हिमालयन बैंकबाट पाकिस्तानको हबिब बाहिरिने, बिक्रीमा राख्यो ३ अर्ब १५ करोडको सेयर
काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बिक्री गरेर बाहिरिने भएको छ । लामो समयदेखि बैंकबाट सेयर बिक्री गरेर बाहिरिन खोजेको हबिब बैंकले अन्नतः आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको हो । हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी हो पाकिस्तानको हबिब बैंक लिमिटेड । बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेसँगै हिमालयन बैंकबाट बाहिरिने पक्का भएको हो । यद्यपी सेयर खरिद कसले गर्ने भन्ने निधो भइसकेको भने छैन । हबिब बैंकले हिमालयनमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रुपैयाँ बराबरको सेयर बिक्री गरेर हबिब बैंक बाहिरिने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गरी लिन पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्नेछ । सोही व्यवस्था अनुसार उक्त सेयर खरिदका लागि हिमालयन बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । तर, ३५ दिनभित्र संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । विगतमा पनि हबिबले सेयर बिक्रीमा लागि थुप्रै प्रयास गरेको थियो । तर, राष्ट्र बैंकले अनुमति नदिँदा सेयर बिक्री गरेर हबिब हिमालयनबाट बाहिरिन सकेको थिएन । साथै, विगतमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले उक्त सेयर खरिद गर्ने चर्चा पाएको थियो ।
ज्योति विकास बैंकका ग्राहकलाई तिलगंगा सीटी आई सेन्टरमा छुट
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरूलाई स्वास्थ्य सेवामा सुविधा प्रदान गर्न काठमाडौं, चुच्चेपाटीस्थित तिलगंगा सीटी आई सेन्टरसँग छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो आँखा केन्द्रमा आँखा जाँच, शल्यक्रिया, थेरापी लगायतका सेवामा १० प्रतिशत र प्रिस्क्रिप्शन चश्मा खरिदमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । तिलगंगा नेत्र प्रतिष्ठानको सह-संस्थाले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । ज्योति विकास बैंकले आफ्ना ग्राहकको स्वास्थ्य र सेवा सुविधालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यहरूलाई निरन्तरता दिँदै आएको छ । हालै बैंकले नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा १५ प्रतिशत र सातदोबाटोस्थित पब्लिक नेपाल डेन्टल हस्पिटलमा ५० प्रतिशतसम्मको छुटसम्बन्धी सम्झौता समेत गरेको छ ।
सिद्धार्थ बैंकको इजी बैंकः एकै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले डिजिटलमा ठूलो लगानी गरिरहेका छन् ।ग्राहकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूले डिजिटलमा लगानी बढाइरहेको देखिन्छन् । तर, बैंकहरूले डिजिटलमा लगानी बढाइरहेको भएपनि ग्राहकले प्रडक्टहरू सहज रूपमा चलाउन सकिरहेका हुँदैनन् । सिद्धार्थ बैंकले ग्राहकलाई झण्झटमुक्त हुने गरी सेवा दिनका लागि आफ्नो मोबाइल बैंकलाई थप परिष्कृत बनाउँदै लगिरहेको देखिन्छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘इजी बैंक’लाई थप परिष्कृत र ग्राहकमैत्री बनाएको छ । इजी बैंक नामक अनलाइन प्लेटफर्मबाट बैंकले ग्राहकहरूलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ । डिजिटल बैंकिङमा अग्रणी सिद्धार्थ बैंकले एपमार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाईसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको हो । बैंकको मोबाइल एपमा लगइन गरेपछि ‘सर्भिस रिक्वेस्ट’ अन्तर्गत सुरुमा देखिने ‘इजि बैंक’ आइकन क्लिक गर्नासाथ प्रमुख पाँच सेवा खाता विवरण हेर्न मिल्ने, एपबाटै ऋण, ग्राहक सेवाको सुविधा, केवाइसी अपडेट र कार्डसम्बन्धी सम्पूर्ण सेवा रहेका छन् । खाता विवरण हेर्न मिल्ने ग्राहकले ‘अकाउन्ट डिटेल’ मार्फत आफ्नो बैंक खातासम्बन्धी सम्पूर्ण जानकारीहरू सजिलैसँग प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले चल्ती खाता, बचत खाता, मुद्दती निक्षेप सम्बन्धी विवरणहरूका साथै लिएको कर्जाको स्थिति, नन्–फण्डेड कर्जाको विवरण र बैंकबाट जारी भएका सबै चेकहरूको पूर्ण विवरण सहज रूपमा अवलोकन गर्न सकिने बैंकले जनाएको छ । जसबाट ग्राहकलाई आफ्नो वित्तीय अवस्थाबारे स्पष्ट जानकारी राख्न मद्दत पुग्ने बैंकको दाबी छ । मोबाइल एपबाटै ऋण पाइने अबदेखि मुद्दती निक्षेप धितो राखेर कर्जा लिन शाखा जानुपर्ने बाध्यता हटेको छ । ग्राहकले मोबाइल एपमार्फत आवश्यक विवरण भरेर मुद्दतीको ९० प्रतिशत कर्जा माग गर्न सक्नेछन् । यस्तो रकम स्वीकृत हुने बित्तिकै ग्राहकले आफ्नो बचत खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै मर्चेन्ट क्युआर सञ्चालकहरूले पनि मोबाइल एप मार्फत नियमअनुसार कर्जा प्राप्त गर्न सक्ने छन् । सिद्धार्थ बैंकको इजी बैंक मोबाइल एपमार्फत ग्राहकहरूले शाखामा नगइकनै सजिलै क्रेडिट कार्ड ऋणको इएमआई सुविधा लिन सक्नेछन् । ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको बाँकी रकमलाई किस्ता प्रणालीमा परिवर्तन गरी सहज रूपमा तिर्न सक्ने बैंकले जनाएको छ । चेक रोक्का र खाता ब्लक गर्न सकिने कुनै चेक हराएमा वा रोक्नु परेमा चेक नम्बर र कारण उल्लेख गरी तुरुन्तै रोक्का गर्न सकिने व्यवस्था मोबाइल एपमा रहेको छ । कारोबारका क्रममा कुनै कारणले आफ्नो खाता ब्लक गर्नु पर्ने भएमा ब्लकको सुविधा लिन सकिनेछ । ग्राहकले एक प्रकारको बचत खाताबाट अर्को प्रकारको बचत खातामा परिवर्तन गर्नु परेमा सोही एपबाट पाइने भएकाले अर्को कुनै निवेदन आवश्यक नपर्ने बैंकले जनाएको छ । केवाइसी अपडेट बैंकले ग्राहक पहिचान सम्बन्धी व्यक्तिगत विवरण अद्यावधिक गर्न ‘अनलाइन केवाइसी’ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकले वार्षिक आम्दानी, शैक्षिक योग्यता, प्यान नम्बर, वैवाहिक तथा पारिवारिक विवरण, पेशा, ठेगाना, आम्दानीका स्रोत लगायतका विवरण तथा आवश्यक कागजात डिजिटल रूपमा अपडेट गर्न सक्ने छन् । साथै ग्राहकले शाखामा उपस्थित नभई एपबाटै सुरक्षित र सहज रूपमा राष्ट्रिय परिचयपत्र (एनआइडी) नम्बर पनि अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । कार्डसम्बन्धी सम्पूर्ण सेवा इजीबैंक मोबाइल बैंकिङ एपमार्फत ग्राहकले आफ्ना कार्डहरू सरल रूपमा व्यवस्थापन गर्न सक्नेछन् । एपको मद्दतले कार्ड ब्लक वा अनब्लक गर्नुका साथै पिन बिर्सिएको अवस्थामा सजिलै पुनः जारी गर्न सकिन्छ । यसले ग्राहकलाई सुरक्षित र सहज डिजिटल सेवा प्रदान गर्दछ । यसका अतिरिक्त, ग्राहकले आफ्नो क्रेडिट कार्ड विवरणलाई मोबाइल बैंकिङ एपमा लिंक गरेर इजी बैंक सेवामार्फत क्रेडिट कार्ड स्टेटमेन्ट विवरण पनि जाँच गर्न सक्ने छन् । कम्प्युटरबाट पनि चलाउन मिल्ने बैंकको उक्त एप मोबाइलमा मात्रै नभइ ल्यापटप तथा कम्प्युटरबाट पनि सहज रुपमा चलाएर सेवा लिन सकिने बैंकले जनाएको छ । जसका लागि बैंकको वेबसाइट मार्फत ‘लग इन’ आइकन क्लिक गरी ‘इजी बैंक’मा जानुपर्ने हुन्छ । जसमा अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस सेवा पाउन सकिन्छ । वेबमा के-के छन् सुविधा ? यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरू एकै ठाउँमा संकलन गरिएको छ । वेबसाइटबाट अकाउन्ट सभिर्स, कार्ड सभिर्स र डिम्याट सर्भिस लगायत विभिन्न सेवा एउटै ठाउँबाट लिन सकिने बैंकले जनाएको छ । अकाउन्ट सर्भिस बैंकका अनुसार यस सेवाअन्तर्गत बैंक खाता खोल्ने, मुद्दती खाता खोल्ने, भिडियो बैंकिङ-अनलाइन एकाउन्ट एक्टिभेसन, प्यान अपडेट र ग्राहक जानकारी प्रमाणीकरण जस्ता सेवा उपलब्ध रहेका छन् । ग्राहकले अनलाइनबाट खाता खोल्ने बित्तिकै खाता सक्रिय भएको हुँदैन । एक पटक नजिकको शाखा कार्यालयमा सम्बन्धित व्यक्ति पुग्नै पर्ने हुन्छ । तर, बैंकले अनलाइनबाट खाता खोल्नेहरूका लागि शाखा कार्यालयमा जान नसक्ने अवस्थामा भिडियो केवाइसीको पनि सुविधा रहेको जनाएको छ । जसले अनलाइनबाट खुलेका खातालाई पूर्ण रूपमा चालु गर्न मद्दत गर्नेछ । साथै बैंकको कुनै पनि शाखामा उपस्थित नभइ घरमै बसीबसी प्यान अपडेट, ग्राहक जानकारी प्रमाणीकरण अन्तर्गत ग्राहकको मोबाइल नम्बर र इमेल अपडेट गर्न सकिनेछ । कार्ड सर्भिस कार्ड सर्भिस सेवाअन्तर्गत बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउनेछ । यसका लागि बैंकले नयाँ क्रेडिट कार्ड वा डेबिट कार्डका लागि आवेदन दिन सकिनेछ । अब क्रेडिट र डेबिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगिकन घरबाट क्रेडिट तथा डेबिट कार्ड आवेदन दिन सक्नेछन् । जसका लागि ग्राहकले सुरुमा बैंकको वेबसाइटमा गएर आवश्यक विवरण भर्नुपर्छ । सहज रुपमा अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । पहिला नै कार्ड लिएर म्याद सकिएका ग्राहकले पनि उक्त सेवामार्फत नवीकरण तथा प्रतिस्थापन गर्न सकिने बैंकले जनाएको छ । कार्ड नवीकरण गर्दा ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा छान्नुपर्ने हुन्छ । कार्ड बनेपछि ग्राहकले त्यसरी छानेको शाखामै आइपुगेछ । बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहक मैत्री बनाउँदै समयको बचत हुने विश्वास लिएको छ । डिम्याट सर्भिस डिम्याट सुविधा अन्तर्गत ग्राहकले डिम्याट खाता खोल्न र सुचारु गर्न बैंकसम्म पुग्नु पर्दैन । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाट डिम्याट खाताका लागि निवेदन दिन सक्नेछन् । ग्राहकहरूले बैंकको वेबसाइटमा गई वा सोझै सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलको लिंकमा गई आवश्यक विवरण भर्न सकिने बैंकले जनाएको छ । आईपीओमा आवेदन दिँदा सीआरएन नम्बर बिर्सिएको छ भने इजी बैंक मार्फत सीआरएन नम्बर हेर्न सकिनेछ ।