बैंक अफ काठमाण्डूको सीईओमा शोभनदेव पन्त नियुक्त, गत वर्षको नाफा १ अर्ब ३० करोड
काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । उनले आगामी चार वर्षको लागि नियुक्ती पाएका छन् । ‘पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको छ । तर केही प्रक्रिया पुरा गर्न बाँकी भएकोले निर्णय सार्वजनिक गरिएको छैन’ बैंक सञ्चालक समितिका एक जना सदस्यले विकासन्युजसँग भने । पन्त यसअघि लुम्बिनी बैंकमा सीईओ थिए । वित्तीय रुपमा गम्भिर समस्यामा परेको लुम्बिनी बैंकमा उनी करिव १२ वर्ष कार्यकारी प्रमुखको भूमिका रहेका थिए र बैंकलाई स्वस्थ्य अवस्थामा फर्काएका थिए । ५९ वर्षिय पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका पन्तले नविल, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंकमा काम गरेको अनुभव छ । पन्तलाई वित्तीय क्षेत्रको बारेमा राम्रो जानकारी राख्ने, विश्लेषण गर्न सक्ने, संस्थागत सुशासनमा जोड दिने अनुभवी बैंकर्सको रुपमा उनलाई लिने गरिन्छ । ‘बैंक ठूलो भएको छ । परिपक्व बैंकर्स हुनुहुन्छ । राष्ट्र बैंक, अन्य सरकारी निकायहरुसँग राम्रो सम्बन्ध छ । विदेशी निकायहरुसँग पनि राम्रो पहुँच छ’ एक जना सञ्चालकले नयाँ सीईओको सवल पक्षबारेमा–‘हाई इन्ट्रिग्रिटी भएको मान्छे, व्यक्तिगत स्वार्थ केही पनि छैन । उहाँको नेतृत्वमा बैंकले राम्रो गर्न सक्छ भन्ने विश्वास छ ।’ गत आर्थिक वर्षमा बैंकले करिव १ अर्ब ३० करोड नाफा गरेको उनले जानकारी दिए । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ छ । करिव ६० करोडको एफपीओ र बोनस सेयर निष्काशन गरी बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याँदैछ ।
भार्गव विकास बैंकले कमायो साढे तीन करोड, नाफा ३६ प्रतिशतले बढ्यो
काठमाडौं । भार्गव विकास बैंकले गत आर्थिक वर्षमा ३ करोड ५१ लाख रुपैयाँ कमाएको छ । यो वैंकले अघिल्लो आवको तुलनामा ३६ प्रतिशतले नाफा बढाएको छ । यसले अघिल्लो वर्षको तुलनामा ९३ लाख रुपैयाँ नाफा बढाएको छ । यसको अघिल्लो वर्षको नाफा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो । यो बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । यसको संचित कोषमा ५ करोड २५ लाख रुपैयाँ छ । गत असारमसान्तसम्ममा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ४६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले गरेको लगानी १ करोड ३९ लाख रुपैयाँ छ । यो विकास बैंकको खराव कर्जा अनुपात शून्य दशमलव ८९ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ६४ दशमलव १५ प्रतिशत छ । यो बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३२ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ १९ रुपैयाँ ९२ पैसा रहेको छ ।
प्रभु बैंकले बढायो ५२ प्रतिशत नाफा, बैंकले कमाई १ अर्ब ७५ करोड
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ५२ दशमलव ५९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यस्तो नाफा अघिल्लो आवको तुलनामा ६० करोड ३७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । यो बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा २ अर्ब ५ करोड रुपैयाँ छ । गत असारमसान्तसम्ममा बैंकले ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६१ अर्ब ९७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले गरेको लगानी ११ अर्ब ६९ करोड रुपैयाँ छ । बैंकको खराव कर्जा अनुपात ४ दशमलव २९ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ७१ दशमलव १० प्रतिशत छ ।