एनआईसी एशियाद्धारा बाजुराको मार्तडीमा पहिलो निजी वाणिज्य बैंक सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा पहिलो निजी वाणिज्य बैंक सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रमसंगै यु. के. एड एक्सेस टु फाईनान्स सक्षम संगको सहकार्यमा उक्त स्थानमा वित्तिय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पुर्याएको हो । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा एनआईसी एशिया बैंक र यु. के. एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम) बीच औपचारिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यस बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा संचालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको छ । यस अघि ई.सं ६ जुलाई, २०१७मा उक्त शाखा कार्यालयको प्रारम्भिक उद्घाटन सम्पन्न भएको थियो । शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली ९ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । सोहि दिनमा नै उल्लेख्य संख्यामा उपस्थित स्थानीय व्यक्तिहरुले शाखामा उपस्थित भई बैंकले देशको दुर्गम भेगमा समेत शाखाकार्यालय खोलेकोमाखुशी प्रकट गरेका थिए । उक्त शाखामा ई.सं. ६ अगष्ठ २०१७ सम्ममा ३२० वटा निक्षेप खाताहरुबाट रु (एक करोड ५५ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन भैसकेको छ । हाल सम्म यस बैंकको ११९ शाखा कार्यालयहरु, ७८ एटीएम मेसिनहरु तथा ४ वटा बिस्तारित एक्सटेन्सन काउन्टरहरु संचालनमा रहेका छन् । सक्षमयु. के. एडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफआई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्यहरु गरिरहेको छ ।

प्रभु बैंकद्धारा हज यात्रुहरुलाई डलर/साउदी रियाल सटही सुविधा

काठमाडौं । प्रभु बैंकले २०७४ सालको हजयात्राका लागि जाने १,२५० जना नेपाली हजयात्रीहरुलाई डलर/साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । बैंकले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त गरी प्रति हजयात्री १,७०० अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । बैंकले मुस्लीम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनामा जाने १,२५० जना नेपाली हजयात्रीहरुलाई सो सुविधा दिएको हो । उक्त सटही सुविधा साउन २५ गते देखि १० दिनसम्म काठमाडौको घण्टाघर स्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ । यस बैंकले उपलब्ध गराएको डलर÷साउदी रियल सटही सुविधा लगायत बैंकद्धारा उपलब्ध गराईएका अन्य सेवा समेत उपभोग गरी हज यात्राका लागि प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुले अधिकतम लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ ।

सिटिजन्स बैंकले सुरु गर्यो निः शुल्क अनलाइन आस्बा सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने आइपीओ, एफपीओको अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरमै बसी बसी निः शुल्क दरखास्त दिने सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस बैंकमा खाता नभएका लगानीकर्ताहरुले समेत यस बैंकमा खाता खोली आस्बा सेवा निः शुल्क उपभोग गरेर लाभ लिन सक्ने छन् ।