बैकिङ र सेयर बजारमा बारम्बार प्रयोग बाइस शब्दहरु, जसको व्याख्या यस्तो छ बाफियामा

१. “प्राथमिक पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजी, शेयर प्रिमियम, फिर्ता नहुने अग्राधिकार शेयर, साधारण जगेडा कोष र सञ्चित नाफा–नोक्सान शीर्षकमा रहेको रकम सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा प्राथमिक पूँजी भनी तोकिदिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ । २. “धितोपत्र” भन्नाले बैंक वा वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिबेन्चर, डिबेन्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको प्रमाणपत्र, बचतपत्र वा बण्ड सम्झनु पर्छ र सो शब्दले धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुनसक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ । ३. “पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी वा चुक्ता पूँजी सम्झनु पर्छ । ४. “पूँजीकोष” भन्नाले राष्ट्र बैंकले तोके बमोजिमको बैंक वा वित्तीय संस्थाको प्राथमिक पूँजी र पूरक पूँजीको योग सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा तोकेको अन्य कोष वा रकम समेतलाई जनाउँछ । ५. “प्राथमिक पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजी, शेयर प्रिमियम, फिर्ता नहुने अग्राधिकार शेयर, साधारण जगेडा कोष र सञ्चित नाफा–नोक्सान शीर्षकमा रहेको रकम सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा प्राथमिक पूँजी भनी तोकिदिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ । ६.  “बोनस शेयर” भन्नाले बैंक वा वित्तीय संस्थाको मुनाफाबाट भएको बचत वा अन्य कोषलाई पूँजीकरण गरी शेयरधनीलाई अतिरिक्त शेयरको रुपमा जारी गरिएको शेयर सम्झनु पर्छ र सो शब्दले बचत वा अन्य कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ । ७. “खुद सम्पत्ति (नेट वर्थ)” भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातमा रहने सम्पत्तिको कुल जोडमा वाह्य दायित्वलाई घटाई कायम हुन आउने रकम सम्झनु पर्छ । ८. “कार्यकारी प्रमुख” भन्नाले बैंक वा वित्तीय संस्था सञ्चालनको जिम्मेवारी पाएको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ र सो शब्दले बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुखको रुपमा काम गर्ने कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक समेतलाई जनाउँछ । ९. “सञ्चालक” भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले सञ्चालक समितिको अध्यक्ष र वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ । १०. “संस्थापक” भन्नाले यस ऐन बमोजिम बैंक वा वित्तीय संस्था संस्थापना गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा कम्तीमा एक शेयर लिन मन्जूर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनु पर्छ । ११. “पदाधिकारी” भन्नाले बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव र कुनै विषयमा निर्णय गर्ने अख्तियारी प्राप्त अधिकृतस्तरको कर्मचारी सम्झनु पर्छ । १२. “परिवार” भन्नाले सञ्चालकको पति वा पत्नी, छोरा, वुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नु पर्ने दाजु भाउजु, भाइ वुहारी र दिदी बहिनी सम्झनु पर्छ । तर सो शब्दले अंशवण्डा गरी मानो छुट्टिई आ–आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन । १३. “सम्बद्ध व्यक्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा निजकोे परिवारको उल्लेख्य स्वामित्व रहेको कुनै फर्म, कम्पनी वा संस्था वा त्यस्तो फर्म, कम्पनी वा संस्थामा उल्लेख्य स्वामित्व रहेको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा सोमा उल्लेख्य स्वामित्व राख्ने सोको हिताधिकारी सम्झनु पर्छ । १४. “गैर कार्यकारी सञ्चालक” भन्नाले बैंक वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक वाहेकको अन्य सञ्चालक सम्झनु पर्छ । १५. “साहु” भन्नाले बैंक वा वित्तीय संस्थाले तिर्नु बुझाउनु पर्ने व्यक्ति वा संगठित संस्था सम्झनु पर्छ र सो शब्दले खारेजीको प्रयोजनका लागि निक्षेपकर्ता तथा डिबेञ्चरहोल्डरलाई समेत जनाउँछ । १६.“जोखिमभारित सम्पत्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातभित्रको र वासलातबाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैंकले तोकेको ढाँचामा तोकिएको जोखिमभारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनु पर्छ । १७. “वित्तीय स्वार्थ” भन्नाले सञ्चालक, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा संगठित संस्थाले कुनै फर्म, कम्पनी वा संगठित संस्थाको चुक्ता पूँजीको दश प्रतिशत वा सोभन्दा बढी हुने गरी छुट्टाछुट्टै वा संयुक्त रुपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरुको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरुको स्वार्थ सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा वित्तीय कारोवारको प्रकृति र अवस्था हेरी वित्तीय स्वार्थ भनी तोकिदिएको स्वार्थ समेतलाई जनाउँछ । १८. “विद्युतीय कारोबार” भन्नाले टेलिफोन, टेलेक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा त्यस्तै प्रकारका अन्य विद्युतीय उपकरणको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने कारोबार सम्झनु पर्छ र सो शब्दले टर्मिनल, अटोमेटेड टेलर मेसिन र क्यास डिस्पेन्सिङ्ग मेसिनको माध्यमबाट हुने कारोबार, चार्ज कार्ड, डेबिट वा क्रेडिट कार्डबाट हुने कारोबार समेतलाई जनाउँछ । १९. “हाइपोथिकेसन कर्जा” भन्नाले मालवस्तु स्टकको भोगाधिकार सम्बन्धित ऋणीमै कायम राखी सोको धितोमा बैंक वा वित्तीय संस्था र ऋणी बीच सम्झौता भई प्रवाह गरिएको कर्जा सम्झनु पर्छ । २०. “जोखिमभारित सम्पत्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातभित्रको र वासलातबाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैंकले तोकेको ढाँचामा तोकिएको जोखिमभारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनु पर्छ । २१. “वासलात बाहिरको कारोबार” भन्नाले बैंक वा वित्तीय संस्थाले दायित्व व्यहोर्नु पर्ने सम्भावना भएको प्रतितपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा तोकिदिएका उपकरणको कारोबार समेतलाई जनाउँछ । २२. “तरल सम्पत्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको नगद मौज्दात, चल्ती खातामा रहेको मौज्दात, राष्ट्र बैंकमा राखेको मौज्दात र राष्ट्र बैंकले समय समयमा तरल सम्पत्ति भनी निर्धारण गरिदिएको बैंक वा वित्तीय संस्थाको सम्पत्ति सम्झनु पर्छ ।

हकप्रद सेयर किन्न प्रमोटरले सन्दुकमा पैसा राखेको हुँदैन, ऋण नलिए कहाँबाट पैसा ल्याउने ? -कृष्णराज लामिछाने

कृष्णराज लामिछाने, अध्यक्ष-डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल यतिबेला बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव र गुणात्मक रुपमा वृद्धि भएको व्याजदरले वित्त बजार र अर्थतन्त्रलाई तताएको छ  । बैंकहरुले ३ महिनामा ३ गुणा व्याज बढाएका छन् र पनि कर्जाको माग थेग्न नसकेर छट्पटाईरहेका छन् । यस्तो अप्ठ्यारो बेलामा ऋण नपाएको, बढी व्याज तिर्नु परेको भनेर उद्योग व्यवसायी बैंकरहरुलाई गाली गरिरहेका छन् । त्यसमाथि राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारीहरुले पनि बैकरहरुलाई नै दोषी ठहर्याएका छन् । यो समस्या आउनुमा के बैकरहरु मात्र दोषी छन् ? प्रस्तुत छ डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेसँग गरिएको विकास वहस । कर्जा लगानी विस्तार गर्न पूँजीको अभावले बैकिङ क्षेत्र तनावमा देखिन्छ । यो अवस्थामा विकास बैंक चलाउन कति सहज छ ? समग्र वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी कम हुँदा विकास बैंकहरु पनि त्यसबाट प्रभावित भएका छन् । दैनिक रुपमा बैंक चलाउन कठिन छैन । तर लगानी विस्तार गर्न पुँजी अभाव छ । साथै, तरलताको अभावले बैकिङ क्षेत्रमा निक्षेपको ब्याजदर वृद्धि गर्ने होडबाजी छ र आफ्ना ग्राहक अरु बैंकतिर जालान कि भन्ने डर पनि छ । वाणिज्य बैंकहरुले विकास बैंकले सरह ब्याज दिन थालेका छन् । तर तरलताको चाप परेको समयमा विकास बैंक चलाउन तुलनात्मक रुपमा सजिलो छ । सीएलआर र एसएलआरबाहेक रकम अन्य बैंकमा राखिएको हुन्छ, त्यो पैसा निकाल्न पाइन्छ । विकास बैंकहरुको सीडी रेसियो कति छ ? विकास बैंकहरुको ७९ प्रतिशत छ । ७७ वा ८८ प्रतिशत मात्र भएको भए समस्या नै हुने थिएन । यस्तो समस्या किन आयो ? समस्यको जग भूकम्पपछि नै बनेको थियो । भूकम्पपछि विदेश जाने नेपालीको संख्यामा कमि आयो । त्यसपछि विस्तारै रेमिट्यान्स वृद्धिदरमा कमी आयो । नाकाबन्दीले आर्थिक कारोबारमा थप संकुचन आयो । चालु आर्थिक वर्षको बजेट जेठ १५ अघि नै आयो । सरकारले पनि उच्च आर्थिक वृद्धिको प्रक्षेपण गर्यो । ठूलो साईजको बजेट आयो । देशको अवस्था पनि सामान्य बन्दै गयो । कर्जा माग बढ्यो । बैंकहरुले लगानी विस्तार गरे । चालु आर्थिक वर्षमा बैंकहरुले निक्षेप संकलन भन्दा कर्जा लगानी झण्डै दोब्बर बढी गरे । रेमिट्यान्स वृद्धिदर घट्यो, सरकारले लक्ष्य गरे अनुसार पुँजीगत खर्च भएन तर राजश्व लक्ष्यभन्दा बढी उठ्यो र सरकारको ढुकुटीमा २ सय अर्बभन्दा बढी रकम भयो । त्यसले निक्षेप संकलन वृद्धि हुन सकेन । यस्तो समस्या आउनुमा बैंकर्सहरु जिम्मेवार छैनन् ?   हिजो ६ प्रतिशत व्याजका बैंकहरुले कर्जा दिन तयार हुँदा कर्जा लिन आउने व्यवसायी अर्को बैंकमा गएर साढे ५ प्रतिशतमा वार्गेनिङ गर्दथे । अहिले तिनै व्यवसायी १४ प्रतिशत भए पनि, १५ प्रतिशत भए पनि कर्जा लिन तयार छन् । ‘व्याज जति लिए पनि लिनुहोस्, पैसा जसरी पनि दिनुहोस्’ भनेर आईरहेका छन् तिनै व्यवसायी । बैंक तथा वित्तीय संस्थाहरुलाई ४ गुणा पुँजी वृद्धि गर्न राष्ट्र बैंकले २ वर्षको समय दियो । छोटो अवधिमा बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि उच्च दरमा भयो । लगानी वृद्धिसँगै नाफा पनि वृद्धि गर्न बैंकमाथि लगानीकर्ताको दवाव पनि पर्यो । यसरी कर्जा लगानी विस्तार गर्न बैंक व्यवस्थापनलाई दवाव परिरहेको समयमा कर्जाको माग पनि बढ्यो । यदि राष्ट्र बैंकले पुँजी वृद्धिको लागि समय २ वर्षको सट्टा ४ वर्ष समय दिएको थियो भने बैंकहरुलाई कर्जा लगानी विस्तार गर्न यति धेरै दवाव पर्ने थिएन । पुँजी वृद्धिसँगै कर्जा लगानी विस्तारमा दवाव परेको थिएन भने बैंकहरुले निक्षेप संकलन भन्दा दोब्बर कर्जा लगानी गर्ने अवस्था आउने थिएन । अझै पनि म के भन्छु भने बैंकहरुले गलत गरेका छैनन् । कर्जा लगानी गर्नु बैंकहरुको व्यवसाय हो । उनीहरुले सुरक्षित क्षेत्रमा लगानी गरेका छन् भने त्यसलाई ठिक नै मान्नुपर्छ । बैंकहरुलाई लाग्यो यो वर्ष साउनदेखि नै बजेट खर्च हुन्छ र बजारमा पैसा आउँछ । तर बैंकहरुको त्यो अनुमान फेल खायो । साउनदेखि पुँजीगत खर्च भएन । बजेट जेठमा नै ल्याउनुको अर्थ पनि भएन । चार महिनाअघिसम्म बैंकहरुले ६ प्रतिशतसम्ममा कर्जा दिन्थे, अहिले १४/१५ प्रतिशत पुर्याए । ६ महिना अघिसम्म बैंकहरुले निक्षेपकर्तालाई ४ प्रतिशत ब्याज दिन्थे, अहिले १२/१३ प्रतिशत पुर्याए । यति छोटो अवधिमा ३०० प्रतिशतसम्म व्याज वृद्धि राम्रो हो ? किन यस्तो धेरै उतार चढाव ? यो अलि बढी नै भयो । २/३ महिनाको बीचमा २/३ गुणा ब्याज वृद्धि हुनु राम्रो हुँदै होइन । हाम्रो बजार यस्तै छ । तपाईसँग कुरा शुरु गर्दा (गत विहीबार) नेप्से २५ अंकले बढ्यो । बीचमा १३ अंकले घट्यो र फेरी ७ सात अंकले बढ्यो । एक घण्टा पनि भएको छैन । हाम्रो अर्थतन्त्र अस्थिर नै छ । गत वर्ष आर्थिक वृद्धि १ प्रतिशत भन्दा कम भयो । यो वर्ष साढे पाँच प्रतिशत देखि साढे ६ प्रतिशतसम्मको अनुमान गरिएको छ । व्याजदर वृद्धि हुनुमा बैंकहरुलाई मात्र गाली गरेर हुँदैन । हिजो ६ प्रतिशत व्याजका बैंकहरुले कर्जा दिन तयार हुँदा कर्जा लिन आउने व्यवसायी अर्को बैंकमा गएर साढे ५ प्रतिशतमा वार्गेनिङ गर्दथे । अहिले तिनै व्यवसायी १४ प्रतिशत भए पनि, १५ प्रतिशत भए पनि कर्जा लिन तयार छन् । ‘व्याज जति लिए पनि लिनुहोस्, पैसा जसरी पनि दिनुहोस्’ भनेर आईरहेका छन् तिनै व्यवसायी । मैले साना व्यवसायीको कुरा गरेको होइन, ठूला व्यवसायीको कुरा गरेको । उनीहरु नै अहिले बैंकलाई गाली गर्दै हिड्छन् । यतिबेला बैंकहरु आफै बसेर व्याजदर वृद्धि रोक्न प्रयास गरेका छन् । तर  सरकारले कुनै प्रयास गरेन । सरकारको ढुकुुटीमा जम्मा भएको रकम राष्ट्र बैंक मार्फत बजारमा पठाएर व्याजदर वृद्धिलाई रोक्न सक्थ्यो । त्यो काम भएन । अर्थतन्त्र महँगो भयो भने राम्रो हुँदैन । यो विषय सरकारलाई थाहा नभएको होइन । तर पहिला जस्तो ५÷६ प्रतिशतमा कर्जा प्रवाह हुने अवस्था पनि राम्रो होइन । ४ महिना पहिला ५ प्रतिशत व्याजमा मुद्दती खातामा एक वर्षको लागि पैसा राख्ने निक्षेपकर्ता यतिबेला गम्भिर समस्यामा परेका छन् । ५ प्रतिशत व्याजदरमा मुद्दतीमा पैसा राख्नेले अहिले ७ प्रतिशतमा कर्जा लिन्छु भन्दा पनि पाएका छैनन् । ११ प्रतिशत घटी कर्जा दिनै मान्दैनन् बैंकहरु । सामान्यतया २ प्रतिशत बढी व्याज दिएपछि मुद्दती बचतको सुरक्षण मानेर कर्जा दिनु पर्ने हो नि बैंकहरुले । यो पनि भएन । यसरी व्याजदरमा अस्वभाविक वृद्धि हुँदा सरकारले हेर्नुपर्छ । प्रष्ट देखियो बैंकहरुले आक्रामक रुपमा कर्जा लगानी विस्तार गरेका रहेछन् । राष्ट्र बैंकले दिनदिनै बजारबाट रिपोर्ट लिएको हुन्छ । उसले भन्न सक्थ्यो नि कर्जा विस्तार बढी भयो, कम गर भनेर । त्यो पनि भएन । समस्या आईसक्यो । अब त समस्या समाधानको दिशामा काम हुनुपर्यो नि । सुधारात्मक पहल त कसै न कसैले गर्नुपर्छ नि । बैंकको व्याजदर कति हुनु राम्रो हो ? मेरो विचारमा मुद्दती खातामा १० प्रतिशत व्याज हुनुपर्छ । बचत खातामा ५/६ प्रतिशत व्याज बैंकहरुले दिनुपर्छ । कर्जाको व्याजदर ९ देखि १२ प्रतिशतको बीचमा हुनुपर्छ, प्रडक्ट हेरेर । यो आईडल रेट हो । भारतमा नै हेर्ने हो भने निक्षेपकर्ताले ७/८ प्रतिशत व्याज पाउँछन् । कर्जाको व्याजदर १०/११ प्रतिशत हुने गरेको छ । तपाईले भन्नु भयो कि पुँजी वृद्धिसँगै नाफा वृद्धि गर्न बैंक तथा वित्तीय संस्थाका व्यवस्थापन समूहलाई सञ्चालक समितिले दवाव पर्यो र उच्चदरमा कर्जा लगानी विस्तार भयो  । यसरी दवावमा गरिएको लगानी कति सुरक्षीत छ ? कहाँ भयो लगानी ? प्रेसरमा भन्दा पनि माग भएर कर्जा लगानी भएको छ । गत वर्षको तुलनामा आयात धेरै नै बढेको छ । व्यापार कर्जाको माग पनि उच्च छ । पछिल्लो समयमा जलविद्युत र पर्यटन क्षेत्रमा कर्जा धेरै लगानी भएको छ । यो क्षेत्रमा देखिने गरि परियोजनाहरुमा कर्जा लगानी भएको छ । अर्थमन्त्रालयका उच्च अधिकारीले बैंकहरुलाई गाली गरे हायर पर्चेजमा, रियलस्टेटमा लगानी बढी भयो, अनुत्पादक क्षेत्रमा बढी लगानी भयो भनेर । त्यो बेकारको कुरा हो । पछिल्लो समय देशमा शान्ति छ । गाउँ गाउँमा विकास निर्माणको काम भएका छन् । गल्ली गल्लीमा सडक बनेका छन् । खोला खोलामा हाइड्रो बनेका छन् । सहरमा सडक विस्तार भईराखेका छन्, पीच भइराखेका छन् । त्यसमा प्रयोग हुने डोजर, लोडर, ट्रिपर, स्काभेटरको आयात बढेको छ । त्यो लगानी उत्पादक कि अनुत्पादक ? पछिल्लो समयका सिमेन्ट उद्योगमा लगानी बढेको छ । एउटा सिमेन्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ देखि उत्पादित सिमेन्ट बोक्न सयौ ट्रक, ट्रिपर चाहिन्छ । यस्तो लगानी उत्पादक कि अनुत्पादक ? जनसंख्या बढेको छ । स्कूल कलेजहरु बढेका छन् । उनीहरुले विद्यार्थी बोक्न बसहरु किनेका छन् । यस्ता बस किन्न स्कूल कलेजलाई दिएको कर्जा उत्पादक कि अनुत्पादक ? गाउँगाउँमा सडक विस्तार भएको छ । त्यहाँ जाने बसहरु खरिद भएका छन् । ढुवानीको सवारी खरिद भएका छन् । त्यहाँका मान्छेले आफ्नो क्षमताअनुसार निजी सवारी पनि किनेका छन् । यो लगानी उत्पादक कि अनुत्पादक ? स्कूलले किनेको बस, गाउमा जाने बस, सिमेन्ट उद्योगले किनेको ट्रक, निर्माण व्यवसायीले किनेको डोजर, लोडर, ट्रिपर, स्काभेटरलाई पनि अनुत्पादक लगानी भन्न मिल्दैन । हिसावमा ती सबै लगानी हायर पर्चेजमा पर्छन । केही कार, जीप थपिएका छन् । हाइड्रोपावर बन्ने काम शुरु भयो, त्यसको फिल्ड म्यानेजरलाई जीप चाहिँदैन ?  कसैले मैदा मिल खोल्यो, त्यसको साहुले एउटा कार नकिन्ने ? सिमेन्ट उद्योग खुल्यो, त्यसको जनरल म्यानेजरलाई कार किन्न लोन नदिने ? गत वर्ष डिजेल पेट्रोल किन्न पाइदैन थियो । गाडी आयात कम थियो । यसपाली बढेको छ । यसलाई अन्यथा लिनु हुँदैन । त्यसैले बैंकले दिएको कर्जा असुरक्षित छैन । विकास बैंकहरुको पुँजी वृद्धिको अवस्था कस्तो छ ? धेरै विकास बैंकहरु मर्जरको प्रक्रियामा छन् । कुनै बेला ८६ वटा विकास बैंक थिए, अहिले ५२ वटामा झरेका छन् । मलाई लाग्छ यो संख्या ३० वटामा झर्छ । एक जिल्ला कार्यक्षेत्र भएका केही विकास बैंक पुँजी वृद्धि गर्न सक्रिय देखिदैनन् । तर अधिकांश विकास बैंकहरु राष्ट्र बैंकको नीतिअनुसार कि मर्जमा जाँदैछन् कि पुँजी वृद्धि गरेर जाँदैछन् । उद्योग व्यापार गर्न कर्जा लिएर व्यवसायीले बैंकको पुँजी वृद्धिमा लगानी गरे भनेर राष्ट्र बैंक बोल्यो । साँच्चिकै त्यस्तो भएको हो ? सबैलाई थाहा छ नबिल बैंक कसको ? सिद्धार्थ बैंक, एनआईसी एशिया, कुमारी, सनराईज, एनएमबी, लक्ष्मी बैंक कसको ? यस्तै अरु धेरै बैंक छन् जहाँ उद्योगी व्यापारीले लगानी गरेका छन् । ती बैंकले हकप्रद सेयर निष्काशन गर्दा प्रमोटरले ऋण लिएर लगानी गरेका छन् । उनीहरुको घरमा सन्दुकमा पैसा थन्याएर राखिएको हुँदैन, ऋण नलिए कहाँबाट पैसा ल्याउने ? तर उनीहरुले हकप्रद सेयर किन्न भनेर कर्जा लिदैनन् । घर कर्जा भनेर पनि लिएका छैनन्, किनकी उनीहरुलाई करोडले पुग्दैन । उनीहरुले कर्जा लिँदा उद्योग व्यापार नै देखाउँछन् । उनीहरुले कर्जा लिएर कहाँ लगानी गरे भनेर कसैले पनि ट्रयाकिङ गरेका छैनन्, सम्भव पनि छैन । बैंक ठूला भए तर चलाउन कति सहज छ, जनशक्ति कस्तो छ ? हो, बैंकहरु २ वर्षमा ४ गुणा ठूला भए पुँजीको हिसावले । तर जनशक्तिको क्षमता चार गुणा वृद्धि भएको छैन । यो विषयमा हामीले ध्यान दिएकै छैनौं ।

बैंकहरूको नाफामा भारी वृद्धि २८ बाणिज्य बैंकमध्ये १४ वटाको नाफा ५१ प्रतिशतले बढ्यो

काठमाडौं । वित्तीय बजारमा तरलता अभाव भएका वेला वाणिज्य बैंकहरूको नाफा भने अत्यधिक वृद्धि भएको देखिएको छ । बैंकहरूले गत वर्षको तुलनामा नाफा रकम ५१ प्रतिशत बढाएका छन् । कुल २८ वाणिज्य बैंकमध्ये पहिले वित्तीय विवरण प्रकाशित गरेका १४ बैंकको औसत नाफा ५१ प्रतिशत बढेको हो । यसमध्ये नेपाल इन्भेष्टमेन्ट, प्रभु र हिमालयन बैंकले आर्थिक वर्षको दोस्रो त्रैमासिकमै १ अर्ब रुपैयाँभन्दा धेरै नाफा गरेका छन् । आवको पहिलो ६ महिनामा कमाएको नाफा रकम ती बैंकले गत आवको वर्षभरिमा कमाएको रकमको ६२ दशमलव ३७ प्रतिशत हो । बैंकहरूले अत्यधिक मात्रामा कर्जा प्रवाह गरेका कारण उनीहरूको ब्याज आम्दानी बढ्दा नाफामा सहयोग पुगेको बैंकरहरूले बताएका छन् । ‘पुँजी वृद्धिपछि बैंकहरूमाथि व्यावसायिक दायरा बढाउने ठूलो दबाब थियो,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘त्यसले बैंकको नाफा रकम बढ्नमा सहयोग गरेको देखिन्छ ।’ १४ वटा बैंकले मात्रै पुस मसान्तसम्म १० अर्ब ३ करोडभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । खराब कर्जाको दर पनि खुम्चियो बितेको एक वर्षमा बैंकहरूको खराब कर्जाको दर पनि खुम्चिएको देखिएको छ । गत वर्षको पुस मसान्तमा औसत १ दशमलव ५५ प्रतिशत रहेको १४ बैंकको खराब कर्जाको दर यो वर्ष भने २६ आधार बिन्दु घटेर १ दशमलव २९ प्रतिशतमा झरेको छ । यस्तो दर कम हुनुमा प्रभु बैंकको खराब कर्जाको दर कम हुनुले ठूलो प्रभाव पारेको देखिन्छ । गत वर्ष झन्डै साढे ७ प्रतिशत रहेको प्रभुको खराब कर्जाको दर यो गत पुस मसान्तमा ५ प्रतिशतभन्दा तल झरेको छ । यसबाट प्रभुको नाफामा पनि भारी वृद्धि भएको देखिन्छ । बैंकहरूले निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर ९स्प्रेड० घटाए पनि नाफामा सुधार भएको देखिएको हो । यस अवधिमा बैंकहरूले स्प्रेड दर भने गत वर्षको तुलनामा ९ आधार बिन्दुको साँघुरो अन्तरले घटाएका छन् । पछिल्लो समय मुद्दती निक्षेपको ब्याजदर बढ्न थालेपछि स्प्रेडमा चाप परेको हो । कर्जा विस्तारको प्रभाव पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरूको तथ्यांकले निक्षेपको तुलनामा कर्जाको विस्तार ६ प्रतिशत बिन्दुभन्दा बढी रहेको देखिएको छ । पछिल्लो एक वर्षमा बैंकहरूमा जम्मा भएको निक्षेप रकम औसत ३४ दशमलव २२ प्रतिशत बढेको छ भने कर्जा रकम औसतमा ४० दशमलव ६३ प्रतिशत बढेको छ । निक्षेपको ८० प्रतिशतसम्म मात्रै कर्जा विस्तार गर्नुपर्नेमा निक्षेपभन्दा बढी कर्जा प्रवाह भएपछि बैंकहरूको ब्याज आम्दानीमा वृद्धि भएको छ । बैंकहरूको कर्जा निक्षेप अनुपात ९सिडी रेसियो० पनि गत वर्षको तुलनामा २ दशमलव ०३ प्रतिशत बिन्दुले बढाएर ७८ दशमलव १४ प्रतिशत पुर्‍याएका छन् । अब बैंकहरूले थप निक्षेप रकमको १ दशमलव ८६ प्रतिशत मात्रै कर्जा विस्तार गर्न पाउँछन् । आवको पहिलो ६ महिनाको तथ्यांकअनुसार उक्त १४ बैंकको खुद ब्याज आम्दानी औसतमा ४१ दशमलव ५५ प्रतिशत बढेको छ । यसले नाफामा ठूलो सहयोग पुर्‍याएको बैंकरहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट ।