सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा अब सुनसरीमा पनि

काठमाडौं, ८ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनसरी जिल्लाकोे लौकही गा.वि.समा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बुधबार देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले ९३औँ शाखा रहित उक्त सेवाको शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा बैंकका इटहरी शाखाका शाखा प्रमुख सुब्रत रोयले उद्घाटन गरेका हुन् । साथै, बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी अशोक कुमार यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । बैंकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ्ग सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराई राखेको बैंकले जनाएको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा अब आईओएस भर्सनमा पनि

काठमाडौं, ८ असार । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरि प्रदान गरिरहेको ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा अब आइओएस भर्सनमा पनि उपलब्ध गराउने भएको छ । यस अघि एण्ड्रोइड भर्सनमा मात्र उपलब्ध ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा ग्राहकहरुको माग अनुसार आइओएस भर्सनमा पनि उपलब्ध गराएको बैंकले जनाएको छ । बैंकका अनुसार यस मोबाइल बैंकिङ्ग सेवा मार्फत सबै ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइलबाट नै बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । ग्राहकहरुले एण्ड्रोइड फोनको लागि गुगल प्ले स्टोर्स र आईफोनका लागि एप्पल एप स्टोर्समा गएर ग्लोबल स्मार्ट एप्लिकेशन डाउनलोड गरि सेवा उपभोग गर्न सक्ने छन् । यो एप एण्ड्रोइड फोनमा आईसक्रिम स्यान्डविच ४ भर्सन र आईफोनमा आइओएस ८ भर्सन देखि सपोर्ट गर्ने बैंकद्धारा जारी भएको विज्ञप्तिमा उल्लेख छ । डाउनलोड गरिएको एप्लिकेशन मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले, खाताको स्टेटमेन्ट हेर्न, रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शुल्क तिर्न, मोबाइल, इनटरनेट जस्ता सेवाको बिल भुक्तानी गर्न, आफ्नो नजिकमा रहेको शाखा तथा एटिएम पत्ता लगाउन, साथै अन्य जानकारी लिन सक्ने कम्पनीले बताएको छ । यो सेवा सुचारु गर्नका लागि ग्राहकहरुले बैंकमा खाता खोल्दा समयमा रजिष्ट्रर गरेको मोवाईल नम्बर नै प्रयोग गर्नु पर्ने छ । यो सेवा मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्ने बैंकले जनाएको छ ।

सिद्धार्थ र युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु

काठमाडौं, ७ असार । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । मर्जर पश्चात् मंगलबार एक औपचारिक समारोहका बीच सिद्धार्थ बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको बैंकले जनाएको छ । बैंकको एकीकृत कारोबारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका हुन् । बैंकले आगामी दिनहरुमा एक सबल र सुदृढ बैंकको रुपमा आफ्ना ग्राहकहरुका विविध बैंकिङ्ग आवश्यकताहरुलाई अझ प्रभावकारी रुपमा पुरा गर्ने लक्ष्य लिएको छ । मर्जर पश्चात् सिद्धार्थ बैंकको कुल पुँजी ३ अर्ब २ करोड रुपैयाँ भएको बैंकले जनाएको छ । साथै, बैंकले १ अर्ब ९० करोड रुपैयाँ मुनाफा र १ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको विज्ञप्तिले जनाएको छ । हालसम्ममा ६२ अर्ब १० करोड रुपैयाँ कुल निक्षेप संकलन गर्न र ५३ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको बैंकले जानकारी गराएको छ । मर्जर पश्चात् बैंकले नेपालभर ६९ शाखा, ८१ ए.टि.एम र ६५ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बैंकले बताएको छ ।