लगानी कोष र नेपाल बैंकबीच सम्झौता

काठमाडौं, १ असार । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडबीच कोषको रकम बैंकको केन्द्रीय खातामा एबिबिएसमार्फत सिधै जम्मा गर्ने व्यवस्थाका लागि एक सम्झौता भएको छ । बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर गर्ने कार्यलाई थप सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच बुधबार उक्त सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन् । कोषका कार्यकारी निर्देशक पोखरेलका अनुसार २०७३ साउनदेखि कोषको रकम केन्द्रीय खातामा जम्मा हुनेछ । सम्झौताअनुरुपको कार्य सुरु भएपछि नेपालभर बैंकका शाखामा कोषको नाममा रहेका सबै खाता बन्द गरी पाँच वटा खातामात्र सञ्चालनमा रहनेछन् । यसभन्दा अगाडि कोषको खाता बैंकको २०० भन्दा बढी खातामा जम्मा हुँदै आएको थियो । रासस

ग्लोबल आइएमईले प्यासिफिक बैंकलाई एक्विजिसन गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, १ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । आषाढ १ गते बुधबार हस्ताक्षर भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेष बहादुर पौडेल हस्ताक्षर गरेका छन् । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई एक जिल्ले विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पूँजी ११ करोड रुपैयाँ रहेको छ । प्यासिफिक बैंकलाई ग्लोबल आइएमईले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ६ अर्व २७ करोड, कुल निक्षेप ७१ अर्ब, कर्जा लगानी ६१ अर्ब रुपैयाँ र ९४ वटा शाखा कार्यालय पुग्ने विज्ञप्तिमा जनाइएको छ । ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाइनान्ससँग सफल मर्जर गरिसकेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकको थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं, १ असार । सिटिजन्स बैंकले थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । नुवाकोट जिल्ला स्थित रालुकादेवी, थापे्रक र खरानीटार गाविसमा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ । भुकम्पबाट अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणाली मार्फत वित्तीय पहुँच पुर्याउनको लागि बैंकले उक्त स्थानमा सो सेवा उपलब्ध गराएको छ । देशका विभिन्न दुर्गम ठाउँका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ युके एडको लगानिमा संचालित सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा शाखा विस्तार गरेको हो । उक्त शाखा रहित बैंकिङ सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ९२ पुगेको बैंकले जनाएको छ । बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ मार्फत उपलब्ध गराई राखेको बैंकबाट जारी विज्ञेप्तिमा उल्लेख छ ।