बाफियामा उपसमितिलाई विश्वास गर्दा धोका भयो, अव सच्याउछौंः सभापति ज्वाला
काठमाडौं, २४ असार । ब्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले उपसमितिलाई विश्वास गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा कमजोरी भएको बताएका छन् । समितिले गठन गरेको उपसमितिले ल्याएको प्रस्तावका केही विषय संसोधन भएपनि विषय बस्तु नै संसोधन नगर्दा बाफियामा कमजोरी देखिएर संसदवाट पुन समितिमै फर्कनु पर्ने अवस्था आएको सभापति ज्वालाको भनाइ छ । ‘समितिले विश्वास गरेर उपसमिति बनाइसकेपछि उसका सवै विषय बस्तु (कन्टेन्ट) सच्याउने भन्ने पनि भएन, केही संसोधन भएपनि फेरि विवाद देखियो, सरकारले पनि फिर्ता गर्नुपर्ने आवश्यकता देखेर फिर्ता भएपछि हामी पूर्ण समितिमा छलफल गरेर एउटा टुंगोमा पुग्छौं,’ सभापति ज्वालाले भने । बाफिया सम्बन्धमा बजेट अधिवेशन सकिएपछि मात्रै छलफल गर्ने सभापति ज्वालाले जानकारी दिए । सो विद्ययेक पुन समितिमै फिर्ता गर्नुको औचित्य सरकारले पुष्टी गरेपछि मात्रै संसोधनको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । ‘किन फिर्ता भयो भनेर सरकारले प्रष्ट पार्नुपर्यो, यसपछि मात्रै थप छलफल अगाडि बढ्छ,’ ज्वालाले भने ।
यती डेभलपमेण्ट बैंकले २ बराबर १ हकप्रद सेयर जारी गर्ने, ४३ करोडको बोनस सेयर प्रस्ताव
काठमाडौं, २४ असार । यती डेभलपमेण्ट बैंक लिमिटेडले २ सेयर बराबर १ सेयर हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पुँजी करिव २ अर्ब ७ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा र आगामी आर्थिक वर्षको नाफाबाट बैंकले ४३ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले विकास बैंकको चुक्ता पुँजी २०७४ असार मसान्तसम्ममा २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । असार २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हकप्रद सेयर र बोनस सेयर सम्बन्धि निर्णय गरेको हो । बैंकले साउन १५ गते चौधौ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको साधारणसभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने अजेण्डा रहेको छ । साथै, बैंकले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । हाल बैंकमा संस्थापक समूहको सेयर ६८ प्रतिशत रहेको छ ।
कुमारी बैंक र सम्सारा रेमिटबीच विप्रेषण सम्झौता
काठमाडौं, २२ असार । कुमारी बैंक लिमिटेड र सम्सारा रेमिट प्रा.लि. बीच विश्वका विभिन्न भागमा कार्यरत व्यक्तिहरुले पठाएको रेमिट्यान्सको व्यवस्थापनबारे सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव गिरी र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्य्य जीवन वावु श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सम्सारा रेमिट मार्फत विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले एक हजार भन्दा बढी कुमारी रेमिट ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।