सिभिल र आइएलएफसीको एकिकृत कारोवार १ कात्तिकमा

काठमाडौं, १६ असोज । सिभिल बैंक र इन्टरनेसनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी (आइएलएफसी) को मर्जर सम्पन्न भएको छ । मर्जर सम्पन्न भएको कारण दुबै संस्थाले सिभिल बैंकको नामवाट आगामी १ कात्तिकदेखि एकिकृत कारोवार संचालन गर्ने भएका छन् । दुबै संस्थाले आइतवार सार्वजनिक सुचना प्रकाशित गरी यस्तो जानकारी दिएका हुन् । १ कात्तिकदेखि एकिकृत कारोवार गर्ने हुनाले डाटा माइग्रेसनको लागि दुबै संस्थाको बैंकिङ कारोवार बन्द गरिने भएको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहने भएकोले आइएलएफसीको चेक लिएका ग्राहकले एकिकृत कारोवारपछि सो चेक फिर्ता गरेर सिभिल बैंकको चेक लिनुपर्ने भएको छ । तर चेक पूर्ण रुपमा प्रतिस्थापन भइनसकेको अवस्थासम्ममा दुबै संस्थाले जारी गरेका चेकबाट कारोवार गर्न सकिने अल्पकालिन ब्यवस्था मिलाइएको छ । १ कात्तिकदेखि आइएलएफसीको एटिएम तथा डेविट कार्ड भने प्रयोग गर्न नमिल्ने भएको छ । १ कात्तिकदेखि आइएलएफसीको डेविट कार्ड र एटिएम कार्डवाट रकम झिक्न नमिल्ने भएकोले सो दिनदेखि सिभिल बैंकको नजिकको शाखामा गएर सिभिल बैंकको मास्टर कार्ड लिनुपर्ने भएको छ ।

प्राइमको हकप्रद भर्ने आज अन्तिम दिन, हुलाक मार्फत पनि पठाउन पाइने

काठमाडौं, १६ असोज । प्राइम कमर्शियल बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । ३ कित्ता सेयर हुने १ कित्ता हकप्रद भर्न पाउने ब्यवस्थामा आज त्यस्तो सेयरको माग नगरे पाउनु हुने छैन । बैंकले गत १२ भदौदेखि हकप्रद निस्कासन खुल्ला गरेको थियो । बैंकको हकप्रद सेयर निस्काशनको विक्री प्रबन्धक सिभिल क्यापिटलले १६ असोजमा सार्वजनिक सुचना प्रकाशित गरेर आज हकप्रद भर्ने अन्तिम दिन भएको स्मरण गराएको छ । बैंकको अहिले सेयरमूल्य प्रतिकित्ता ६ सय रुपैयाँभन्दा माथि छ । हकप्रद भर्नेले १ सय रुपैयाँमा एक कित्ता पाउनेछन् । गत १९ साउनसम्म कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउनेछन् । हकप्रद भर्नको लागि प्राइम बैंकका सवै शाखा तथा सिभिल क्यापिटलको कार्यालय र सिभिल क्यापिटलको नाममा खिचिएको एकाउन्टपेयी ड्राफ्टका साथमा सेयरको दरखास्त फाराम हुलाक सेवा मार्फत रजिस्ट्री गरेर वा कुरियर मार्फत पनि सिभिल क्यापिटलको ठेगानामा पठाउन सकिनेछ । तर सेयर विक्री बन्द भएको १५ दिन पछि प्राप्त हुने ड्राफ्ट र आवेदन फारमलाई बाँडफाँडमा समावेश नगरिने सिभिल क्यापिटलले जानकारी दिएको छ ।

जगन्नाथ र गोपीनाथ मन्दिर बनाउन नेपाल इन्भेष्टमेन्ट बैंक आर्थिक कोष

काठमाडौं, १६ असोज । नेपाल इन्भेष्टमेन्ट बैंकले हनुमानढोकास्थित विश्व सम्पदा सूचिमा रहेको जगन्नाथ र गोपीनाथ मन्दिरको पुनरुद्धारका लागि पूरक कोष सञ्चालन गर्ने भएको छ । बैंकले १७ असोजदेखि पुररुद्धार पूरक कोष सञ्चालन गर्न लागेको हो । जापान सरकारको सहयोगमा पुनरुद्धार भैरहेका यी मन्दिरका लागि पूरक सहयोगको प्रबन्ध गर्न कोष सञ्चालन गर्न लागिएको हो । परियोजनामा कार्यमुलक तालिमका माध्यमबाट राष्ट्रिय संघ संस्थाहरुको क्षमता विकासका लागि सहयोग पुग्ने बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले असोज १७ गतेदेखि नेपालका लागि जापानी राजदुतको उपस्थितीमा कोषको शुभारम्भ गर्नेछ ।