भूकम्पको आर्थिक प्रभाव संकलन गर्दै राष्ट्र बैंक

३ बैशाख ।  नेपाल राष्ट्र बैंकले विनासकारी भूकम्पको कारण कुन कुन क्षेत्रको कर्जामा कस्तो असर पर्यो  भनेर तथ्यांक संकलन गर्न लागेको छ । भूकम्पको कारण परेको प्रभाव कम गर्न कस्तो प्रकारको नीति लिनु पर्छ भन्ने यकिन गर्न तथ्यांक संकलन गरिएको हो । पहिलो चरणमा क्षतिको विवरण संकलन गर्ने र त्यसपछि लिनुपर्ने नीतिको विषयमा छलफल हुने नेपाल राष्ट्र बैंकका अधिकारीको भनाइ छ । राष्ट्र बैंकले सवै बैंक वित्तीय संस्थालाई पत्राचार गर्दै आफ्नो कुन कुन क्षेत्रको कर्जामा कस्तो प्रभाव परेको छ, त्यसको जानकारी दिन भनेको छ । ‘कुन क्षेत्रको कर्जामा कस्तो प्रभाव प¥यो भनेर विवरण माग गरिरहेका छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने– सवै तथ्यांक आएपछि के कस्तो नीति लिने भन्ने निर्णयमा पुगिन्छ । विनासकारी भूकम्पको कारण कर्जाको किस्ता प्रभावित हुन सक्ने अनुमान बैंक तथा वित्तीय संस्थाका अधिकारीको पनि छ । कर्जाको किस्ता नियमित हुन नसकेमा बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक बर्षको नाफा नै प्रभावित हुन सक्ने छ । तर १२ बैशाखमा भूकम्प गएको र चैत मसान्तको किस्ता उठिसकेकोले अहिले नै बैंक तथा वित्तीय संस्थालाई खास दबाब छैन । तर बैशाख महिनाभरी नै भूकम्पको धक्का आइरहेकोले आगामी असार मसान्तको किस्ता भने प्रभावित हुने अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले तयार पारेको प्रारम्भिक विबरण अनुसार भूकम्पको सवैभन्दा धेरै प्रभाव अपार्टमेन्ट तथा हाउजिङ ब्यवसायमा परेको छ । यो क्षेत्र केहि बर्ष पहिलादेखि समस्या रहेकोले भूकम्पको कारण थप समस्यामा पर्ने देखिएको छ । यस्तै लामो समयसम्म उद्योग ब्यवसाय ठप्प रहेको सवै क्षेत्रको कर्जाको किस्ता प्रभावित हुन सक्ने देखिएको छ ।

सनराईज बैंकको कार्यकारी प्रमुखमा रत्नराज नियुक्त

१ जेठ । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । जेठ १ गते नियुक्त भएका बज्राचार्य सोही दिनदेखि उनले बैंकको जिम्मेवारी समालेका छन् । ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको चार वर्षे कार्यकाल बैशाख ३१ गते सकिए लगत्तै बज्राचार्यले नयाँ बैंकमा जिम्मेवारी समालेका छन् । ग्लोवल आईएमई बैंकमा कार्यकारी प्रमुख हुनुपूर्व उनी एनसीसी बैंकमा चार वर्ष कार्यकारी प्रमुख थिए । त्यसअघि उनले नेपाल बैंकमा वित्तीय विदेशी व्यवस्थापन टोलीमा रहेर काम गरेका थिए । चार्टर एकाउण्टेन्ट बज्राचार्यले लामो समय चार्टर एकाउण्टेन्ट र कन्सल्टेटको काम गरेका थिए । उता सनराईज बैंकमा विगत ८ महिनादेखि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । सुरेन्द्र प्रधानको कार्यकाल सकिएपछि बैंकले लामो समय नयाँ कार्यकारी प्रमुख नियुक्त गर्न सकेको थिएन ।

राष्ट्र बैंकले बनायो १४ दिनको साता

२८ बैशाख । सामान्यता ७ दिनलाई एक साता मान्ने गरिए पनि नेपाल राष्ट्र बैंकले भने १४ दिनलाई एक साता बनाएको छ । विनासकारी भूकम्पको कारण सवै क्षेत्रमा नकारात्मक प्रभाव परेपछि बैंक तथा वित्तीय संस्थालाई राहत दिन राष्ट्र बैंकले १४ दिनको साता बनाएको हो । राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थाहरुलाई निश्चित प्रतिशत रकम अनिवार्य रुपमा नगदै राख्नुपर्ने ब्यवस्था गरेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति अनुसार बाणिज्य बैंकहरुले ६ प्रतिशत, विकास बैंकहरुले ५ प्रतिशत र फाइनान्स कम्पनीहरुले ४ प्रतिशत रकम अनिवार्य नगद मौज्दात राख्नु पर्छ । यस्तो रकमको गणना साप्ताहिक रुपमा हुने गर्छ । तर १२ बैशाखमा आएको विनासकारी भूकम्पको कारण सवै क्षेत्र प्रभावित भएकोले यस्तो गणनाको अवधि १४ दिनको भनाइएको हो । राष्ट्र बैंकले २७ बैशाखमा परिपत्र गर्दै १३ बैशाखदेखि २६ बैशाखसम्मलाई एक साता मान्ने ब्यवस्था गरिएको जानकारी दिएको छ । ‘भूकम्पका कारणले गर्दा अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनका लागि मिति २०७२ बैशाख १३ गते देखि २०७२ बैशाख २६ गतेसम्मको अवधिलाई हप्ता कायम गरिएको छ,’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख गरिएको छ ।