एनसीसी र आईडी बैंकको विशेष साधारणसभा सम्पन्न, मर्ज प्रस्ताव पारित
काठमाडौं, ३० असार । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को बुधबार भैरहवामा सम्पन्न विशेष साधारण सभाले अन्य पाच वटा सस्थासँग गाभ्ने गाभिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि इन्फ्रास्ट्रक्चर डेभलपमन्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट (आईडी) बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट विशेष साधारण सभा गरेर मर्जको प्रस्ताव पारित गरिसकेका छन् । सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न/गराउन बैंकको संचालक/व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मर्जर प्रयोजनको लागि सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न नियुक्त लेखापरीक्षकले तयार पारेको सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए रिपोर्ट) अनुसार सेयर स्वाप रेसिया पनि साधारण सभाले पारित गरेको छ । नेटवर्थका आधारमा एनसीसी बैंक लि. को एक शेयर बरावर कुमारी बैंक लि. को एक शेयर, (१ः१), इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७), इण्टरनेशनल डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात तीन शेयर (१ः०.७३), एपेक्स डेभलपमेण्ट बैकको शुन्य दशमलव चार आठ शेयर (१ः०.४८) र सुप्रिम डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७) हुनेगरी स्वाप रेसियो सम्बन्धी विशेष प्रस्ताव पारित गरेको जनाइएको छ ।
इन्भेष्टमेन्ट बैंकको एफपीओ सेयर प्रमाणपत्र आयो
काठमाडौं, ३० असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)को सेयर प्रमाणपत्र वितरण शुरु भएको छ । बैंकले असार ३० गतेदेखि एफपीओको प्रमाणपत्र वितरण शुरु गरेको जनाएको छ । उक्त सेयर आवदेन गर्दा हितग्राही खाता (डिम्याट एकाउन्ट) उल्लेख गरेका आवदेकको सेयर सोझै डिम्याट एकाउन्टमा जम्मा हुने बैंकले जनाएको छ । डिम्याट एकाउन्ट नखुलाएका आवेदकले भने सेयर प्रमाणपत्र दिन आवेदन बुझाएको संकलन केन्द्रमा जानुपर्ने बैंकले जनाएको छ ।
कुमारी बैंकको विशेष साधारणसभामा चुनाव पक्का, एनसीसी बैंकसँग मर्ज नहुने सम्भावना बढ्यो
काठमाडौं, २९ असार । असार ३१ गते हुन लागेको कुमारी बैंकको विशेष साधारणसभामा मर्जको पक्ष र विपक्षमा मतदान हुने पक्का भएको छ । मर्जको विपक्षमा रहेका लगानीकर्ता जुट्दै गएका छन् भने मर्जको पक्षका प्रोक्सी (प्रतिनिधिपत्र) संकलन गर्नेहरु निराश भएका छन् । कुमारी बैंक, एनसीसी बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा कुमारी बैंक मर्जर प्रक्रियाबाट बाहिरिने सम्भावना बढेर गएको जानकारहरुले बताएका छन् । कुमारी बाहेक अन्य पाँच वटा बैंकहरुले विशेष साधारणसभा सम्पन्न गरेका छन् र मर्जर प्रस्तावलाई सर्बसहमतिमा अनुमोदन गरेका छन् । अन्तिममा विशेष साधारणसभा गर्न लागेको कुमारी बैंकका सेयरधनीहरु भने उक्त मर्जको पक्ष र विपक्षमा विभाजित भएका छन् । एनसीसीसँगको मर्जरलाई सफल बनाउने पक्षमा काम गर्दै आएका कुमारी बैंकका एक जना सञ्चालक बुधबार निकै निराश रुपमा भेटिए । त्यसको कारण हो मर्जको पक्षमा आवश्यक प्रोक्सी संकलन नहुनु । कम्पनी कानुन अनुसार मर्ज सम्बन्धि विशेष प्रस्ताव साधारणसभाबाट पारित गर्न दुई तिहाई मत आवश्यक हुन्छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ छ । मर्ज सम्बन्धि प्रस्ताव पारित गर्न कम्तिमा २ करोड २ लाख ४७ हजार कित्ता सेयरधनीले पक्षमा मतदान गर्नुपर्छ । तर हालसम्म मर्जको पक्षधरले करिव ७० लाख कित्ता सेयरधनीको प्रोक्सी संकलन गरेको छ । ‘कम्तिमा ६० प्रतिशत प्रोक्सी संकलन भएको भए मर्ज प्रस्तावको पक्षमा ७५ प्रतिशत खस्ने सम्भावना हुने थियो । तर अहिलेसम्म ३५ प्रतिशत प्रोक्सी पनि संकलन भएको छैन’–उनले भने । स्रोतका अनुसार बैंकको महत्वपूर्ण प्रवद्र्धक अमिरप्रताव राणा र उनको नातेदारहरुले प्रोक्सी दिन मानेका छैनन् । उक्त समूहसँग ४० देखि ४२ लाख कित्ता सेयर भएको बताईएको छ । उनीहरुले विपक्षमा मतदान गरेको अवस्थामा मर्ज विफल हुने स्रोतले बतायो । बैंकका सञ्चालक डा शोभाकान्त ढकाल भन्छन्–‘लगानीकर्ता अन्तिम निर्णयकर्ता हुन् । विशेष साधारणसभाले जे निर्णय गर्छ त्यसलाई सबैले मान्नैपर्छ ।’ राणा समूहले साधारणसभामा आफै उपस्थिति हुने भन्दै प्रोक्सी दिन नमानेको उनले बताए । कुमारी बैंकमा ४९ प्रतिशत सेयर सर्बसाधारणसँग भएकोले त्यसको ठूलो हिस्साले मर्जको विपक्षमा मत हाल्ने सम्भावना देखिएको छ । बैंकका एक लगानीकर्ताले भने–‘लगानीकर्ताले कसरी बढी कमाउन सकिन्छ भनेर हिसाव गरेका हुन्छन् । बोनस सेयर र हकप्रद सेयरको अपेक्षा गर्ने लगानीकर्ताले मर्जको विपक्षमा मत खसाल्नेछन् ।’ विपक्षीको मत एनसीसीसँग मर्जपछि अवसरभन्दा जोखिम बढी रहेको मर्जको विपक्षमा रहेका लगानीकर्ताको भनाई छ । ‘चालु आर्थिक वर्षमा कुमारी बैंकले ८० करोड रुपैयाँ भन्दा बढी खुद नाफा गर्दैछ । खरावकर्जाको असुली राम्रो भएकोले नाफा १ अर्ब नजिक पुग्ने सम्भावना छ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० देखि २५ प्रतिशत बोनस सेयर दिन सकिन्छ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट पनि बोनस सेयर दिन सकिन्छ । अपुक पुँजीको लागि हकप्रद सेयर जारी गर्न सकिन्छ’ ती लगानीकर्ता भन्छन् । उनी भन्छन्–सेयरको बजार मूल्य बढेको छ । हकप्रद सेयर जारी गर्दा सबै लगानीकर्ता खुशी हुन्छन्, लगानीकर्तालाई हरेक कोणबाट फाइदा छ । सेयर पुँजी ८ अर्ब रुपैयाँ पुर्याए पनि व्यापार विस्तार चुनौतिपूर्ण भएकोले मर्जमा जानु उत्तम हुने तर्क गर्दै आएका छन् । कुमारी बैंकका एकथरी प्रवद्र्धकहरु भने एनसीसीसँगको मर्ज तोडेर एभरेष्ट बैंकसँग मर्ज गर्ने पक्षमा लविङ गरिरहेको स्रोतले बतायो । अन्य बैंकलाई असर नपर्ने कुमारी बैंकको साधारणसभाले मर्जको विपक्षमा निर्णय लिएमा एनसीसीसँग ४ वटा विकास बैंक भने मर्ज हुनेछन् । ‘मर्ज प्रक्रियामा सहभागि मध्ये कुनै संस्थाको साधारणसभाले विपक्षमा निर्णय गरेको अवस्थामा मर्जको पक्षमा निर्णय गर्नेहरुसँग मर्ज अगाडि बढाउने निर्णयमा सबैले हस्ताक्षर गरेका छौं । कुमारी आएन भने पनि ५ वटा बैंकबीच मर्ज हुन्छ’ मर्जर कमिटीका एक सदस्यले भने । कुमारीमा विवाद देखिएकोले मर्जर कमिटिले गत साता यस्तो निर्णय गरेको उनले बताए ।