सेञ्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई एक्वाएर गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अल्पाइन डेभलपमेन्ट बैंकलाई एक्वाएर (प्राप्ती) गर्ने भएको छ । उक्त एक्वाएर सम्बन्धि सम्झौतामा शुक्रबार दुबै संस्थाले हस्ताक्षर गरेका छन् । अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो पूँजीमा हकप्रद जारी गरी करिब ४४ करोड रुपैयाँ पूँजी पुर्याएर समाहित हुनेछ । अल्पाइन डेभलपमेन्ट बैंकको हाल १५ वटा शाखाहरु संचालनमा रहेका छन् । पुस मसान्तसम्ममा बैंकले ५ करोड ५ लाख रुपैयाँ संचालन मुनाफा कमाउन सफल भएको बैंकले जनाएको छ । सेञ्चुरी बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्स लि. लाई प्राप्ती गर्ने सहमति गरिसकेकोे छ । सेञ्चुरी बैंकले चार संस्था प्राप्तीबाट करिब २ अर्ब रुपैयाँ पूँजी प्राप्त गर्ने छ भने नपुग पूँजी हकप्रद शेयर जारी गरेर तथा चालु आवको मुनाफाबाट ८ अर्ब रुपैयाँ पूँजी पुर्याउने लक्ष्य लिएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् । सेञ्चुरी कमर्सियल बैंकले चालू आ.व.को दोस्रो त्रैमासमा २२ करोड ३९ लाख रुपैयाँ कमाउन सफल भएको बैंकले जनाएको छ । बैंकको खुद मुनाफा यसै वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ । हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले ३२ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्डको एफपिओ भर्ने आज अन्तिम दिन, तीन दिनमा १० अर्बको आवेदन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओमा तीन दिनमै १० अर्ब रुपैंयाँको आवेदन परेको छ । चैत १ गतेबाट सार्वजनिक निष्काशन भएको एफपिओमा चैत ३ गते साँझसम्ममा ७२ हजार आवेदकले १० अर्ब ६ करोड रुपैयाँ बराबरको दिएका हुन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार तेस्रो दिन मात्रै ६ अर्ब २० करोड रुपैंयाँको सेयर माग्दै ५० हजार आवेदन परेका छन् । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा साधारण सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । बैंकले चैत १ गतेदेखि एफपिओ निष्काशन गरेको थियो र आज आवेदन दिने अन्तिम दिन हो ।

वर्षमा २ पटक भन्दा बढी व्याजदर परिवर्तन गर्न नपाइने, व्याजदरमा अंकुश

काठमाडौं । एक महिना नपुग्दै कर्जाको व्याज बढाउने बैंकहरुले अब भने बर्षमा २ पटक भन्दा बढी व्याजदर बढाउन नपाउने भएका छन् । यसलाइ कडाइका साथ कार्यान्वयन गरिने नेपाल राष्ट् र्बैकले जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थाले बारम्बार कर्जाको व्याजदर बढाउँदा समस्या भोग्नु परेको भन्दै व्यवसायीले केन्द्रीय बैंकसमक्ष गुनासो गरेपछि राष्ट् बैंकले यस्तो व्यवस्था गरेको हो । निक्षेपको व्याजदर बढेका कारण कर्जाको व्याजदर बढाउनुपरेको भन्दै बैकरहरुले धमाधम कर्जाको व्याज बढाएर त्यसको जानकारी पछि मात्रै ऋणीलाई फोनबाट दिन थाले । यसपछि राष्ट् बैंकले व्याज बढाउन अंकुश लगाउँदै यस्तो व्यवस्था गरेको हो । नागरिक दैनिकबाट ।