बिओकेको साधारणसभा रोकियो, कारण यस्तो छ
काठमाडौं, १३ माघ । बैंक अफ काठमाडू (विओके)को बार्षिक साधारणसभा रोकिएको छ । बैंकले बुधवार सार्वजनिक सुचना प्रकाशित गरेर साधारणसभा रोकिएको जानकारी दिएको हो । बैंकले आगामी २४ माघमा आफ्नो एक्काइसौं साधारणसभा गर्ने जानकारी दिएको थियो । तर १३ माघमा सार्वजनिक सुचना प्रकाशित गरेर अर्काे सुचना नआएसम्मको लागि साधारणसभा स्थगीत भएको जानकारी गराएको छ । साधारणसभा रोकिए पनि साधारणसभा तथा लाभांश (नगद लाभांश तथा बोनस सेयर) प्रयोजनको लागि ४ माघदेखि २४ माघसम्म बैंकको सेयर दाखिला खारेज बन्द रहने ब्यवस्था भने कायम रहने जानकारी दिएको छ । बिओके र लुम्बिनी बैंक मर्जर प्रक्रियामा रहेको कारण साधारणसभा रोकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले जानकारी दिए । मर्जर गर्न दुबै बैंकले सैद्धान्तिक सहमतिको लागि राष्ट्र बैंकमा निवेदन दिइसकेकोले राष्ट्र बैंकको थप प्रतिक्रिया पाएपछि मात्रै साधारणसभाको मिति तय हुने उनेको भनाइ छ । मर्जरको लागि सैद्धान्तिक सहमति माग्न जाने बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले साधारणसभा पुन गर्न निर्देशन दिने गरेको छ । साधारणसभा गर्ने समय र राष्ट्र बैंकले मर्जरको सहमति (लेटर अफ इन्टेन्ट) दिने नदिने समय एउटै पर्ने भएकोले केही दिन पर्खन लागिएको श्रेष्ठले बताए । ‘मर्जरको स्वीकृति दिदा साधारणसभा गर्न निर्देशन दिने गरिएको छ, केही दिनमा नै एलओआइ पाउने नपाउने तय हुने भएकोले राष्ट्र बैंकको प्रतिक्रिया पछि मात्रै साधारणसभा गरौं भनेर रोकिएको हो,’ श्रेष्ठले भने ।मर्जरको कारण सेयर कारोवार रोक्का रहेकोले बुक क्लोजको समय परिवर्तन गरिरहन आवश्यक नभएको उनको भनाइ छ ।
आक्रामक बजार विस्तारमा राष्ट्रिय बाणिज्य बैंक, ३५ शाखा र ५० एटिएम थप्दै
काठमाडौं, ११ पुस । राष्ट्रिय बाणिज्य बैंकले आक्रामक रुपमा बजार विस्तार गर्ने योजना बनाएको छ । बैंकले नयाँ २ सहायक कम्पनी स्थापना गर्नदेखि शाखा संजाल विस्तार गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । बैंकको ५१ औं बार्षिकोत्सबको अवसरमा सो जानकारी दिइएको हो । बैंकले निकट भविष्यमै ३५ नयाँ शाखा स्थापना गर्ने कायममुकायम प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले जानकारी दिए । यस्तै थप ५० स्थानमा नयाँ एटिएम र १० स्थानमा शाखा रहित बैंकिङ्ग सुरु गर्ने तयारी बैंकको छ । अहिले बैंकले देशका विभिन्न ६८ जिल्लामा १ सय ६३ शाखा, ८० एटिएम काउन्टर, १७ स्थानमा एक्सटेन्सन काउन्टर र ६७ स्थानवाट शाखारहित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । यस्तै बैंकले निकट भविष्यमै सेयर कारोवार गर्नको लागि सहायक कम्पनी मर्चेन्ट बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्नको लागि लघुवित्त कम्पनी स्थापनाको तयारी गरेको छ । दुवै कम्पनी स्थापनाको लागि कम्पनी रजिष्टार कार्यालयमा दर्ता प्रक्रियामा रहेको बैंकले जानकारी दिएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ राज्यमन्त्री दामोदर भण्डारीले देशको सुगमदेखि दुर्गम क्षेत्रसम्म सेवा प्रवाह गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रतिस्पधी बजारमा अग्रणी बैंक बन्न सुझाव दिएका छन् । उनले बैंकलाई सेवाग्राहीमूखी र प्रविधिमूखी बनाउनुपर्नेमा जोड दिए । वित्तीय सुशासन विना बैंकलाई विश्वसनीय बनाउन नसकिने भन्दै बैंकको स्वास्थ्य बलियो बनाउँदै वित्तीय सुधार र जनताको विश्वास जित्न सफल हुनुपर्ने उनको भनाइ छ । बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत पन्थीले भूकम्प पिडित परिवारलाई घर बनाउको लागि प्रदान गरिने कर्जा दिन थालिएको जानकारी दिए । सो सम्बन्धि कार्यविधि तयार पारेर कर्जा दिन थालिएको पन्थीको भनाइ छ । बैंकले गत पुस मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन र ७७ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको छ । अहिले बैंकको चुक्ता पूजी ८ अर्ब ५८ करोड रुपैयाँ छ भने संचित नोक्सानी १ अर्ब रुपैयाँको हारहारीमा छ । बैंकमा क्रियाशिल कर्मचारी संगठनहरुका अगुवाहरुले ब्यवसायिक ब्यक्तिलाई नयाँ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनुपर्ने धारणा राखे । गत २० पुसदेखि तत्कालिन प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माको कार्यकाल सकिएपछि बैंक अहिले ब्यवस्थापन प्रमुख विहिन छ ।
सीमावर्ती भारतीय बजारमा ५० करोड नेपाली नोट अलपत्र
जनकपुरधाम, १० माघ । भारतीय रुपैयाँको अभाव देखिएपछि सीमावर्ती भारतीय बजार जयनगरमा ५० करोड नेपाली रुपैयाँ थन्किएको छ । नेपाल राष्ट्र बैंकले आफ्ना उपभोक्तालाई भारतीय रुपैयाँ पर्याप्त मात्रामा उपलब्ध नगराएपछि बढी कट्टा तिरेर नेपाली रुपैयाँ नै प्रयोग गर्न थालेकाले सो परिमाणको नेपाली रुपैयाँ भारतीय बजारमा थन्किएको हो । जनकपुरस्थित नेपाल राष्ट्र बैंक अगाडि बिहान ६ बजेदेखि भारतीय रुपैयाँको लागि लाइनमा बस्दा पनि पाँच घन्टापछि तीन हजार मात्र पाइने भएपछि सीमाबर्ती बजारमा नेपाली रुपैयाँको कारोबार बढ्न गएको उपभोक्ताहरूको गुनासो छ । भारतीय बजार जयनगरमा नेपाली उपभोक्ताहरू बढी बट्टा तिरेर भारतीय रुपैयाँ लिन थालेपछि अहिले त्यहाँ नेपाली रुपैयाँको अवमूल्यन भएको हो । धनुषा र सिरहाका करिब ७० प्रतिशत उपभोक्ताहरू भारतीय बजार जयनगरमा करोबार गर्ने गरेकाले अहिले यहाँ ५० करोड नेपाली रुपैयाँ थन्किन गएको जयनगर चेम्बर अफ कमर्शका महासचिव अनिलकुमार बैरोलिया बताए । ‘व्यावहारिक रुपमा हामीले उपभोक्तासँग नेपाली रुपैयाँमा कारोबार गर्छौं तर उही रुपैयाँ साट्न नेपाल जाँदा सीमा क्षेत्रमा प्रहरीले समात्ने गरेका छन्,’ बैरोलियाले भने । करिब एक हजार ठूलासाना व्यापारी रहेको जयनगर बजारमा दैनिक रु पाँच करोड बराबरको व्यापार हुने गरेको छ । त्यहाँका व्यापार धनुषा र सिरहाका ७० प्रतिशत उपभोक्तामाथि टिकेकाले नेपाली रुपैयाँको प्रयोग हुने गरेको हो । सटही काउन्टको अभावका कारण जयनगरको रेल्वे स्टेसनमा रहेको एक्सचेन्ज व्यापारीहरूले जथाभावी रुपैयाँ बट्टा काट्दा नेपाली उपभोक्ता ठगिँदै आएको बताइएको छ । विनिमयको नाममा नेपाली रुपैयाँको कालोबजारी हुने गरेको छ । नेपाली रुपैयाँ साट्न भारतमा पनि ठोस व्यवस्था गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरिएको भन्दै जयनगर चेम्बर अफ कमर्शले यो समस्या समाधान गर्न नेपाल–भारत दुवै देशको सरकार गम्भीर हुनुपर्ने बताएको छ । अहिले भारतको जयनगरमा भारतीय रुपैयाँ लिँदा सयकडा १२ देखि १३ रुपैयाँ बट्टा लिने गरिएको बताइएको छ । साउन ३० गतेदेखि अनिश्चितकालीन मधेस बन्द र असोज ७ गतेदेखि नाकाबन्दी जारी रहेकाले भारतीय रुपैयाँको अभावमा नेपाली उपभोक्ता चर्को दरमा भारु किन्न बाध्य रहेका छन् । रासस