जेनजी आन्दोलन र नयाँ नेपालको आवश्यकता
नेपालको सडकमा हालैको जेनजी आन्दोलनले पुरानो राजनीतिक सोचलाई हल्लाइदिएको छ। यो केवल युवाहरूको असन्तुष्टि मात्र थिएन, यो नयाँपुस्ताको जवाफदेही, पारदर्शी र सक्षम शासन चाहिन्छ भन्ने सन्देश थियो। यस आन्दोलनले नेपालको राजनीतिक संरचना र शासन प्रणालीमा व्यापक सुधारको आवश्यकता औंल्याएको छ । हामीले यसलाई केवल विरोधको रूपमा होइन, नयाँ अवसरको रूपमा हेर्नु जरुरी छ । अब लोकतन्त्रलाई बलियो, पारदर्शी र जनमुखी बनाउन आवश्यक सुधारहरूलाई अवलम्बन गर्नु अपरिहार्य देखिन्छ । यहाँ मैले प्रमुख सुधारका बुँदाहरू प्रस्तुत गरेको छु । १. लोकतान्त्रिक प्रणालीको निरन्तरता नेपालको वर्तमान लोकतान्त्रिक प्रणालीलाई पूर्णरूपमा विस्थापित नगरी आवश्यक सुधारसहित जारी राख्नुपर्ने माग बढ्दो छ । प्रणालीको स्थायित्वसहित कार्यक्षमता वृद्धि गर्नुपर्छ । २. संवैधानिक संशोधन र संस्थागत सुदृढीकरण पारदर्शिता, जवाफदेहिता र शक्तिको सन्तुलनलाई बलियो बनाउन संविधानमा आवश्यक संशोधन गरिनुपर्छ । यसले लोकतान्त्रिक संस्थाहरूलाई अझ प्रभावकारी र निष्पक्ष बनाउनेछ । ३. प्रादेशिक सरकार खारेजी र स्थानीय सशक्तिकरण महंगा र अप्रभावकारी प्रादेशिक सरकारहरूलाई हटाएर स्थानीय तहलाई सशक्त बनाउनुको माग व्यापक छ । यसले जनताको समस्या समाधानमा तीव्रता ल्याउने अपेक्षा गरिएको छ । ४. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली प्रधानमन्त्री वा सरकार प्रमुखलाई प्रत्यक्ष नागरिकबाटै निर्वाचित गर्ने प्रणालीले सरकारप्रतिको जनविश्वास र जवाफदेहितालाई बढाउनेछ। ५. प्रधानमन्त्रीको पदावधि सीमा कुनै पनि व्यक्तिले जीवनमा दुई पटकभन्दा बढी प्रधानमन्त्रीको पद धारण गर्न नपाउने व्यवस्था गरिनु लोकतान्त्रिक परम्परालाई स्वस्थ बनाउने उपाय मानिन्छ । ६. सांसदका लागि शैक्षिक योग्यता सक्षम र जानकार नेतृत्व सुनिश्चित गर्न सांसद बन्न न्यूनतम शैक्षिक योग्यता अनिवार्य गर्ने माग गरिएको छ । ७. योग्यतामा आधारित नियुक्ति राजनीतिक भागबन्डा अन्त्य गरी 'सही व्यक्तिलाई सही स्थानमा' राख्ने व्यवस्था लागू गर्नुपर्ने आवश्यकता छ । यसले दक्ष र नतिजामुखी प्रशासनिक संरचना तयार गर्नेछ । ८. गैर–राजनीतिक सामाजिक संस्था विद्यार्थी संघदेखि श्रमिक संघसम्म सबैलाई राजनीतिक प्रभावमुक्त बनाइ उनीहरूको वास्तविक उद्देश्यमा केन्द्रित गर्नुपर्ने सुझाव आएको छ । ९. आधुनिक एसओपी र पारदर्शी प्रशासन प्रशासनिक कार्यहरूका लागि स्पष्ट र आधुनिक मानक सञ्चालन प्रक्रिया (एसओपी) तयार गर्नुपर्छ। सरुवा, बढुवा र कारबाहीका मापदण्डहरू स्पष्ट हुनुपर्छ । १०. भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही मात्र होइन, सम्पत्ति समेत राष्ट्रियकरण गर्ने प्रावधान ल्याउनु जरुरी छ । ११. सूचनाको पूर्ण अधिकार नागरिकले राज्यका सबै निकायबाट निष्पक्ष र समयमै सूचना पाउने सुनिश्चितता हुनु लोकतन्त्रको आधार हो । १२. जनप्रतिनिधि फिर्ता गर्ने अधिकार काम नगर्ने, जनविश्वास तोड्ने वा भ्रष्टाचारमा लिप्त जनप्रतिनिधिलाई नागरिकले नै फिर्ता बोलाउने अधिकार सुनिश्चित गर्नुपर्छ । जेनजी आन्दोलनले देखाएको यो सुधारको खाका केवल माग मात्र होइन, नयाँ नेपालको मार्गचित्र हो । यी बुँदाहरू कार्यान्वयन भएमा लोकतन्त्र बलियो, पारदर्शी र जनमुखी हुनेछ । यसले राजनीति र शासन प्रणालीप्रति जनताको विश्वास पुनःस्थापित गर्नेछ र मुलुकलाई दीर्घकालीन स्थिरता दिनेछ ।
संविधान संशोधनपछि निर्वाचन, सुरूमै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सहमति जुटाउन प्रयासरत छन् । उनले नेपाली सेनामार्फत जेनजी समूहका प्रतिनिधिसँग र आफै ठूला दलका शीर्ष नेता, संविधानविद्हरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने अन्तरिम मन्त्रिपरिषद्ले नियमित कार्यसम्पादन बाहेक भदौ २३ र २४ गतेका घट्नाको न्यायिक छानबिन गराउने र निर्वाचन गराउने मुख्य जिम्मेवारी पाउनेछ । संविधानको बाधा अड्काउ फुकाउन सक्ने राष्ट्रपतिको अधिकार प्रयोग गरेर उनले संसदबाहिरबाट अन्तरिम सरकार बनाउँदैछन् । अब व्यवस्थापिका के हुने भन्ने प्रश्नमा वहस हुने नै छ । संसद विघटन नगरी यसलाई संविधान संशोधन मात्र गर्न केन्द्रित गराउन सकिन्छ । जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था संविधानमा नै गरिनुपर्छ । एउटै व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था गरिनुपर्छ । यो माग जेनजीको मात्र होइन, आम नेपालीको माग हो । ठूला दलभित्र पनि यस्तो माग छ, शीर्ष नेतृत्वले दबाएको मात्र हो । यही संसदबाट संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नु र त्यसपछि मात्र निर्वाचनको मिति घोषणा गर्नु उत्तम हुन्छ । यस्तै, संविधान संशोधन गरेर सांसदहरूको योग्यतामा ६५ वर्ष ननाघेको र कम्तीमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने व्यवस्था थप्नुपर्छ । तीन पटक सांसद भएको व्यक्ति चौथो पटक उम्मेदवार बन्नलाई रोक्नुपर्छ । यस व्यवस्थाले अनपढ र बुढा पुस्ता राजनीतिबाट पखालिन्छ । त्यस्तै, संविधान संशोधन गरेर संघीय र प्रदेशका सांसद र मन्त्रीहरूको संख्या घटाउन सकिन्छ । लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नक्सा पास गरै झै यी संशोधन वर्तमान संसद्ले छोटो समयमा सर्वसहमतिमा गर्न पनि सक्छ । यो विधि नै लोकतान्त्रिक र वैधानिक हुन्छ । नेपाली र विश्व समुदायले पनि स्वीकार गर्दछ । संविधानमा यस प्रकारका संशोधनपछि निर्वाचन गराउँदा सत्ताबाट बुढापुस्ता बाहिरिन्छ, नयाँ पुस्ता सत्तामा पुग्छ । नयाँ पुस्ताको काँधमा जिम्मेवारी आउँछ । भ्रष्टाचार नियन्त्रण, सुशासन, करको सदुपयोग, रोजगारीको सिर्जना, उच्चदरमा आर्थिक वृद्धि यहीबाट सुरु हुन्छ । जेनजी आन्दोलनको राप र ताप कायमै रहेको अवस्थामा उनीहरुको माग बमोजिम संविधान संशोधन यही संसदबाट सम्भव छ । अहिलेका अधिकांश सांसद संविधान सभाका सदस्य पनि थिए । उनीहरूलाई संविधान बनाउँदाका सबै प्रकारका दवावहरूको अनुभव पनि छ । यो संसद संविधान संशोधन गर्न परिपक्व पनि छ । संविधान संशोधन गरी उल्लेखित काम गर्न सकियो भने नेपालीले ७० वर्ष संघर्ष गरेर बनाएको, हजारौं नेपालीको बलिदान भएको, अर्बौं रुपैयाँ लागत भएको वर्तमान संविधान पनि जोखिन्छ, व्यवस्था पनि जोखिन्छ । नागरिक अधिकारलाई बढाउँदै, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई अगाडि लैजान सकिन्छ । यसबाट जेनजी पुस्ताको पनि जीत हुन्छ, लोकतान्त्रिक गणतन्त्र र संघीयता पक्षधरको पनि जीत हुन्छ । संविधानमा यति संशाेधन नगरी गरिएको चुनावबाट जेनजी पुस्ताले चाहेजस्ताे परिवर्तन हुँदैन । नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक प्रणालीमा अभ्यस्त भइसकेको नेपाली समाजले राजतन्त्र पनि स्वीकार गर्दैन, सैनिक शासन पनि स्वीकार गर्दैन । अराजकतावादीले सिंहदरबार, संसद, अदालतसहित सार्वजनिक र निजी सम्पत्ति तोडफोड गर्न, लुटपाट गर्न र आगजनी गर्ने मात्र हो । यस्तो भीडले दिएको नेतृत्वबाट लोकतन्त्र, असल शासन प्रणाली, विकास अपेक्षा गर्न सकिन्न । जेनजीहरू पुस्ता हो, आगो बालेर मात्र परिवर्तन हुन्न । विवेक प्रयोग गरौं । रचनात्मक ढंगले सोचौं । विज्ञ र अनुभवीहरुको विचार पनि सुनौं । देश जोगाउने र बनाउने कार्यको पनि विधि र प्रणाली हुन्छ । खेल जित्ने लक्ष्य मात्र लिएर हुँदैन । प्रशिक्षक पनि राम्रो हुनुपर्छ । सहि खेलाडीहरूको छनौट पनि अनिवार्य हुन्छ । खेलका नियमहरूको पालना गर्दै पर्याप्त अभ्यास पनि अनिवार्य हुन्छ । यति भयो भने प्रतिस्पर्धामा खेल जितिन्छ ।
सिंहदरबार जल्दासँगै जलेको मेरो मुटु
सिंहदरबार, नेपालको गौरव, इतिहासको साक्षी, हाम्रो राष्ट्रिय पहिचानको जीवन्त प्रतीक। यो केवल इँटा र ढुंगाले बनेको संरचना होइन, यो त हाम्रो मनको आस्थाको केन्द्र हो, हाम्रो देशप्रेमको धड्कन हो। यसभित्र मुल भवन, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, नेपाल टेलिभिजन, रेडियो नेपाललगायतका संरचनाहरू थिए, जुन हाम्रो देशको शासन, सञ्चार र संस्कृतिको आधारस्तम्भ थिए। त्यहाँ नेपाली सेनाको टुकडी तैनाथ थियो। र, सर्वसाधारणलाई प्रवेश गर्न पास चाहिन्थ्यो। तर जब आन्दोलनकारीहरूले आगो लगाए, उनीहरूलाई कुनै पासको आवश्यकता परेन। सबै आगो लगाउने मात्रै भए, निभाउने कोही भएनन्। म, सिंहदरबारको पूर्वी गेट छेउ, रुद्रमती किनारमा डेरा गरेर बस्छु। त्यो दिन आगोको मुस्लो मेरो डेराको झ्यालमै ठोक्किन आइपुग्यो। दिउँसै एक्कासि अँध्यारो छायो। सिंहदरबारसँगै मेरो मन जल्न थाल्यो। यो जलन केवल भौतिक क्षतिको थिएन, यो त हाम्रो विगत, वर्तमान र भविष्यसँग जोडिएको भावनात्मक आघात थियो। आगोको मुस्लोः मनको चीत्कार त्यो दिन म मेरो कोठाको झ्यालबाट रुद्रमतीको शान्त किनार नियाल्दै थिएँ। जब आगोको मुस्लो सिंहदरबारबाट निस्केर सिंहदरबारको पूर्वी गेट नजिकैको मेरो कोठाको झ्यालमै ठोक्कियो, मेरो मनमा एउटा अकल्पनीय पीडाले ठाउँ लियो। दिउँसै अँध्यारो छायो, मानौं आकाश पनि यो विनाशको शोकमा छ। सिंहदरबारको मुल भवन, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, नेपाल टेलिभिजन सबै आगोको लप्कामा डुबे। मेरा आँखाले यो दृश्य देखे, तर मेरो मन यो सत्य स्वीकार गर्न तत्पर थिएन। मलाई सम्झना छ, सानो छँदा मलाई बुवाले सिंहदरबारको कथा सुनाउनुहुन्थ्यो। “यो भवन हाम्रो देशको शक्ति हो, हाम्रो गौरव हो,” उहाँ भन्नुहुन्थ्यो। त्यो भवनले मलाई देशप्रेमको अनुभूति गराउँथ्यो। तर त्यो दिन, जब आगोको मुस्लो मेरो झ्यालसम्म आइपुग्यो, मलाई लाग्यो-हाम्रो गौरव, हाम्रो इतिहास, हाम्रो पहिचान सबै खरानीमा मिसियो। यो केवल भवनहरू जल्नु थिएन, यो त हाम्रा सपनाहरू, हाम्रा सम्झनाहरू र हाम्रो देशको आत्मा जल्नु थियो। मेरो मन भक्कानियो, आँखाहरू आँसुले भरिए। यो पीडा केवल मेरो मात्र थिएन, यो त हरेक नेपालीको साझा दुखाइ थियो, जसले सिंहदरबारलाई आफ्नो हृदयको हिस्सा ठान्छ। स्वार्थको आगो र राष्ट्रको क्षति यो आगलागी कुनै प्राकृतिक विपत्ति थिएन। यो त मानव निर्मित विनाश थियो, जसको पछाडि स्वार्थको कालो छाया लुकेको थियो। प्रधानमन्त्रीले राजीनामा दिइसकेका थिए, आन्दोलनकारीहरूको मुख्य माग पूरा भइसकेको थियो। उनीहरू आफैं राष्ट्रको संरचना जोगाउनुपर्छ भनिरहेका थिए। तर आन्दोलन, जुन जनताको आवाजको प्रतीक हुनुपर्ने थियो, स्वार्थी समूहहरूको हातमा पुग्यो। कसैलाई आफ्ना नेतालाई जेलबाट निकाल्नु थियो, कसैलाई अदालतमा विचाराधीन मुद्दाका प्रमाणहरू नष्ट गर्नु थियो। यी स्वार्थी समूहहरूले आन्दोलनको आडमा आआफ्नो रोटी सेके, तर त्यसको मूल्य हाम्रो देशले चुकाउनुपर्यो। सिंहदरबार, संसद भवन, अदालतहरू, प्रहरी कार्यालय, कारागार सबै खरानीमा परिणत भए। नेपाली सेनाको टुकडी त्यहाँ भए पनि, आगो निभाउने कोही भएन। म आफैं आगो निभाउन जान सकिनँ, कसैसँग गुहार माग्न पनि सकिनँ। मेरो डेराको झ्यालबाट देखिएको त्यो कालो धुवाँले मेरो मनमा निराशाको आँधी ल्यायो। हामीले हाम्रो देशको गौरवलाई कसरी यति सजिलै स्वार्थको भेटी चढाउन सक्यौं ? किन सबै निरिह भए ? सुरक्षा निकाय किन टुलुटुलु हेरिरह्यो ? किन आन्दोलनकारीहरू विचारशून्य भए ? हाम्रो इतिहास, हाम्रा दस्तावेजहरू, हाम्रो पहिचान-यी सबै कसैको व्यक्तिगत स्वार्थका लागि खरानी भए। यो सोचले मेरो मन कटुक्क खायो। हामीले हाम्रो देशको मुटुलाई जोगाउन सकेनौं। यो पीडा मलाई मात्र होइन, हरेक साधारण नेपालीलाई भएको हुनुपर्छ। इतिहासको खरानी र भविष्यको अनिश्चितता यो आगलागीले मलाई २०३० सालको त्यो घटना सम्झायो, जब सिंहदरबारमा पहिलो पटक आगलागी भएको थियो। त्यसबेला सुगौली सन्धिजस्ता अमूल्य कागजातहरू जलेको भनिन्छ। आज फेरि त्यस्तै कागजातहरू-हाम्रो इतिहासका साक्षीहरू-खरानीमा परिणत भए। यी दस्तावेजहरू केवल कागज मात्र थिएनन्, ती हाम्रा पुर्खाहरूको संघर्ष, हाम्रो देशको गौरव र हाम्रो पहिचानका कथाहरू थिए। जब ती आगोमा डुबे, तब मलाई लाग्यो-हामीले हाम्रो इतिहासको एक ठूलो हिस्सा गुमायौं। मेरो मनमा प्रश्नहरूको ताँती उभिन्छस् हामीले कति अमूल्य कागजातहरू गुमायौं? हाम्रो इतिहासका कति पानाहरू सधैंका लागि हराएरु यी प्रश्नहरूले मेरो मनलाई भारी बनाउँछ। हाम्रो भविष्यको पुस्ताले जब इतिहास खोज्नेछ, तब उनीहरूलाई के भन्नेछौं? के हामी केवल मौखिक कथाहरूमा निर्भर हुनेछौ? अब ती अमूल्य कागजातहरू कहिल्यै भेटिने छैनन्। यो सोचले मेरो मनमा एक गहिरो पीडा पैदा गर्छ-हाम्रो इतिहास हराउँदा हाम्रो पहिचान पनि हराउने चिन्ता छ। सिंहदरबारः हाम्रो मुटु सिंहदरबार मेरो लागि केवल एक सरकारी भवन होइन। यो त मेरो बाल्यकालका सम्झनाहरू, मेरो देशप्रेम र मेरो गर्वको प्रतीक हो। यो त्यही ठाउँ हो, जहाँबाट देशको भविष्यको खाका कोरिन्थ्यो। नेपाल टेलिभिजन र रेडियो नेपाल, जसले हाम्रो संस्कृति र समाचारलाई देशभर पुर्याउँथे, ती पनि यहीँ थिए। तर जब ती सबै आगोको चपेटामा परे, मलाई लाग्यो-हाम्रा सपनाहरू सबै खरानी भए। मेरो बाल्यकालको त्यो गर्व पनि खरानीमा मिसियो। यो पीडा व्यक्त गर्न गाह्रो छ, तर यो हरेक नेपालीको मनमा छ, जसले सिंहदरबारलाई आफ्नो हृदयको हिस्सा ठान्छ। सिंहदरबारको भवन पहिले आगलागीमा पर्यो, पछि भूकम्पले क्षतविक्षत बनायो। रेट्रोफिटिङ गरिएको भवन प्रयोगमा नआउँदै जलाएर खरानी बनाइयो। सिंहदरबार जल्दा मेरो डेराको झ्यालमा ठोक्किएको त्यो आगोको मुस्लोले मेरो मनमा गहिरो घाउ बनायो, यो क्षति हाम्रो पुस्ताको लागि लज्जाको विषय हो। हामीले हाम्रो भविष्यको पुस्तालाई के दिनेछौं? खरानीमा मिसिएको इतिहास? यो सोचले मेरो मनलाई भक्कानो छोड्न बाध्य बनाउँछ। तर त्यही घाउले मलाई हाम्रो जिम्मेवारी पनि सम्झायो। हामीले हाम्रो देशको गौरवलाई फेरि उभ्याउनुपर्छ, हाम्रो इतिहासलाई फेरि लेख्नुपर्छ। अब नयाँ पुस्ताले यस्तो संकल्प गर्नुपर्छ। सिंहदरबारको खरानीले मलाई एउटा नयाँ संकल्प गर्न प्रेरित गरेको छ। हामीले हाम्रो इतिहासलाई जोगाउनुपर्छ, हाम्रो सम्पदालाई सुरक्षित राख्नुपर्छ। यो केवल भवनहरू बनाउने कुरा होइन, यो त हाम्रो मनको आस्थालाई पुनर्जन्म दिने कुरा हो। हामीले हाम्रा पुस्ताहरूलाई एउटा यस्तो नेपाल दिनुपर्छ, जहाँ उनीहरूले गर्वका साथ आफ्नो इतिहास पढ्न सकून्, जहाँ उनीहरूले हाम्रो पहिचानलाई जीवित देख्न सकून्। त्यो आगोको मुस्लोले मेरो मनमा गहिरो घाउ बना ए पनि त्यही घाउले मलाई हाम्रो सामूहिक शक्तिलाइ पनि सम्झायो। जेनजी पुस्ता एकजुट हुँदाको शक्तिलाइ सम्झायो । नयाँ पुस्ता जाग्यो भने हाम्रो देशको गौरवलाई फेरि उभ्याउन सक्छौं। रुद्रमती किनारमा बसेर म यो सपना देख्छु-एउटा यस्तो नेपाल, जहाँ हाम्रो इतिहास सुरक्षित रहोस्, जहाँ हाम्रो गौरव सधैं जीवित रहोस्।