राजेन्द्र खेतानले लक्ष्मी बैंक छाडे, सञ्चालक नै आश्चर्यमा
काठमाडौं, १६ फागुन । उद्यमी राजेन्द्र खेतान लक्ष्मी बैंकबाट बाहिरिएका छन् । बैंकमा उनी दुई कार्यकाल अर्थात ८ वर्षसम्म अध्यक्ष भएका थिए । सन् २००२ मा स्थापना भएको यस बैंकमा पहिलो ६ वर्ष राजेन्द्र खेतानको बुवा स्वर्गिय मोहन गोपाल खेतान अध्यक्ष थिए । लक्ष्मी बैंकमा खेतान परिवारको प्रत्यक्ष अप्रत्यक्ष करिव ३० प्रतिशत सेयर लगानी छ । शम्भुप्रसाद आचार्य १४ वर्षको इतिहासमा यो बैंकमा पहिलो पटक खेतान परिवारभन्दा वाहिरको व्यक्ति नेतृत्वमा पुगेका छन् । फागुन १४ गतेको सञ्चालक समितिले बैंकको अध्यक्षमा शम्भुप्रसाद आचार्यलाई चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुधेश खालिङले बताए । सञ्चालकद्धय खेतान र रतनलाल संघाईको कार्यकाल सकिएपछि सञ्चालक समितिले सर्वसहमतिमा आचार्यलाई अध्यक्षमा चयन गरेको उनले बताए । तर बैंकका एक सञ्चालकले अध्यक्ष परिवर्तन भएको औपचारिक जानकारी नभएको बताए । ‘शुक्रबार बसेको बैठकमा अध्यक्षज्यूले मेरो कार्यकाल सकिदै भन्ने जानकारी दिनु भएको थियो । शम्भुप्रसाद आचार्यलाई अध्यक्षमा प्रस्ताव पनि गर्नु भएको थियो । निर्णय नै भईसकेछ ?’ उनले आश्चर्य जनाउँदै विकासन्युजसँग जिज्ञासा राखे । राजेन्द्र खेतान खेतानको वहिरगमनलाई धेरैले आश्चर्य जनक रुपमा लिएका छन् । हाल तीन अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी बैंकले ठूलो मात्रामा हकप्रद सेयर जारी गरेर पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना सार्वजनिक गरिरहेको समयमा सबैभन्दा ठूलो प्रवद्र्धक बोर्डबाट वाहिरिनुलाई साधारण सेयरधनीहरुले पनि अस्वभाविक रुपमा लिएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालकहरु बढीका दुई कार्यकाल मात्र बस्न पाउने गरी जारी गरेको निर्देशनको पालना गर्दै खेताल सञ्चालक समितिबाट वाहिरीएको प्रमुख कार्यकारी अधिकृत खालिङले बताए । जानकारहरुका अनुसार खेतानले हाल विदेशमा लगानी विस्तार गर्दै आएका छन् र उनी अधिकांश समय विदेशमा नै बस्दै आएका छन् । विदेशमा गरिएको लगानी र व्यवसाय प्रवद्र्धनमा खेतानको ध्यान केन्द्रीत भएको र उनी बैंक र बीमा दुवै कम्पनीको सञ्चालक समितिबाट वाहिरीएका जानकारहरु बताउँछन् । खेतान आफैले यसबारे प्रतिक्रिया दिन चाहेनन् । अध्यक्षमा चयन भएका आचार्य राष्ट्र बैंकबाट अवकाश पाएका पुराना बैंकर्स हुन् । राष्ट्र बैंकबाट अबकाश पाएपछि उनी लक्ष्मी बैंकमा आवद्ध छन् । उनी विज्ञ सञ्चालकको रुपमा बोर्डमा नियुक्त भएका थिए ।
बैंकको खुद नाफा र कर्मचारी खर्च अनुपातः सवैभन्दा बढी उत्पादकत्व प्राइमको, सवैभन्दा कम कृषि विकासको
काठमाडौं, ९ फागुन । कर्मचारीको लागि सवैभन्दा कम रकम खर्च गरेर बढी खुद नाफा गर्ने बाणिज्य बैंकहरुमा प्राइम कमर्शियल बैंक अगाडि देखिएको छ । सवैभन्दा बढी रकम कर्मचारीको लागि खर्च गरेर कम खुद नाफा गर्ने बैंकमा भने कृषि विकास बैंक परेको छ । बैंकहरुले प्रकाशित गरेको गत पुस मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरण अनुसार प्राइम कमर्शियल बैंकले कर्मचारी खर्चको ५ गुणाभन्दा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्मा ४६ करोड ९२ लाख खुद नाफा गरेकोमा ८ करोड ५९ लाख ८४ हजार रुपैयाँ मात्रै कर्मचारी खर्च गरेको छ । बैंकले गरेको खुद नाफा कर्मचारी खर्चको तुलनामा ५ दशमलब ४६ प्रतिशतले बढी हो । स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा कर्मचारी खर्च भन्दा निकै कम नाफा गर्ने बाणिज्य बैंकमा कृषि विकास बैंक परेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ३८ करोड ७५ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा बैंकले कर्मचारीको लागि भने १ अर्ब ३१ करोड १ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा कर्मचारी खर्चको ४ गुणाभन्दा बढी छ । सो बैंकले गत पुस मसान्तसम्ममा १ अर्ब ७ करोड ८१ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेकोमा सो अवधिसम्ममा २४ करोड ३० लाख ४७ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । इन्भेष्टमेन्ट बैंकले कर्मचारी खर्चभन्दा ४ दशमलब ४४ गुणा बढी खुद नाफा गरेको हो । स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा नविल बैंकले कर्मचारी खर्चको तीन गुणाभन्दा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिसम्ममा बैंकले कर्मचारीको लागि ४० करोड ६४ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ । नविलले कर्मचारीको लागि गरेको खर्चभन्दा सो बैंकले गरेको खुद नाफा ३ दशमलब ३३ गुणाले बढी हो । यस्तै सानिमा बैंकले पनि कर्मचारी खर्चको भन्दा तीन गुणा बढी खुद नाफा गरेको छ । बैंकले गत पुस मसान्तसम्ममा ४० करोड ८० लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा बैंकले कर्मचारीको लागि १२ करोड ५० लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ । सानिमाले गरेको खुद नाफा कर्मचारी खर्चभन्दा ३ दशमलब २६ गुणाले बढी हो । सिद्धार्थ बैंकले कर्मचारी खर्चको २ दशमलब ७५ गुणा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ४९ करोड २८ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको थियो भने कर्मचारीको लागि १७ करोड ९४ लाख ११ हजार रुपैयाँ खर्च गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले कर्मचारी खर्चको २ दशमलब ६८ गुणा बढी खुद नाफा गरेको छ । सो बैंकले गत पुस मसान्तसम्ममा ६१ करोड २० लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ भने कर्मचारीको लागि २२ करोड ७९ लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै सेन्चुरी कमर्शियल बैंकले कर्मचारी खर्च भन्दा खुद नाफा १ दशमलब ५२ गुणाले बढी गरेको छ । गत पुुस मसान्तसम्ममा सो बैंकले १६ करोड ७ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि १० करोड ६० लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ । स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा सिटिजन्स बैंक इन्टरनेसनलले कर्मचारी खर्चभन्दा २ दशमलब ८९ गुणा बढी खुद नाफा गरेको छ । गत पुस मसान्तसम्ममा सो बैंकले ४१ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि १४ करोड ५० लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै एभरेष्ट बैंकले कर्मचारी खर्चको २ दशमलब ३६ गुणा बढी खुद नाफा गरेको छ । गत पुस मसान्तसम्ममा सो बैंकले ७५ करोड ३७ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेकोमा कर्मचारीको लागि ३१ करोड ९५ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ ।
इन्भेष्टमेन्ट बैंकले स्टान्डर्ड चार्टर्ड बैंक एक्वायर गर्ने ?
काठमाडौं, ५ फागुन । मंसिर २१ गते बसेको स्टान्डर्ड चार्टर्ड बैंक नेपालको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७ दशमलव ११ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । सो निर्णय नेपाल स्टक एक्सचेन्ज मार्फत सार्वजनिक भयो । बैंकले सो निर्णयबारे पत्रिकामा सूचना प्रकाशित गरेर सेयरधनीलाई जानकारी पनि गरायो । सो निर्णय कार्यान्वयन हुन सकेन । नेपाल राष्ट्र बैंकले स्टान्डर्ड चार्टर्डको प्रस्ताव अस्वीकार गरिदियो । राष्ट्र बैंकको असहमति पछि बैंकको साधारणसभा पनि हुन सकेको छैन । सेयरधनीले लाभांश पाउन पनि सकेका छैनन् । अब बैंकको साधारणसभा कहिले हुन्छ ? ‘बैंकको एकाउन्ट (वित्तीय रिर्पोट) राष्ट्र बैंकबाट स्वीकृतिको प्रक्रियामा छ, राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाको मिति तोकिने छ,’ स्टान्डर्ड चार्टर्ड बैंक नेपालका प्रवक्ता दिवाकर पौडेल भन्छन् । राष्ट्र बैंकले २०७४ को असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको चुक्ता पूँजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । आफूले निर्धारण गरे अनुसारको पूजी नपुग्दासम्म राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेको छ । यसैकारण स्टान्डर्ड चार्टर्डको नगद लाभांश वितरण रोकिएको राष्ट्र बैंक स्रोतले बतायो । बैंक संचलक समितिको प्रस्ताब अनुसार राष्ट्र बैंकले स्वीकृति नदिए पछि स्टान्डर्ड चार्टर्ड बैंक नेपालले असजिलो महसुश गरिरहेको छ । स्टान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले नेपालमा व्यवसाय गर्न कठिन हुन लागेको आफ्ना व्यबसायिक मित्रहरुसँग बताउन थालेका छन् । नेपाल राष्ट्र बैंकका अधिकारी पनि स्टान्डर्ड चार्टर्ड बैंक नेपालको सम्बन्धमा केही समस्या आएको बताउन थालेका छन् । ‘विगतमा स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल राष्ट्र बैंकबीच असाध्यै राम्रो सम्बन्ध थियो, पर्याप्त समन्वयको अभावमा अहिले केही समस्या देखिएको छ,’ राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको भनाइ छ । तर राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनीले केन्द्रीय बैंक र स्ट्याण्डर्ड चार्टर्डबीच सम्बन्ध राम्रो भएको बताए । नेपाल छोड्ने चर्चा यसैबीच स्टान्डर्ड चार्टर्ड बैंकले नेपाल छोड्न लागेको हो कि भन्ने शंका र अनुमान धेरैले गर्न लागेका छन् । तर आधिकारिक रुपमा बैंक वा नेपाल राष्ट्र बैंकका अधिकारीले यसबारेमा कुनै जानकारी दिएका छैनन् । गत सोमवार एउटा औपचारिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पछिल्लो समयमा लगानीको बातावरण बिग्रिएको र स्टान्डर्ड चार्टर्ड बैंकले नेपाल छोड्न लागेको बताएका थिए । यूनियन हाउसमा आयोजित एक समारोहमा उनले उक्त भनाई राखेका हुन् । आयोगको उपाध्यक्षसमेत भइसकेको व्यक्तिले विना सूचना हचुवाको भरमा सार्वजनिक कार्यक्रममा पक्कै यस्तो अभिब्यक्ति दिएनन् । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा र सरकारको नियामक निकायमा बसेका अधिकारीहरु पनि अनौपचारिक कुराकानीमा स्टान्डर्ड चार्टर्डले नेपाल छोड्न लागेका बताउन थालेका छन् । औपचारिक रुपमा यो कुरा भन्न कोही पनि तयार छैनन् । के स्टान्डर्ड चार्टर्ड बैंकले नेपाल छोड्नै लागेको हो ? शंका गर्नेहरुले निम्न विषयहरुलाई आधार बनाएका छन् । पुँजी वृद्धिमा असहमति २०७१ साल असारमा बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृतले तत्कालिन गभर्नर डा. युवराज खतिवडालाई भेटेर बैंक तथा वित्तीय संस्थाको पूजी बृद्धि योजना नल्याउन सुझाव दिए । सो समयमा राष्ट्र बैंकले बाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पूजी कम्तिमा ५ अर्ब रुपैयाँ बनाउने गरी छलफल चलाएको थियो । सोही आर्थिक वर्षको मौद्रिक नीति मार्फत पूँजी बृद्धिको योजना ल्याउने तयारी राष्ट्र बैंकको थियो । तत्कालिन प्रमुख कार्यकारी अधिकृतले गभर्नर डा. खतिवडालाई भेटेर पूजी बृद्धिको योजना ल्याउने हो भने आफ्नो बैंक नेपाल छाड्न सक्ने जनाउ दिएका थिए । स्टान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृतको यस्तो भनाईपछि राष्ट्र बैंकले अर्थविद्हरुसँग समेत यस विषयमा अनौपचारिक छलफल गरेको थियो । सो छलफलमा अर्थविद्हरुले नेपालमा विदेशी लगानी भित्र्याउनु पर्ने आवश्यकता रहेको र विदेशी लगानीकर्ताले लगानी गर्ने देशमा मल्टिनेसनल बैंक छ कि छैन भनेर हेर्ने हुनाले स्टान्डर्ड चार्टर्डलाई फर्कन दिदा नराम्रो सन्देश प्रवाह हुने धारणा राखेका थिए । अर्थविद्हरुको यस्तो सुझावका कारण सो आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूजी बृद्धिको योजना रोकिएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीति आउनुपूर्व पुँजीवृद्धिको वहस भएन । गभर्नर पनि परिवर्तन भएका थिए । अचानक न्यूनतम पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने नीति आयो । पुँजीवृद्धि योजना पेश गर्न र सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दियो । तर स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुँजी वृद्धि कार्यतालिका पेश गरेन र सार्वजनिक भएको पनि छैन । यद्यपि तोकिएको समयमा पुँजी वृद्धि गर्ने लिखित प्रतिवद्धता पत्र राष्ट्र बैंकमा पेश गरिएको छ । ‘प्रतिष्ठित र अन्तराष्ट्रिय बैंकले सन् २०१७ सम्ममा राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउछौं भनेर प्रतिवद्धता बुझाईसकेको अवस्थामा शंका गर्नु जरुरी छैन, पुँजी वृद्धि जस्तो महत्वपूर्ण विषयमा घरेलु बैंकले झै छिट्टै निणर्य गर्न यो बैंकलाई सजिलो छैन’ प्रबक्ता पौडेले भने । व्यापार विस्तार नगर्नु करिव ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको सो बैंकले करिव २६ अर्ब रुपैयाँ मात्र कर्जा सापटी प्रवाह गरेको छ । र, १७ अर्ब रुपैयाँ लगानी गरेको छ । कर्जा निक्षेप रेसियो ८० प्रतिशतसम्म गर्न हुने राष्ट्र बैंकको मापदण्ड छ । तर सो बैंक ६० प्रतिशतमा सीमित छ । क्यपिटल एडेक्वसी ११÷१२ प्रतिशतलाई राम्रो मानिन्छ । यो बैंकसँग १५ प्रतिशत छ । यसको अर्थ हो बैंकसँग लगानी गर्ने सामथ्र्य भएर पनि लगानी गरिरहेको छैन । लगानीको वातावरण नभएको, पुँजी वृद्धिले लगानीको प्रतिफल घट्ने र पुँजी वृद्धि लगानीको वातावरणसँग सापेक्षित रुपमा हेर्नु पर्ने बैंकको दावी छ । साथै, विगत केही वर्षयता स्टान्डर्ड चार्टर्ड बैंकले व्यवसाय विस्तारलाई त्यति ध्यान दिएको छैन । शाखा विस्तार रोकिएको छ । केही शाखा नजिकको शाखामा विलय गराइदै शाखा संजाल कम गरिदै आएको छ । पोखरा र मकवानपूरका शाखा नजिकको शाखामा विलय गराइएको छ । पछिल्लो समयमा बैंकले अचल सम्पत्ति बिक्रीलाई जोड दिएको छ । बैंकले केही समय अगाडि पोखरा, झापा, हेटौडालगायतका ठाउमा रहेको जग्गा बिक्री गरिसकेको छ । इन्भेष्टमेन्ट बैंकले एक्वायर गर्ने चर्चा स्टान्डर्ड चार्टर्ड बैंकले नेपाल छोड्ने अवस्था आए सो बैंकलाई नेपाल इन्भेन्टमेन्ट बैंकले एक्वाएर गर्ने अनुमान धेरैले गरेका छन् । ‘स्टान्डर्ड चार्टर्ड बैंक खरिद गर्ने पृथ्वीबहादुर पाण्डेको पुरानो सपना हो, यसअघि नै इन्भेष्टमेन्ट बैंकले स्टान्डर्ड चार्टर्ड बैंक खरिद गर्ने प्रयत्न गरेको थियो, तर नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. खतिवडा र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेबीच राम्रो सम्बन्ध नभएको कारण सम्भब भएन, अब राष्ट्र बैंकको नेतृत्व पनि परिवर्तन भएको र स्टान्डर्ड चार्टर्डले पनि बाहिरिन चाहेका कारण सम्भब हुन सक्छ,’ एक जना पुराना बैंकर्स भन्छन् । इन्भेष्टमेन्ट बैंकले केही दिन अगाडि मात्रै एफपिओको आव्हान पत्र सार्वजनिक गरेको छ । सो आव्हान पत्रमा बैंकको रिजर्भ (संचित कोष) बढाएर २२ अर्ब रुपैयाँ पुर्याउने घोषणा गरिएको छ । आफ्नो रिजर्भ बढाएर त्यही रिजर्भले स्टान्डर्ड चार्टर्ड बैंक नेपाल खरिद गर्ने तयारी इन्भेष्टमेन्ट बैंकको रहेको अनुमान गरिएको छ । तर पाँच वर्षपछि मात्र २२ अर्ब संचित कोष पुर्याउने योजना सार्वजनिक भएको र २२ अर्बले पनि स्ट्याण्डड चार्टर्ड बैंकको ७५ प्रतिशत सेयर खरिद गर्न नपुग्ने अनुमान गरिएको छ । स्ट्याण्डड चार्टर्ड बैंकमा विदेशी लगानी ७५ प्रतिशत छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २६ सयको हाराहारीमा छ । प्रमोटर सेयर प्रतिकित्ता १८ सयमा कारोबार भएको अवस्थमा कम्तिमा ३० अर्ब रुपैयाँ आवश्यक पर्नेछ ।