सरकारी जमानीमा साना उद्योगलाई कर्जा, वातावरण भए लगानी गर्न बैंकर्स तयार

काठमाडौं २२, मंसिर ।  बेरोजगारी अन्त्यका लागि सरकारले साना तथा मझौला उद्योगलाई सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउन नीतिगत व्यवस्था गर्ने भएको छ । वाणिज्य बैंक तथा विकास बैंकलाई साना तथा मझौला उद्योगमा अनिवार्य लगानीको न्यूनतम सीमा तीन प्रतिशत तोक्ने र यसको ग्यारेन्टी आफैं लिने सरकारको तयारी छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीका अनुसार सरकारले यस्तो क्षेत्रमा प्रवाह भइरहेको कर्जा असुल नभएमा निश्चित प्रतिशतसम्म आफैं बेहोर्ने गरी नीतिगत व्यवस्था गर्ने तयारी गरिरहेको छ । “अन्य क्षेत्रको तुलनामा साना तथा मझौला खालका उद्योगमा प्रवाह गरिएको कर्जा दुरुपयोगको जोखिम निकै कम हुन्छ,” मन्त्री जोशी भन्छन्, “त्यसैले सम्भावित ‘डिफल्ट’लाई निश्चित प्रतिशतसम्म सरकारले नै ग्यारेन्टी गर्ने गरी बैंकहरूलाई साना तथा मझौला उद्योगमा लगानी गराउने तयारी भएको छ ।” बैंकहरूको लगानीका लागि साना तथा मझौला उद्योग आफैंमा ठूलो र दीर्घकालीन क्षेत्र भएको उनको भनाइ छ । मन्त्री जोशीका अनुसार साना तथा मझौला उद्योगका क्षेत्रमा बैंकहरूलाई न्यूनतम लगानीको सीमा तोक्ने तयारी भइरहेको छ । गाउँ–गाउँमा उद्यमशीलता विकास गरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने लक्ष्यका साथ वाणिज्य तथा विकास बैंकहरूलाई लगानीको सीमा तोक्न लागिएको हो । उद्योग मन्त्रालयले उद्यमशीलता तालिम दिने र सोही क्षेत्रमा बैंकहरूले आफ्ना लगानी विस्तार गरी देशमै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । उद्योग मन्त्रालयले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि बैंकहरूले कुल लगानीको ३ प्रतिशत अनिवार्य छुट्याउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकमा पठाएको छ । मंगलबार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा अधिकांश वाणिज्य तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले सरकारले लगानीको वातावरण बनाए आफूहरू लगानी गर्न तयार रहेको बताएका छन् । कारोबार दैनिकबाट ।

सनराइज बैंकको तेह्रौं शाखारहित बैंकिङ्ग सेवा रौतहटको बंकुलमा सञ्चालन

काठमाडौं, २१ मंसिर । सनराइज बैंक लिमिटेडले आफ्नो तेह्रौं शाखारहित बैंकिङ्ग सेवा रौतहटको बंकुलमा सञ्चालन गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले सो स्थानमा नयाँ शाखा सञ्चालन गरेको हो । सो अवसरमा बैंकको गौर शाखाका प्रमुख बिपत चौधरीले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि खुरसैद खाँँ पैठानलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गरिन्छ ।

यती डेभलपमेण्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी सम्झौता

काठमाडौं, २१ मंसिर । यती डेभलपमेण्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीसेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सुबिधा उपलब्ध गराउदैं जाने उद्देश्यले उक्त कम्पनीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने बैंकले जनाएको छ ।