विदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशैंकको विदाका केही दिनमा बैंक खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गरी असोज ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदाको दिन बैंक तथा चेक किलियरेन्सको काम गर्न भनेको छ । सो दिनमा पनि राजश्व संकलन हुने भएकाले बैंक खोल्न भएको हो । यसअघि अर्थमन्त्रालयले विदाको दिनमा पनि बैंक खोल्न पत्राचार गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

टुरिजमलाई गाभ्न मेगाले तिहार लगतै विशेष साधारणसभा गर्ने, मर्जर भाडिएको छैन: सीईओ शाह

काठमाडौं । मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्न (मर्जर) तिहार लगतै विशेष साधारणसभा बोलाउने भएको छ । दुबै बैंक एक आपसमा मर्जरमा जानका लागि सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) को काम सकिएको छ । विशेष साधारणसभामा डीपीए पेश हुने मेगाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनील शाहले बताए । उनका अनुसार टुरिजमको साधारणसभा नभएकाले सामान्य सभाबाट गाभिने विषयमा प्रस्ताव पेश हुने भएको छ । मेगाले साधारणसभा गरिसकेकाले विशेष साधारणसभा बोलाउने छ । विकास न्युजसंग कुरा गर्दे उनले मेगा र टुरिजमबीच मर्जर भाडिएको भन्ने हल्लामा सत्यता नभएको र दुबै संस्था मर्जर हुने स्पष्टपारे । “अहिलेसम्म त्यस्तो अवस्था देखिएको छैन” उनले भने “सबै हल्ला हुन दुबै संस्था गाभिने छन् ।” दुबै संस्थाले मर्जरका लागि आन्तरिक तयारी गरिरहेकाले मर्जर नभाडिएको उनको भनाई छ । दुबै संस्था एकआपसमा गाभिने सम्बन्धमा गत माघ ६ गते सैद्धान्तिक सहमति भएको थियो । त्यसबेला हाललाई मेगा र टुरिजमको शेयर आदान प्रदान अनुपात १०० र ९५ तय गरिएको थियो । मेगाले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरविनै बैंककको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । टुरिजमकाे चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ ।

ग्लोवल आईएमई बैंकको डेपुटी सीईओमा सुमन शर्मा नियुक्त, जनक शर्मालाई सीईओ बनाउने तयारी

काठमाडौं । ग्लोबल आईएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन शर्मालाई नियुक्त गरेको छ । शर्मालाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको सो बैंकको सञ्चालक समिति सदस्य सुमन पोखरेलले बताए । शर्मा यसअघि माछापुच्छ्रे बैंकमा डेपुटी सीईओ थिए । आफू ग्लोवल आईएमई बैंकमा आवद्ध हुने लागेको तर प्रक्रिया केही प्रक्रिया बाँकी रहेको शर्माले बताए । शर्माले माछापुच्छ्रे बैंकबाट राजीनामा दिएका छन् । तर उनको राजीनमा स्वीकृत हुन बाँकी छ । नेदरल्याण्डबाट एमबीए गरेका शर्मासँग बैकिङ क्षेत्रमा करिव २० वर्ष काम गरेको अनुभव छ । सन् १९९७ मा एसविआई बैंकबाट बैकिङ सेवामा प्रवेश गरेको शर्माले सो बैंकमा ८ वर्ष, एनएमबी बैंकमा करिव १४ वर्ष काम गरिसकेको अनुभव छ । शर्मा माछापुच्छ्रे बैंकमा विगत तीन वर्षदेखि डेपुटी सीईओ थिए । जनक शर्मा पौड्याललाई सीईओ बनाउने तयारी डेपुटी सीईओमा शुमनको नियुक्तीसँगै कामु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने सम्भावना अधिक देखिएको छ । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएपछि बैंकले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । तीन दशक बैकिङ सेवामा सक्रिय पौड्याल विगत १० वर्षदेखि ग्लोवल आईएमई बैंकमा सेकेण्ड म्यानको भूमिकामा थिए । बेलायतबाट एमबीए गरेका पौड्यालले नविल बैंकमा ११ वर्ष काम गरेका थिए । एनआईसी र लक्ष्मी बैंक स्थापना गर्ने क्रममा उनी ती बैंकको उच्च व्यवस्थापन टिममा रहेर काम गरेको थिए । पढाईको सिलसिलामा बेलायतको बैंकमा काम गरेको अनुभव समेत छ उनीसँग ।