हरेक साता निक्षेपको व्याजदर बढ्दै, पहिलो असर सेयर बजारमा पर्न सक्ने
काठमाडौं, २८ असार । कुमारी बैंकले ७० दिनको मुद्दती खातामा ७ प्रतिशत व्याजदर घोषणासहित निक्षेपको अपिल गरेको छ । ७० दिन अवधिको मुद्दतीमा न्यूनतम १ लाख बचत गर्नेले ७ प्रतिशत व्याज पाउने छन् । व्यक्तिगत निक्षेपकर्ताको लागि मात्र यो योजना ल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले दिएको निर्देशक अनुसार बैंकहरुले घोषित व्याजदरमा १ प्रतिशत थप गरेर निक्षेप स्वीकार गर्न सक्नेछन् । यस आधारमा बढी रकम देखाएर मोलमोलाई गर्ने बचतकर्ताले ८ प्रतिशतसम्म व्याज पाउने देखिएको छ । बैंकहरुले गत सातादेखि संस्थागत निक्षेपकर्तालाई ७.७५ प्रतिशत व्याज दिन थालेका छन् । विगत एक महिनादेखि बैंकहरुले छोटोछोटो अवधिमा व्याजदर बढाउन थालेका छन् । प्रत्येक साता करिव शुन्य दशमलव २५ प्रतिशतले व्याजदर बढ्दै गएको छ । कर्जाको माग बढेको र लगानी योग्य पुँजीको कमी भएकोले निक्षेपको व्याजदर बढेको बैंकर्सहरुले बताएका छन् । पछिल्लो समय वित्तीय बजारमा कर्जा निक्षेप अनुपात हाल ८० प्रतिशतभन्दा माथि रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैले बैंकको व्याजदर अझै बढ्न सक्ने अनुमान गरिएको छ । करिव ५ वर्षपछि निक्षेपकर्ताले उच्चतम व्याज पाउन थालेका छन् । यद्यपी अहिले बजारमा चलेको व्याजदर मुद्रास्फिति दरभन्दा कम छ । चालु आर्थिक वर्षको मुद्रास्फिति ९ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहदा मुद्रास्फिति दरभन्दा निक्षेपको व्याजदर बढी हुने गरी नीति बनाउन विज्ञहरुले सुझाव दिईरहेका छन् । निक्षेपको व्याजदर वृद्धिले कर्जाको व्याजदरलाई पनि बढाउँछ । यसले उद्योगको उत्पादन लागत बढाउनुको साथै सेयर र घरजग्गाको मूल्य वृद्धिलाई रोक्ने छ । व्याजदर वृद्धिको असर सबैभन्दा पहिले सेयर बजारमा पर्न सक्छ । उच्चतम विन्दुमा पुगेको सेयर बजारमा गिरावट आउने सम्भावनाहरु बढेर गएका छन् ।
हाम्रो विकास बैंकको कार्यकारी प्रमुखमा नयाँ सिईओ
पारसराज कँडेल काठमाडौं, २७ असार । हाम्रो विकास बैंकले पारसराज कँडेललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । उनी यसअघि सीभिल बैंकमा मेनेजर थिए । भारतको इन्स्टिच्यूट चार्टर्ड एकाउण्टबाट सिए गरेका कँडेल विभिन्न कम्पनीका अडिट गर्ने, पढाउने, कन्सल्टेन्सि सेवा जस्ता कार्य गर्दै आएका थिए । यसअघि हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका कपिल ढकालले असार २६ गते राजीनामा गरेका छन् । उनको राजीनामा साउन ७ गतेदेखि लागू हुने गरि स्वीकृत गरिएको र सोही मितिबाट लागू हुने गरि कँडेललाई नियुक्त गरिएको बैंकले जनाएको छ । नयाँ सिईओ नियुक्तीपछि हाम्रो विकास बैंकको व्यवस्थापनमा असन्तुष्टि देखिएको छ ।
बनेपा र दमौलीमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा, देशभरमा ९९ एटीएम
काठमाडौं, २७ असार । ग्लोबल आइएमई बैंकले बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ । बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएम संगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको बैंकले जनाएको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ४० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।