मोदीले नेपालमै सम्झौता गरेको एक खर्ब ऋण अझै आएन, सहुलियत ऋण लिनेदिने सम्झौता २ वर्षसम्मपनि कार्यान्वयन भएन
काठमाडौं १३, असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला घोषणा गरेको सहुलियत ऋण उपलब्ध हुन अझै बाँकी छ। मोदीले पूर्वाधार, पुल, विद्युत्, प्रसारण लाइनलगायतमा ऋण दिने घोषणा गरेका थिए । व्यवस्थापिका र तत्कालीन संविधानसभामा १९ साउन ०७१ मा सम्बोधन गर्दै मोदीले एक अर्ब डलर सहुलियत ऋण दिने घोषणा गरेको भन्ने समाचार विहिबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । नेपालले दुई वर्षमा जम्मा ५५ करोड डलरका परियोजना मात्र भारतलाई प्रस्ताव गरेको छ। सहुलियत ऋण लिन प्रस्तावित परियोजना स्वीकृति हुन बाँकी छ । नेपालले १९ सडक, महाकालीमा पुल, सिँचाइ तथा कोसी नहर पुनर्निर्माणका लागि डिपिआर तयार गरेर भारतमा पठाएको छ । यी सबै परियोजनाको रकम जम्मा ५५ करोड डलरबराबरको मात्रै हो। नेपालले सबै रकम खर्च गर्ने गरी परियोजना तयार गरेर भारतलाई दिइसकेको छैन । मोदीले घोषणा गरेको ऋण वार्षिक एक प्रतिशतका दरले ब्याजसहित ३० वर्षपछि तिर्नुपर्छ ।
समय अगावै नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजी आठ अर्ब
काठमाडौं, १२ असोज । राष्ट्र बैंकले तोकेको समय अगावै नेपाल इन्भेष्टमेन्ट बैंकले पूँजी वृद्धि गरेर आठ अर्ब रुपैयाँ पुर्याएको छ । मंगलबार सम्पन्न बैंकको ३० औँ साधारणसभाले बैंकको ४१ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेपछि बैंकले पूँजी आठ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको हो । बैंकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनश शेयर र २१ प्रतिशत नगद गरी ४१ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको थियो । बैंकले गत आर्थिक बर्षमा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । हाल बैंकको ७ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनश वितरण पश्चात बैकको चुक्तापूँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । बैंकको ३०औँ साधारणसभाबाट सञ्चालकमा भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठ चुनिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको प्रवर्धन समूहको प्रतिनिधित्व गर्दै विनोदकुमार गुरागाईँलाई सञ्चालकका रूपमा चुनिएको बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा छ । उक्त सभामा बैंकले एक अर्ब भन्दा बढी चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकलाई खरिद गर्ने निर्णय पनि गरेको छ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा १० अर्ब ५५ करोड रुपैयाँ रहको छ । हाल बैंकले ७ लाख भन्दा बढी ग्राहकलाई ४७ शाखा, ८२ एटिएम मार्फत सेवा दिँदै आइरहेकोे छ ।
मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पराजुली पुनः निर्वाचित
काठमाडौं, १० असोज । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली पुन निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा नागरिक लगानी कोषका उप–व्यवस्थापक रोशनजङ्ग कार्की, महासचिवमा एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापा, कोषध्यक्षमा एनसिएम मर्चेन्ट बैंकिंगका प्रबन्धक निर्देशक विजय लाल श्रेष्ठ निर्वाचित भएका छन् । संघको सदस्यहरुमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकाल र नेशनल मर्चेन्ट बैंकरका प्रबन्धक निर्देशक नबिन बास्कोटा निर्वाचित भएका छन् । संघको सातौं वार्षिक साधारण सभाले आगामी दुई वर्षको कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको संघले जनाएको छ । कार्य समितिले आगामी दिनमा नियामक निकाय लगायत अन्य सम्बन्धित सबैसंग समन्वय गरी मर्चेन्ट बैंकिंग क्षेत्र विस्तार गरी सम्पूर्ण ग्राहक बर्गलाई गुणस्तरिय सेवाको निरन्तरता दिने प्रतिबद्धताका साथ यस संस्थालाई थप ससक्त ढङ्गले अगाडी बढाउने योजना अध्यक्ष पराजुलीले बताए ।