेका म्यानुपुलेसन हटाउन पनि सबै तयार हुनुपर्ने र बजारप्रति राज्यको दृटिकोण सकारात्मक बनाउनुपर्ने उनको भनाइ छ ।  नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनाली बैंकबाट प्रवाह भएको सेयर कर्जा प्रिआईपीओमा लगानी भइरहेको बताउँछन् । उनका अनुसार ब्याजदर न्यून बिन्दुमा पनि अझै घटिरहेको भएपनि बजार बढ्न सकेको छैन । किनभने आईपीओको प्रक्रियामा रहेका कम्पनीमा ठूलो पैसा गएको देखिन्छ ।  धेरैले आफैंसँग भएको रकम अथवा बैंकबाट लिएको ऋण त्यहाँ डाइभर्ट गरेकाले ब्याजदर घट्दा दोस्रो बजारमा छिर्नुपर्ने पैसा कम मात्रै छिरेर धेरै उता छिर्ने गरेको उनको भनाइ छ ।   

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडाै‌ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।  ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रालिका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । ताप्लेजुङ जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।   ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।   बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।