भिबोर सोसाइटी डेभलपमेन्ट बैंकद्धारा सपोर्ट ग्रुपका परिवारलाई ४ लाख रुपैयाँ सहुलियत कर्जा

काठमाडौं, १९ मंसिर । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुमन्ति सपोर्ट ग्रुप फर सेल्टरबीच विपन्न वर्ग परिवारहरुलाई न्यून—लागत आवाश निर्माण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको उक्त सम्झौतामा बैंकको प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल तथा लुमन्ती संस्थाको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धरले एक समारोहका बीच हस्ताक्षर गरेका छन् । यस सम्झौता बमोजिम लुमन्ति संस्थाले आफ्नो कार्यक्रम संचालन गरेको क्षेत्रका न्यून आय तथा बैंकिङ्ग क्षेत्रबाट टाढा रहेका विपन्न परिवारले अधिकतम ४ लाख रुपैयाँ सम्म न्यून लागत आवाश निर्माण गर्न भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. बाट सहुलियत कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।

छिमेक लघुवित्त विकास बैंकले ५२ प्रतिशत लाभांश दिने

काठमाडौं, १९ मंसिर । छिमेक लघुवित्त विकास बैंक लिमिटेडले ५२ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकको निर्णय अनुसार बैंकले १२ दशमलब ७० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर दिन लागेको हो । नगद लाभांश वापत सेयरधनीले ७ करोड ५६ लाख ५९ हजार ९ सय ४५ रुपैंयाँ प्राप्त गर्नेछन् । त्यस्तै, बैंकले २३ करोड ८२ लाख ९९ हजार ४० रुपैंयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सो मात्रामा नगद लाभांश र बोनस सेयर दिन लागेको हो । त्यसका लागि छिमेक लघुवित्त विकास बैंकले पुस १३ गते साधारणसभा डाकेको छ । ५९ करोड ५७ लाख चुक्ता पुँजी रहेको छिमेक लघुवित्त विकास बैंकले गत आर्थिक बर्षमा ४७ करोड २६ लाख नाफा कमाएको थियो ।

एनएमबि माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयर प्रस्ताव पास, राष्ट्रिय स्तरमा स्तरोन्त्ति गर्ने निर्णय

पोखरा, १८ मंसिर । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा मंसिर १८ गते शनिवार पोखराको सांग्रिला भिलेज रिसोर्टमा सम्पन्न भएको छ । साधारण सभाले आ.व.२०७२/०७३ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छ लाख पाँच हजार दुई सय त्रिसट्ठी रुपैया नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले विकट हिमाली तथा पहाडी जिल्लाहरुको दुर्गम भेगमा शाखा स्थापना गरी त्यहाँका विपन्न समुदायहरुमा सेवा प्रदान गरेकोमा सो कामको प्रशंसा गर्दै आगामी दिनहरुमा अझ प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी नियमन निकायहरुको समय समयमा फेरवदन हुने नीति नियमहरुको पालना गर्ने क्रममा एनएमबि बैंक र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था हातेमालो गर्दै अगाडी वढ्ने बताए । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरी वित्तीय संस्थाको अधिकृत पूँजीलाई २० करोडबाट वृद्धि गरी ४० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । वित्तीय संस्थाले पूँजी वृद्धि गरी राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नती हुने उद्देश्य राखी धितोपत्र वोर्डबाट स्वीकृृत भए बमोजिम १२० प्रतिशत हकप्रद यहि मंसिर ६ गतेबाट संकलन गरिरहेको छ र यसको अन्तिम मिति पौष १० गतेसम्म तोकेको छ । उक्त बोनस र हकप्रद शेयर सूचीकरण पश्चात राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नती हुने प्रस्ताव सभाबाट पारित गरेको छ । वित्तीय संस्थाले चौथो साधारण सभाबाट पारित भएको बोनश र हकप्रद शेयर जारी गरेपश्चात वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी रु ११ करोड २७ लाख पुगेको छ । कार्यक्रममा आर्थिक वर्ष २०७२/०७३ को वार्षिक कार्यसम्पादन मुल्यांकनको आधारमा साहसी फिल्ड कर्मचारीको अवार्ड गलेश्वर शाखामा कार्यरत जुनियर फिल्ड अफिसर अन्जु चोखाल, उत्कृष्ट फिल्ड कर्मचारीको अवार्ड ज्ञादी शाखामा कार्यरत जुनियर फिल्ड अफिसर अन्जना श्रेष्ठ, उत्कृष्ठ शाखा प्रमुखको अवार्ड मनकामना शाखाका शाखा प्रमुख सरस्वती सिलवाल र उत्कृष्ठ शाखामा गोरखा जिल्ला स्थित मनकामना शाखालाई घोषित गरी प्रमुख अतिथि उपेन्द्र पौडेल र वित्तीय संस्थाको अध्यक्ष उत्तम भ्लोन लामाले संयुक्त रुपमा नगद सहित प्रमाणपत्र प्रदान गरेका छन् । पोखरा २९ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका २५ वटा हिमाली र पहाडी जिल्लाहरुमा ५० वटा शाखा कार्यालयहरु स्थापना गरी ४२ हजार जना महिला सदस्यहरुलाई प्रत्यक्ष रुपमा लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । यस वित्तीय संस्थाको हाल करीव रु १ अर्व ११ करोड कर्जा लगानी र निक्षेप करीव रु २५ करोड रहेको जनाएको छ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले स्वागत मन्तब्यका क्रममा वित्तीय संस्थाले ग्रामीण भेगको दुरदराजमा गई कार्य गरिरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने साथै लघुवित्तमा हाल विभिन्न चुनौतीहरु रहेको विचार व्यक्त गरेका थिए ।