द्वन्द्वकालमा गएको नेपाल बैंक फर्किने पर्खाइमा

जागिरे भएपछिको पहिलो पटक बाहिर जाँदै गर्दा बेग्लै अनुभव, सबैले भने आफ्नै घरगाउँमा जाँदै हुनुहुँदो रैछ, बधाई छ ! हो, हुन त, मेरो जन्मथलो हो, हुर्केको गाउँघर हो तर के गर्नु ? यो पनि अब एकादेश भैसकेको थियो मेरा लागि । मनलाग्दा, फुर्सद हुँदा जाने थलो बनिसक्यो मेरो जन्मथलो । मेरो जे छ अब काठमाडौंमै छ । त्यसैले पनि होला आफ्नै जन्मघर आउन पनि सजिलो चाहिँ भएन मलाई । घर छोडेर हिँड्ने अघिल्लो रातको त्यो छट्पटि र पीडा त मलाई थाहा छ । रात बाक्लिँदै जान्छ, निद्रा भने झन् पातलिँंदै जान्छ । के के भुलेँ जस्तो लाग्छ, के छुटे जस्तो लाग्छ । भोलि एक दिनको भए पनि सबै तयारी गरिदिनुपर्छ भन्ने लाग्छ । कपडामा आइरन, जुत्ता, मोजा, टाई, टिफिन, पानी, ब्याग आदि सबै सबै । सबैतिर व्यवस्थापन गर्न कहाँ सजिलो छ र ! म आफ्नो जन्मथलोलाई कर्मथलो बनाउन बिहानको घरका सबै काम सकेर सबेरै नुवाकोटतिर लागेको थिएँ । वास्तवमा म नुवाकोटमै जन्मिएर पनि मलाई मेरो बैंकको शाखा कहाँनिर छ थाहा थिएन । काठमाडाैं सहरभित्रै काम गरेर अनुभव भएको म सहरबाहिरको शाखामा काम गर्नुपर्ने हुँदा नितान्त फरक लागिरहेको थियो मलाई । परिवेश, काम गर्ने शैली, सेवा लिने शैली र दिने शैलीमै फरक लाग्यो । सहरका तुलनामा गाउँका समस्यामा नै फरकपन पाएँ । साह्रै सोझा अनि अशक्त लाग्ने ग्राहकहरू, सेवामूलक कार्यमा समय बढी व्यतीत हुने, समय परिवर्तन भएर कार्डलेसका समयमा आइपुग्दा डिजिटल ज्ञानसमेत कम भएका ग्राहकसँग काम गर्दा ठूलो ठूलो स्वरमा कुरा गर्नुपर्ने, भिडभाड एवम् कोलाहलको माहोल सृजना हुने जस्ता कुराहरूले गर्दा फरक अनि भिन्न ग्राहकहरूको अनुभव गरिरहेको थिएँ मैले । अशक्तहरूका भीडमा शक्तहरू पनि अशक्त बनेर ससाना कुरामा पनि कर्मचारीहरूको भर परेको देख्थें । एकदमै फरक तर बेग्लै अनुभव लाग्थ्यो मलाई ।  कोही समस्यालाई सुस्तरी शान्त भएर सुनाउँछन् त कोही हतासमा रिसाएर सुनाउँछन् तर हामीले धैर्यपूर्वक सुनिदिनुपर्छ अनि बुझेर समाधान पनि निकालिदिनुपर्छ । हाम्रो पेसा नै यस्तै छ, सुन्न सक्ने क्षमता एकदमै हुनुपर्ने । त्यसैले पनि हाम्रा बुढापाकाहरूले भन्नुहुन्छ नि– कम बोल्नु, धेरै सुन्नु । सुन्न सक्ने बानीले समस्यालाई बुझ्न सक्छौँ र सुल्झाउन पनि किनकि ठाउँ, परिवेश, समय र उमेरसँगै फरक फरक कथा, व्यथा र समस्या अनि सुनाउने र बुझाउने शैली पनि फरक फरक ।  नेपाल बैंकको महत्त्वपूर्ण के रैछ भन्ने कुरा सहरका शाखाहरूबाट भन्दा यस्ता गाउँमा भएका शाखाहरूबाट थाहा हुने रैछ । नेपाल बैंकप्रतिको लगाव, तछाडमछाड अनि भिडमभिडले स्पष्ट हुन्छ कि नेपाल बैंकप्रतिको आस्था र विश्वास कति अटल र अटुट छ भन्ने कुरा । जति नै भिड किन नहोस्, बरु नेपाल बैंकमै बास बस्न तयार हुन्छन्, एक हप्ता धाउन तयार हुन्छन् तर बैंक छाडेर जाने कुरा कहिल्यै गर्दैनन् । छोराछोरीले घुर्काए जस्तो गाह्रोसाह्रोमा घुर्काउन थाल्छन् तर नराम्रो सोच्दैनन्, गाली पनि गर्दैनन् । कति सादा र सरल व्यवहार उहाँहरूको । हाम्रा यिनै इमान्दार एवम् सोझा ग्राहकहरू नै नेपाल बैंकको पहिलो बलियो आधार हुन् भन्दा खासै फरक नपर्ला । यस्ता प्रकारका हाम्रा ग्राहकहरू जोगाइराख्नु नै हाम्रो पहिलो कर्तव्य पनि हो जस्तो लाग्छ । पेन्सन अनि सामाजिक सुरक्षा भत्ताका ग्राहक जोगाउनु बैंकको पहिलो कर्तव्य हो जस्तो लाग्छ मलाई जसले बैंक रहेसम्म स्वेच्छाले साथ दिइरहन्छन् । कस्ता कस्ता ग्राहक हुन्छन् सायद कमैले कल्पना गर्न सक्छन् ।  एक दिन एकजना आमा मेरो रूममा आएर भुइँमा टुसुक्कै बस्नुभयो । हातमा एउटा बोराको पोको थियो । पछि थाहा भयो कि उहाँको एफडी खाता रैछ । आज सकिने भनेर उहाँको दिमागमा बसेको रैछ, अनि हतार-हतारमा बैंक आउनुभएको रहेछ । उहाँको ३० लाख रकम बैंकमा जम्मा थियो, फेरि थप गर्न भनेर २० लाख बोरामा राखेर आउनुभएको थियो, कल्पना पनि गर्न नसकिने । आफ्ना कागजात ५ वटा खामभित्र स्टिच लगाएर सुरक्षित राख्नुभएको थियो । मलाई कागजात निकाल्नै १५ मिनेट लागेको थियो । जति गाढा आस्था उति गहिरो विश्वास नेपाल बैंकसँग । हाम्रो नेपाल बैंकका ग्राहकहरू यस्तै नै हुन्छन्, सोझा अनि सादा । यही नै नेपाल बैंकको जग हो । जबसम्म ग्राहकहरू हाम्रा साथमा रहन्छन् तबसम्म हामी रहन्छौं साथै जबसम्म नेपाल बैंक रहन्छ तबसम्म साथ दिइरहन्छन् हाम्रा यस्ता ग्राहकहरूले । एक दिन एक जना ८२ वर्षको बाजे आउनुभयो बैंकमा । उमेरले ८२ तर उहाँ एकदमै भरिलो, रसिलो र तगडा देखिनुहुन्थ्यो । कान भने कम सुन्नु हुँदो रैछ, अलि बेस्सरी बोल्नुपर्ने । उहाँले धेरै वर्ष पहिले कर्जा लिएको रे १० लाख रुपैयाँ । अनि चुक्ता पनि उही छोटो समयमै गर्नुभएको रैछ । तर फुकुवा नगरी बस्नुभएको रैछ जग्गा । पुरानो फाइल भएकाले हामीलाई त्यो जग्गा फुकुवा गर्नका लागि प्रक्रिया पूरा गर्न समय पनि लाग्यो अनि अलि सजिलो पनि भएन । अनि मैले किन यति लामो समय राख्नुभएको फुकुवा नगरी भनेर सोधेको त उहाँको जवाफ सुनेर म छक्क परेँ । नेपाल बैंकमा राखेपछि ढुक्क हुन्छ किनभने यहाँबाट कतै हराउन्न भनेर उहाँले भन्दा म छक्क परेँ । न चोरीको डर न सन्तानले खालान् भन्ने डर भन्दै हँसाउनुभयो । ग्राहकहरूबाट थाहा हुन्छ हामीलाई उहाँहरूको नेपाल बैंकप्रतिको अथाह विश्वास ।  पेन्सन लिन आउने समय र चाडपर्वका समयमा हामीले राम्रो सेवा दिन सक्नु पनि कर्मचारीको एक परीक्षा जस्तो हुन्छ । सामान्य अवस्थामा त गर्न सकिन्छ अनि त्यति साह्रो खटिनु नपर्ला तर भीडभाड अनि चाडपर्वमा छिटो छरितो अनि राम्रो सेवाको अपेक्षा गर्नु उहाँहरूको अधिकारको कुरा पनि हो । हामी हरेक कर्मचारीले यस्ता कुरामा ध्यान दिन सकेमा पनि हाम्रो सेवालाई उत्कृष्ट बनाउन सहयोग पुग्दछ । एक त हामी प्रत्येक कर्मचारीले आफूलाई आफ्नो कामको, आफ्नो डेस्कको अनि आफ्नो कर्तव्यको बोस मानेर समयमै उचित निर्णय लिई सेवा दिन सक्नुपर्छ भने अर्कातिर भिडभाड अथवा असमान्य अवस्थामा आफूसम्म आइपुगेका ग्राहकलाई आफैले सेवा दिई काम निम्टाइदिने, उसको र फलानोको भनेर नपन्छाइदिने अनि अर्को फाँट नदेखाइदिने, एउटा साथीसँग रिसाइरहेको र डिसकस परिरहेको ग्राहकलाई हेरेर सुनेर बस्नुभन्दा अवस्था हेरेर फरक अनि समझदारीको वातावरण सृजना गर्न सहयोग गरिदिने, यस्ता हाम्रा स-साना सहयोगी भावले एकातिर ग्राहकले सहज वातावरणको अनुभव गर्न थाल्छन् भने कार्यालयमा कर्मचारीहरूमा कामको प्रेसर कम अनुभूति हुने, कर्मचारी साथीहरूमा सौहाद्र भावको सृजना हुन जाने हुँदा यसले अन्ततः ग्राहकले पनि प्रत्येक कर्मचारीलाई विश्वास गर्न सक्ने वातावरण बन्छ । यसरी नै हामी प्रत्येक कर्मचारी प्रत्येक ग्राहकको विश्वासिलो एवम् भरपर्दो बन्न सक्नुपर्छ । यो पनि प्रत्येक कर्मचारीका लागि एउटा चुनौती बन्दै गइरहेको छ जस्तो लाग्छ । नेपाल बैंकका तत्कालीन ३ वटा शाखा यसै शाखामा गाभिई सेवा प्रदान गर्दै आइरहेको यस शाखामा पेन्सन तथा सामाजिक सुरक्षा भत्तालगायतका सेवा प्रदान गर्दा ग्राहकको भीडभाड अत्यधिक हुने, कतिपय ग्रामीण भेगका र वित्तीय साक्षरताको कमै ज्ञान भएका विशेष गरी कृषक, ज्येष्ठ नागरिक र शारीरिक रूपले दुर्बल अवस्थाका ग्राहकलाई सेवा प्रदान गर्दाका अवस्थामा हामीले नरिसाई, झन्झट नमानी सहज तरिकाले सेवा दिने वातावरण सृजना गर्न सक्नु नै चुनौती बन्न जान्छ । आएका ग्राहकलाई सन्तुष्ट बनाएर फर्काउन सक्नु नै शाखाको ठूलो उपलब्धि मानिन्छ ।  अधिकांश गृहिणी दिदीबहिनीहरू भने खाली हात नबसेको पनि पाइयो । पेवा तथा खेती किसानी गर्दै बैंकमा पैसा जम्मा गर्न आउने, आफ्नो सिप एवम् कलाका सामान अनि करेसाबारीका अर्गानिक कृषिका सामानहरू बेचेर राम्रै आम्दानी गरेको पनि देखियो । यो अवसर पनि हो उहाँहरूका लागि । सामूहिक रूपमा स्थानीय तहमा आयोजना गरिने विभिन्न घरेलु तथा हस्तकलाका साथै विभिन्न सृजनशील कलासम्बन्धी तालिम लिनु, यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउनु, विभिन्न समूहहरूको प्रतिनिधित्व गर्नु अनि समसामयिक विषयमा चासो राख्नु जस्ता विविध कार्यहरूमा व्यस्त रहनु नै उनीहरूको दिनचर्या रहेको छ भने के कसो गर्दा गाउँघरको राम्रो हुन्छ त्यो आफै सोच्न सक्ने बन्नु दिदीबहिनीहरूका लागि यो राम्रो उपलब्धि पनि लाग्यो भने अहिलेको समयमा गाउँघरको समस्या भनेको युवापुस्ताको सङ्ख्यामा कमी आउनु, गाउँघरमा बिरलै युवायुवतीको बसोबास हुनु र सङ्ख्यात्मक हिसाबले ज्येष्ठ नागरिकहरूको बाहुल्य हुनु हो ।  गाउँघरमा गइयो भने बुढाबुढी अनि विदेशमा रहेका छोराछोरीका सन्तान स-साना नातिनातिनाभन्दा अरू भेटिन्नन् । बैंक टाढा हुनु, सहयोगका लागि सहयोगी युवा हातहरू साथमा नहुनु, बुढेसकालमा बुबाआमाहरू एक्लो जीवन बाँच्नुपर्ने अवस्था अहिले गाउँघरको तीतो यथार्थ बन्न पुगेको छ । त्यसैले पनि समस्यामाथि समस्या थपिएको हो । सवारी साधनमा ल्याइदिने मान्छे छैनन्, सार्वजनिक साधनको भर पर्नुपर्छ, यसो गरिदेऊ न भनेर पठाउने मान्छेको अभाव छ, जता गए पनि बुढाबुढी भएको बुबाआमा नै अघि लाग्नुपर्छ । युवाहरू गाउँबाट बेँसी, बेँसीबाट सहर, सहरबाट विदेश जाने क्रम घट्दो होइन, बढ्दो रूपमा देखिन्छ । यसकारण पनि गाउँबाट आउनुपर्ने आमाबुबालाई बैंकिङ कारोबार गर्न समस्या भएको हो । फोन गर्न सक्नुहुन्न, भनेको बुझ्नुहुन्न, डिजिटल ज्ञान छैन । जसले गर्दा बैंकिङ कारोबारमा असहज भएको देखिन्छ । त्यसैले पनि अहिलेको समयमा गाउँघरमा बैंक खाता बढाउन सक्ने अवस्था नभए पनि भएका खाताहरूलाई जोगाउन सक्नु नै सफल मान्नुपर्ने अवस्था आएको छ । यी सब कुरा भनिरहँदा कथा जस्तो लाग्न सक्छ तर वास्तवमा आजको गाउँघरको तीतो यथार्थ यही हो ।  यस्तैमा एक दिन गेटसम्म आइदिनुपर्‍यो म्याडम, मैले मान्छे लगाएर बोकाएर ल्याएको छु आमालाई भन्दै एकजना पाको अर्थात् बुबाको उमेरको व्यक्ति आउनुभयो । म गएँ, उहाँको शारीरिक अवस्था अनि बिरामी भई अशक्त अवस्थामा आफ्नै खाताको पैसा झिक्न पनि कति गाह्रो, बैंकमा राखिएको आफ्नै पैसा पनि एक प्रकारको घाँडो बनेजस्तो आभास भयो मलाई, उहाँलाई देखेर । लामो समयदेखि उहाँको पैसा निकाल्न केही बैंकिङ नियम मिलिरहेको थिएन, त्यसैले उहाँले आफैँ आउनुपरेको थियो । भित्र आउन सक्नुभएन अनि आउन पनि मान्नुभएन । बाहिरै बसेर कुरा गर्न खोजेको देखेर मैले उभिएर नै कुरा गरें । उहाँको पहिलो शब्द नै आम्मै म जस्तै केटी मान्छे रैछ नि हाकिम त, उहाँको मुहारमा एक प्रकारको आशाको उज्यालोपन देखें । सायद उहाँलाई समस्या मैले बुझिदिन्छ भन्ने पनि लाग्यो । उहाँले नेपाल बैंकमा खाता कसरी खोलियो अनि किन नेपाल बैंक छोड्न सकिएन, सबै खासखुस खासखुसमै भन्दै जानुभयो । म कतिपय शब्द बुझ्दिनथें तैपनि ओठको लवजमै बुझ्ने कोसिस गर्दै गएँ, उहाँ आफै पनि कतिपय कुरा दोहोर्‍याई तेहेर्‍याई भन्नुहुन्थ्यो । बोली प्रस्ट छैन तैपनि मनभित्र गुम्सिएर बसेका धेरै धेरै कुरा सुनाउन चाहनुहुन्थ्यो । आँखामा रोशनी थिएन तैपनि मलाई राम्ररी नियाल्न खोज्दै हुनुहुन्थ्यो । आँखामा भएका आँसु सुकेर सुक्खा भैसकेका थिए, शब्द शब्दमा मन भकानिथ्यो, मन रुन्थ्यो तर सुक्खा आँखाले साथ दिँदैनथ्यो । हामी जस्ता अनपढ, सोझा अनि गाउँघरका सबैको नजिकको साथी जस्तो थियो नेपाल बैंक । खै, कता हरायो, कता गयो भन्दै लामो सास तान्नुभयो।  बेग्लाबेग्लै नौवटा स्थान जनाउने नौ कोटहरू बुझाउने शब्दहरूबाट बनेको शब्द अपभ्रंश भएर बनेको नुवाकोट जिल्ला रमणीय मात्र होइन यसको आफ्नै ऐतिहासिक विशेषता पनि छ । नेपाललाई सार्वभौम सम्पन्न मुलुक बनाउन राजा पृथ्वीनारायण शाहले युद्धमा प्रयोग गरेको महत्त्वपूर्ण ऐतिहासिक जिल्ला मानिन्छ नुवाकोट । काठमाडौंबाट नजिक रमणीय र एक अलग ऐतिहासिक विशेषता रहेको यस जिल्लालाई सेरा दरबार, सात तले नुवाकोट दरबार, भैरवी मन्दिर अनि दुप्चेश्वर मन्दिरले अझ थप परिचित बनाएको देखिन्छ ।  काठमाडौंबाट नजिक मानिने यो जिल्ला पर्यटकीय रूपमा पनि विकसित हुँदै गइरहेको देखिन्छ भने नजिक र कम दूरीमा रहेको शाखाका रूपमा लिइन्छ त्रिशूली शाखालाई । द्वन्द्वकालभन्दा अघि नुवाकोटमा नेपाल बैंकका देउराली शाखा, ढिकुरे शाखा, चोकदे शाखा र त्रिशूली शाखासमेत गरेर जम्मा चार शाखा थिए । जसबाट हाम्रा ग्राहकहरूले राम्रै सेवा सुविधाहरू लिइरहेका थिए । सशस्त्र द्वन्द्व चलिरहेका समयमा यी सबै शाखाहरू हटाइए अनि एउटै शाखाका रूपमा त्रिशूली शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । अहिले पनि नुवाकोटका धेरै टाढाका ठाउँहरू घ्याङफेदी, भाल्छे, मेदान र उर्लिनी जस्ता ठाउँबाट ग्राहकहरू सेवा लिन आउनुहुन्छ । के गाउँ, के सहर, के सिधासादा, के बाठा, सबै प्रकारका ग्राहकहरूको भिड नेपाल बैंकको यस शाखामा हुने गरेको पाइन्छ । यहाँ आउने सबै ग्राहकहरूको एउटै इच्छा हुन्छ, विनाझन्झट छिटोछरितो सजिलै काम होस् अनि कर्मचारीको व्यवहार पनि सद् भावपूर्ण होस् । यसकारणले नै आमाको पनि यही इच्छा पनि हो अनि आमाको भावानात्मक सम्बन्धसँग जोडिएको, एक प्रकारको गहिरो अटूट आस्थाले भरिएको पनि थियो ‘नेपाल बैंक । नुवाकोटको सबैभन्दा ठूलो गाउँपालिका सूर्यगढी गाँउपालिकालाई सेवा दिने नेपाल बैंकको चोकदे शाखा पुनःस्थापना हुन सकेन । द्वन्द्वकालमा गएको नेपाल बैंक कहिले आउँछ, म पर्खाइमा छु नानी भन्नुभयो आमाले मसँग । श्रीमान् आर्मी हुनुहुन्थ्यो । छोरा फार्मेसी पढेर गाउँमै सानो औषधि पसल गर्दै थियो । म घर सम्हाल्थें । लामो कथा छ तर एउटै शब्दमा भन्नुपर्दा दुवैले नेपाल आमाका लागि ज्यान दिए । म एक्लो भएँ । पछि सरकारले दिएको पैसा लिन मैले यस नेपाल बैंकमा खाता खोलेँ । हुन त म पटक पटक नेपाल बैंक श्रीमान्सँग आइरहेकी हुन्थँे तर मेरा नाममा खाता थिएन । मेरा श्रीमान्को निधनले नेपाल बैंकमा सुरु भएको मेरो खाता तर मलाई खाताभन्दा पनि नेपाल बैंक प्यारो लाग्छ । यस बैंकमा आएपछि त्यतिबेलाका सम्झनाहरू ताजा हुन्छन् मेरा स्मृतिमा । नेपाल बैंकमा जाँदा धेरै कुरा सोध्न मन लाग्थ्यो अनि उहाँ व्यस्त भएका बेला म गार्डलाई अनि त्यहाँ सरसफाइ गर्ने बहिनी थिइन् उनैसँग सबै कुरा सोध्थें । एक दिन मलाई उहाँले खुब चासो लिएकी छौ त तिम्रो नाममा पनि खोलिदिन्छु नि खाता, त्यसमा म केही पैसा राखिदिन्छु अनि तिमी बाख्रा र कुखुरा खुब पाल्नु अनि मेरो पेवा भन्दै बेचेर पैसा धेरै बनाउनु भनेर भन्नुभएको थियो । त्यो त सपना नै रह्यो मेरो । औषधि पसल पनि छोड्नुपर्‍यो । चोकदेमै खोलेको थिएँ खाता, त्यसको केही समयपश्चात् बैंक गाउँबाट सरेर सहर गयो, पछि फेरि आउँछ भन्नुहुन्थ्यो तर कहिल्यै आएन । हामी जस्ता अशक्तहरूलाई धेरै गाह्रो भयो । निल्नु नओकल्नु भयो । यति टाढा छ बैंक आउन । त्यो बैंक फेरि ल्याउन मिल्दैन र ? कसलाई भन्नुपर्ने हो नानी ? सरकारले किन यस्तो हामीहरूको पीडा नबुझेको ? हामी जस्ता अशक्तहरूको गुनासो पनि सुन्ने ठाउँ छ र भनेको ? ए नानी ! ल न भन्दिनुपर्‍यो सरकारलाई । मेरो भदो छोरा हो यो, न मैले अधिकार दिन मिल्छ, न आफै आइरहन सक्छु । एक त साधन पनि समयमा पाइन्न अनि दिन नै माया मारेर आउनुपर्छ । एक पटक त म यतै बास बस्नुपरेको नि नानी । लोकल गाडी हिँडिसकेछ अनि यतै बास बस्नुपर्‍यो तर म आफन्तकहाँ गएर बसेँ । एक हजार रकम लिन आउन पाँच सय खर्च गर्नुपर्छ नानी । घर नजिकै अरू दुईटा बैंक छन् छ न त तर जान मन लाग्दैन मलाई ती बैंकमा । किन किन यही बैंकसँग मेरो आत्मीयता छ अनि बढी विश्वास पनि । तर नानी मलाई यहाँसम्म पटक-पटक आइरहन नपर्ने गरी मिलाइदिनु प¥यो भन्दै व्यथा पोख्दै भन्नुभयो, ‘अब त आउनुपर्ने हो, फर्किनुपर्ने हो, लामो समय भयो क्यार आउँछु भनेर गएको हो । सबैले भन्छन् आउँछ, हाम्रो गाउँमा नेपाल बैंक फेरि आउँछ । मलाई विश्वास छ नानी नेपाल बैंक म नमर्दै फर्केर मेरो गाउँ आउँछ, म पर्खाइमा हुनेछु ।’’ (लक्ष्मी पण्डित नेपाल बैंककी उपप्रबन्धक हुन् ।)

हल्ला धेरै र प्रक्रिया शून्यको ‘विशेष महाधिवेशन’

पछिल्ला केही महिनादेखि नेपाली कांग्रेसभित्र एकैछिन पनि नछुट्ने गरी फैलिएको शब्द हो ‘विशेष महाधिवेशन’ । पार्टीको तल्लो तहदेखि शीर्ष नेतृत्वसम्म, सामाजिक सञ्जालदेखि चिया पसलसम्म, राजनीतिक गोलचक्करदेखि सर्वसाधारण कार्यकर्तासम्म सबैको प्रश्न समान छ, ‘कांग्रेसको विशेष महाधिवेशन साँच्चै हुन्छ ?’ र, यो प्रश्नको उत्तर त्यति सरल छैन । विधानको व्यवस्था, बैठकका नोट र पार्टी नेतृत्वका संकेतहरू हेर्दा विशेष महाधिवेशनको हल्ला राजनीतिक रूपले ठूलो भए पनि कानुनी रूपमा झिनो र व्यवहारिक रूपमा असम्भव जस्तै देखिन्छ ।   पार्टीभित्रको असन्तुष्टि र नेतृत्वप्रति प्रश्न विशेष महाधिवेशनको चर्चा अचानक उठेको होइन । पार्टीभित्र केही नेताहरू लामो समयदेखि नेतृत्वप्रति असन्तुष्ट छन् । संगठन विस्तार ढिलो भएको, शीर्ष नेतृत्वले युवालाई स्थान नदिएको, जनसंगठनहरू कमजोर हुँदै गएको र पार्टीको आफ्नो ऐतिहासिक धार खस्किँदै गएको आरोप ती नेताहरूले बारम्बार लगाउँदै आएका छन् । पार्टीका केही युवा र मध्यम स्तरका नेताहरु भन्छन्, ‘कांग्रेसले दिशाहीनता भोगिरहेको छ । दिशाहिनताको अन्त्यका लागि सांगठनिक पुनर्संरचना अत्यन्त जरुरी छ ।’ उनीहरूले नै समाधानका रूपमा विशेष महाधिवेशनको माग समेत अघि सारेका हुन् । तर, प्रश्न उठ्छ– के विशेष महाधिवेशन नेतृत्व परिवर्तनको उपाय हो ? पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशनको माग गर्न सकिन्छ । यो धारा उल्लेख भएपछि धेरैलाई लाग्यो, विशेष महाधिवेशन बोलाउन सकिन्छ। तर, यथार्थ सोचेभन्दा अलि फरक थियो । धारा १७ को उपधारा २ मा विशेष महाधिवेशन बोलाउन सकिने उल्लेख छ । तर, यसलाई सक्रिय बनाउने प्रक्रिया, नियमावली, प्रारूप, हस्ताक्षर प्रमाणीकरण विधि सबै निर्माण हुन बाँकी छ । केन्द्रीय कार्यालयमा भेटिएका एक पदाधिकारीले पंक्तिकारसँग भने, ‘विधानले विशेष महाधिवेशनको ढोका त खोलेको छ । तर, खोलिएको ढोकाबाट प्रवेश गर्ने बाटो नै बनाइएको छैन ।’ ‘यसैले धारा १७ को २ राजनीतिक रूपमा चर्चित भए पनि व्यवहारमा कार्यान्वयन अयोग्य धारा बनेर बसेको छ,’ ती पदाधिकारीले भने । अर्कातर्फ हस्ताक्षर संकलनको अभियान राजनीतिक रूपमा सक्रिय र कानुनी रूपमा निष्क्रिय रहेको वरिष्ठ अधिवक्ताहरूको मत छ । उनीहरू भन्छन्, ‘बाहिर चर्चा चलेजस्तो फलानाले यति हस्ताक्षर जुटाए, फलानाले यति हस्ताक्षर बुझाए भन्ने यो राजनीतिक हल्ला मात्रै हो ।’ के ती हस्ताक्षर वैधानिक रूपमा दर्ता भएका छन् ? ती वरिष्ठ अधिवक्ताहरूको जवाफ छ– ‘अहिलेसम्म होइन ।’ उनीहरू राजनीतिक रूपमा हस्ताक्षर वैध हुन् तर तिनलाई कानुनी वैधता दिन प्रमाणीकरण आवश्यक पर्छ । त्यसका लागि प्रमाणीकरण समिति चाहिन्छ, अभियोग- जाँच संरचना चाहिन्छ, हस्ताक्षर मिलान विधि चाहिन्छ ।  दर्ता संख्या र सदस्यतामा मिलान गर्नुपर्ने हुन्छ । यी कुनै पनि प्रक्रिया कांग्रेसमा निर्माण भएका छैनन्  । यसैले अहिले संकलित भनिएका हस्ताक्षरहरू राजनीतिक दवाबका संकेत मात्र हुन्, कानुनी कागजात होइनन् । अहिले सबैभन्दा ठूलो भ्रम विशेष महाधिवेशनले सभापति हटाउन सक्छ ? भन्ने हो । कांग्रेसको विधान पढ्दा तुरुन्तै स्पष्ट हुन्छ कि विशेष महाधिवेशनले सभापति हटाउन सक्दैन । धारा १७ को २ को दायरा संगठन, नीति वा महत्त्वपूर्ण मुद्दामा निर्णय लिन सीमित छ । तर, नेतृत्व परिवर्तनको अधिकार विधिले अर्को ठाउँमा राखेको छ । त्यो हो धारा ४४ को अविश्वास प्रस्ताव सम्बन्धी व्यवस्था । कानुनी विशेषज्ञहरू भन्छन्, ‘विधानमा स्पष्ट रूपमा कहाँ अधिकार छ, कहाँ छैन, त्यो बुझ्नुपर्छ ।’ सम्बोधन नभएको अधिकारले कुनै निकायमा कार्य गर्न मिल्दैन । त्यसैले विशेष महाधिवेशनलाई नेतृत्व हटाउने उपायको रूपमा प्रस्तुत गर्नु कानुनी भ्रम फैलाउने प्रयास मात्र हो । धारा ४४ नेतृत्व हटाउने एउटा मात्र वैधानिक बाटो हो । यदि कांग्रेसमा सभापति वा पदाधिकारी हटाउनुपर्ने आवश्यकता आउँछ भने विधानले एउटा मात्र बाटो दिएको छ, त्यो हो अविश्वास प्रस्ताव । यसमा दुई–तिहाइ समर्थन आवश्यक हुन्छ । केन्द्रीय कार्यसमितिमा औपचारिक प्रस्ताव टेबल हुनुपर्छ  । कारण स्पष्ट हुनुपर्छ । बहस–छलफल आवश्यक हुन्छ । खोज्दै जाँदा अहिले यस्तो कुनै प्रस्ताव दर्ता भएको छैन । त्यसैले नेतृत्व परिवर्तनको वैधानिक बाटो अहिले सक्रिय छैन । सभापतिले राजीनामा दिए मात्र विशेष महाधिवेशन सम्भव हुने धारा २६ को व्यवस्था रहेको छ । यसमा धारा २६ एकदमै स्पष्ट छ । सभापतिले स्वेच्छिक रूपमा राजीनामा दिए भने पनि त्यो राजीनामा केन्द्रीय कार्यसमितिले स्वीकृत ग‍र्‍यो भने मात्र ६ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाइन्छ र नयाँ सभापति चयन हुन्छ । अहिले यस्ता कुनै संकेत छैनन् । सभापति स्वयंले आगामी निर्वाचनका लागि भूमिका सक्रिय रूपमा पहिल्यै तयार गरिसकेका छन् । यसैले धारा २६ मा आधारित विशेष महाधिवेशनको सम्भावना शून्य छ । टेबलबिनाको विशेष महाधिवेशन  कांग्रेसको केन्द्रीय कार्यसमितिको कुनै पनि बैठकमा विशेष महाधिवेशन वा नेतृत्व परिवर्तनको कुनै आधिकारिक प्रस्ताव दर्ता भएको छैन । छलफल भएको छैन, टेबलमा प्रस्ताव पुगेको पनि छैन । एक केन्द्रीय पदाधिकारीका शब्दमा हल्ला बाहिर धेरै छ । टेबल हुनुपर्ने केन्द्रीय समितिमा भने कुनै प्रस्ताव छैन । कानुनी रूपमा प्रस्ताव दर्ता नभएसम्म प्रक्रिया सुरू भएको मानिँदैन । आम निर्वाचन नजिकिँदै गर्दा कांग्रेसको प्राथमिकता नेतृत्व परिवर्तन होइन । नेपाली कांग्रेसले २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ । चुनाव अब टाढा छैन । यस अवस्थामा पार्टीले गर्नुपर्ने संगठन सुदृढीकरण, उम्मेदवार छनोट, गठबन्धनको सम्भावना र जनसंगठनको सक्रियता हो । चुनावको पूर्वसन्ध्यामा नेतृत्व परिवर्तन वा विशेष महाधिवेशन बोलाउने भन्नु युद्ध सुरु भएपछि सेनापति परिवर्तन गर्नुजस्तै हो ।  राजनीतिक तर्क भर्सेज कानुनी आधार विशेष महाधिवेशन माग्ने पक्षले धेरै राजनीतिक तर्क दिन्छ । उसको मत छ नेतृत्व कमजोर छ, संगठन सुस्त छ, युवालाई स्थान छैन, कांग्रेस दिशाहीन बन्दैछ । यो इतर पक्षको आवाज हो । असन्तुष्टि वास्तविक हो । तर, समस्या के छ भने यी सबै तर्क राजनीतिक हुन्, कानुनी होइनन् । विशेष महाधिवेशन वा नेतृत्व हटाउने प्रक्रिया राजनीतिक असन्तुष्टिले होइन, विधानले चलाउँछ । असन्तुष्टि नेतृत्व हटाउने आधार होइन, अविश्वास प्रस्ताव मात्र हटाउने विधि हो । अहिले कसैले पनि धारा २६ बारे छलफल गरेकै देखिँदैन । समग्र विश्लेषणले एउटै निष्कर्ष दिन्छ– विशेष महाधिवेशन अहिले न कानुनी रूपमा सम्भव छ, न राजनीतिक रूपमा उपयुक्त छ । न त व्यावहारिक रूपमा पार्टीले विशेष अधिवेशनको बोझ झेल्न सक्ने अवस्था छ । विधानका हर प्रावधानले स्पष्ट भन्छन् कि विशेष महाधिवेशनको हल्लालाई विधानले पनि चिनेको छैन । धारा १७ को २ ले बाटो खोलेको छैन, धारा ४४ सक्रिय छैन, धारा २६ को अवस्था आएको छैन ।  केन्द्रीय कार्य समितिमा प्रस्ताव दर्ता नै छैन । यसैले विशेष महाधिवेशनको बहस अहिले कांग्रेसभित्र राजनीतिक हल्लाभन्दा धेरै होइन । नेतृत्व परिवर्तनका वास्तविक प्रक्रियाहरू सक्रिय नभएको र निर्वाचन आयोगमा सभापति देउवाकै हस्ताक्षरसहितको नेतृत्व दर्ता गरिएकोले अब कांग्रेस विशेष महाधिवेशनको लिकबाट बाहिरिइसकेको देखिन्छ ।

जेनजी विद्रोह, ‘प्रिगनेन्ट’ कांग्रेस र जनअपेक्षा

जेनजी विद्रोहको साढे २ महिना पुग्न लाग्दा नेपाल राजनीतिक दिशाहिनताको घनघोर क्षणबाट गुज्रिरहेको छ । शासन व्यवस्था झन् अस्थिर हुँदैछ, आर्थिक सूचकहरू अवनति उन्मुख छन्, लगानीमा उत्साह नहुँदा बैंकमा पैसा थुप्रिँदैछ र जनताको भरोसा लगातार खस्किँदैछ । यस्तो बेला देशले विश्वसनीय, अनुशासित र वैचारिक आधार भएको राजनीतिक दल र अहिलेको अन्यौलको भूमरीबाट उकास्न सक्ने नेतृत्व खोजिरहेको छ । तर विडम्बना, ठिक यतिखेर देशका प्रमुख पार्टी दिशाहीन जस्तै देखिएका छन् भने पछिल्लो विद्रोहको सुत्रधार जेनजी पुस्ता पनि तितरवितर भएर चौबाटोमा छ ।  त्यसो त हरेक खाले आन्दोलन वा विद्रोहपछि क्षणिक आशा पलाउने अनि केही समयमै त्यो निराशामा बदलिने नेपाली नियति नै बनिसकेको छ । यसपालि पनि कम्तिमा अहिलेसम्मको घटनाक्रम हेर्दा योभन्दा भिन्न हुने अपेक्षा गर्न सकिने आधार तय भएका छैनन् । दुई ठूला दलको सत्ता सहवास केपी शर्मा ओली र शेरबहादुर देउवाको कुर्सी दौडमा मात्र सीमित भएपछि गत भदौको विरूप विद्रोह जन्मिएको जगजाहेर नै छ । दुई तिहाइको जनमत एक ठाउँमा आउँदा जुन ऐतिहासिक रूपले परिवर्तन वा सुधारका लागि प्रयोग हुन सक्थ्यो, त्यो ‘सत्ता गणित’मा सीमित हुँदा उनीहरू सडकमा पछारिए भने देश र जनता अँध्यारोमा फसेका छन् ।   नेपालको सबैभन्दा पूरानो र प्रमुख राजनीतिक परिवर्तनमा नेतृत्व दिएको ऐतिहासिक पार्टी नेपाली कांग्रेस आफ्नै आन्तरिक गतिरोधमा झण्डै २ महिना कैद भयो । यद्यपि ढिलै भए पनि उसले फागुनमा तोकिएको आम चुनावमा जाने परिपक्व निर्णय लिएको छ । साथै उसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेका बेला सबैले सहकार्य गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । फागुनमा तोकिएको चुनाव होला कि नहोला भन्ने आशंका बढिरहेका बेला कांग्रेसको डेढ महिना चलेको केन्द्रीय समितिको बैठकको यो निर्णयले आमचुनावको माहोल खडा गर्ने अपेक्षा गर्न सकिन्छ । किनभने कांग्रेसले ताजा जनादेशमा जाने कित्ता समाउने बित्तिकै एमाले अब चुनावमा लतारिने पक्का छ । बाँकीले चुनावमा जाने बताइसकेकै छन् । यो निर्णय सँगै कांग्रेसले फेरि एकपटक आफूलाई नेपाली राजनीतिको परिपक्व अभिभावकमा दर्ज गरेको छ ।  तत्कालीन सत्ताको नेतृत्व सम्हालेको नेकपा एमाले भाद्र २३ र २४ मा केही नभए जस्तो गरेर सडक र बोलीमा रमिता देखाइरहेको छ । ‘सत्ता हुँदा पनि भर नभएको र सडकमा हुँदा पनि डर भएको’ पार्टीको छवि बनाउन एमाले उद्यत रहेको टिप्पणी गर्न थालिएको छ । तर, उ सके संसद् पुनःस्थापना गराउने नसके चुनावमा होमिने गरी आन्तरिक तयारीमा जुटिसकेको छ । अर्को दल तत्कालीन माओवादी केन्द्रका चतुर अध्यक्ष तथा हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पनि पूरानो रक्सी नयाँ बोतलमा भरेर ‘मार्केटिङ’ सुरु गरिसकेका छन् । बाँकी दलहरूको त संरचना नै अस्थायी, आधार नै क्षणभंगुर हुँदा भरोसा गरिहाल्ने आधार बनेको देखिँदैन ।  पछिल्लो ८० वर्षमा नेपालका प्रमुख राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको पार्टी कांग्रेसले आफ्नो ‘स्ट्याण्ड क्लियर’ गर्न निकै ढिलो गर्यो । खासगरी यो पार्टीका दोस्रो पुस्ताका नेताको पहल र सकृयताले परिवर्तन पक्षधरलाई आशाबादी पनि बनाएको थियो । जेनजी बिद्रोहमा ज्यान लिने गरी भौतिक आक्रमणमा परेर पनि यो पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यसपछिको पहिलो सार्वजनिक अभिव्यक्तिमा दिएको सन्तुलित र परिपक्व विचारले पनि कांग्रेससँग अप्ठ्यारोमा धेरैले आशा बढाएको देखिएको हो । तर, कांग्रेस आफ्नो म्याद आइसकेको महाधिवेशनको मिति तोक्ने विषयमा डेढ महिना दन्त बजान गरेर पनि टुंगोमा पुग्न नसक्दा भने धेरैलाई निराश बनाएको छ । कांग्रेस ‘किस्तामा बैठक’ गर्दै कछुवा गतिमा अलमलिँदा देश नै अलमलिए जस्तो भएको छ ।  देशभरका चिया चौतारामा मानिसहरू अब राजनीतिले कुन बाटो समाउला ? त्यो सहज होला कि नहोला ? के व्यवस्था सही बाटोमा जाला ? जस्ता विषयमा अनेक कोणबाट छलफलमा आफ्नो समय खर्चिन बाध्य छन् । गत साता झण्डै दर्जन जिल्लाका विभिन्न विचार र पेशाकर्मीहरूसँग पंक्तिकारले सम्वादको मौका पाउँदा मानिसमा ठूलो अन्यौल र अनिश्चय स्पष्ट देखियो । साना बालबालिकादेखि वृद्धसम्म सबै उमेरका मानिस ठूलो चिन्तामा देखिए । भदौ २४ को जनउभार र आगोले केही राम्रो होला कि भनेर आशा राख्नेहरु अहिले यसभन्दा पनि खराब अवस्था आउन लागेको शंकामा पिल्सिएको पाइयो । सहज रूपमा गरिखान समेत गाह्रो हुने हो कि भन्नेमा अधिकांश चिन्तित सुनिए ।  बेथिति र भ्रष्टाचारविरुद्ध चलेको हावाले आँधीको रूप लिएर सत्ता पखालेर लगेपछिका साढे २ महिनामा पनि न जेनजी युवाहरुले बाटो समाए न पूराना भनिएका दलहरुले आत्मसमीक्षासहित बाटो सुधारे । यो अन्यौलले आम निराशा र आक्रोश झन्झन् बढाउँदै लगेको छ । जननिर्वाचित संसद् छैन । आम चुनाव कहिले हुने हो टुंगो छैन । आज देश एक असामान्य घडीबाट गुज्रिरहेको छ ।  राणा शासनदेखि पञ्चायतसम्म, राजतन्त्रदेखि कम्युनिस्ट अधिनायकवादसम्म, कांग्रेसले संघर्षको इतिहास बोकेको छ । तर, आज कांग्रेस देशको सवालभन्दा पनि आन्तरिक सवालमा रुमलिएको छ । जब देशले आशा गरिरहेको छ, यस्तो बेला कांग्रेसले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न असफल भयो भने यसको अस्तित्व किन छ ? यो केवल एक दर्जन शीर्ष नेताहरूको राजनीतिक जीवनको ‘क्यालकुलेटर’ मात्र हो ? यो पार्टीमा यी नेता बाहेकका लाखौं नेता कार्यकर्ताको कुनै मूल्य छैन ? यस्ता प्रश्न कांग्रेस कार्यकर्ताहरूले नै उठाउन थालेका छन् ।  प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले बीपी कोइरालाको पहलमा २००३ सालमा स्थापित नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बीपीदेखि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरू सम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका मार्गमा अघि बढायो । २००७ सालको परिवर्तन, २०१७ सालको संघर्ष, २०४६ सालको पुनर्जागरणसम्म कांग्रेस अग्रपंक्तिमा रह्यो । २०६२/०६३ को आन्दोलन र २०७२ सालमा संविधानसभामार्फत संविधान जारी गर्दा पनि कांग्रेसको अगुवाइ निर्णायक रह्यो । तर, समयको प्रवाहसँगै कांग्रेसको संगठन, सिद्धान्त र प्रभाव क्रमशः कमजोर बन्दै गएको छ । बीपीले पार्टीको मूल सिद्धान्त ‘लोकतन्त्र, समाजवाद र राष्ट्रियता’का रूपले परिभाषित गरेका थिए । तर, त्यो सिद्धान्त अहिले पार्टीको संरचना र व्यवहारमा हराएको देखिन्छ । गुटबन्दी र अवसरवादले पार्टीभित्र गहिरो जरा गाडिसकेको छ । विचार र नीतिभन्दा पद, पैसा र पहुँचको राजनीति हावी भएको छ । सिँगो पार्टीले दिशा तय गर्न नसकिरहेका बेला पार्टीका कतिपय नेताहरूले हिन्दू राज्यका पक्षमा त कोहीले संवैधानिक राजसंस्थाको पक्षमा अभिव्यक्ति दिइरहेका छन् ।  पार्टीले एउटा आशा र स्पष्टता सञ्चार गर्न नसक्दा ‘मास–बेस्ड पार्टी’का ‘स्वीङ’ भोटहरू बरालिने र अराजकतावादी, प्रतिक्रियावादी वा क्षणिक लोकप्रियतामा चल्ने शक्तितिर बग्न सक्छन् । यसर्थ कांग्रेसको समग्र ढिलाई केवल पार्टीको समस्या होइन, देशको राजनीतिक स्थायित्वमै प्रत्यक्ष असर पार्ने विषय हो । ‘स्वीङ’ भोट देशको राजनीतिक मौसम हो । यही भोट ‘मास वेस्ड’ कांग्रेस पार्टीको मुख्य बल हो । अस्पतालमा जस्तै—जहाँ संकटका बेला डाक्टरको हात चाँडो चल्नु पर्छ, ठीक त्यस्तै अवस्था अहिले देशको छ । तर राणा, राजा, पञ्च, कम्युनिस्ट सबैसँग संघर्ष गर्दै, भारतको असहज छायाँलाई पन्छाउँदै संविधानसभामार्फत् संविधान जारी गरेर यहाँसम्म देशलाई डोर्याएको कांग्रेस आज संकटका बेला आन्तरिक महाधिवेशनको रडाकोबाट बाहिर आउन नसक्नु आश्चर्यजनक र गैह्रजिम्मेवार मानिएको छ ।  नयाँ पुस्ता, नयाँ दृष्टिसहित निर्णय क्षमता अगाडि ल्याउन सकेन भने कांग्रेसप्रति बचेखुचेको अपेक्षा सकिनेछ । कांग्रेस यी सवालमा छरितो र उत्तरदायी बन्नै पर्छ । फुर्मासको समय छैन । कांग्रेसले आफ्नो नियमित वा विशेष जुन भए पनि महाधिवेशनको मिति समयमैं सक्ने गरी तोकोस् । अनि बदलिएको परिवेशमा ताजा जनादेशका लागि आम चुनावमा एकमतले होमिएको सन्देश देओस् । पार्टीबाट समयको पदचाप बुझ्न सक्ने नयाँ नेतृत्व छानोस् र अहिलेको राजनीतिक भूमरीबाट देशलाई उकास्न फेरि एक पटक विगतको कालखण्डजस्तै गरी भरोसायुक्त नेतृत्व लेओस् भन्ने आम अपेक्षा रहेको छ ।  जेनजी विद्रोहपछि कांग्रेसमा दोस्रो पुस्ताका गगन थापा लगायतको आवाज जोडदार रूपमा मुखरित भएको छ । यसले संस्थापन पक्षभन्दा संस्थापन इतरपक्षको आवाज बलियो बन्दै गएको छ । कांग्रेसलाई ‘प्रिगनेन्ट’ त बनाएको छ तर न बच्चा जन्मिने मिति टुंगो छ न बच्चा जन्मिने कुराकै सुनिश्चितता । तैपनि महाधिवेशन आम चुनावअघि कि पछि भन्ने विषय कांग्रेसमा अहिले प्रसव पीडाजस्तै गरि बल्झिएको छ ।  अहिले कांग्रेस सभापतिका नाममा मिडियामा, कार्यकर्ता तहमा खुला पत्र लेखिन थालेका छन् । नेपाली कांग्रेसलाई नयाँ उर्जा र भविष्यको ताकत बनाउने कि इतिहासको पानामा खुम्च्याउने दिशामा डोर्याउने भनेर सभापति देउवाको आलोचना भैरहेको छ । देश जलिरहेका बेला सबै दल र नेताहरु दुला पसेका बेला समेत पार्टीका तर्फबाट सन्देश प्रवाह गरेर एउटा ढाडसको बल दिने महामन्त्री गगन थापा र उनीहरूको पुस्तामा ऊर्जा, योजना, टिम, जनआकर्षण सबै छ भनेर मत बन्दै गएको छ । सँगै वरिष्ठ नेता शेखर कोइरालाप्रति पनि कार्यकर्ताको आशा छ । यसले स्वतन्त्र जनमतलाई अझै कांग्रेस निर्णयको प्रतीक्षामा राखेको विश्लेषण गरिन्छ ।  वि.सं २०५६ मा गिरिजाप्रसाद कोइरालाले आफ्ना कट्टर विरोधी कृष्णप्रसाद भट्टराईलाई नै भावी प्रधानमन्त्री भन्न सके, किनकी उनले बुझेका थिए कि पार्टी चलाउने कुरा व्यक्तिगत मनोविज्ञान होइन, जनमतको विज्ञान हो । भट्टराई अघि सार्दा पार्टीले बहुमत ल्यायो । कांग्रेसको बाँकी सम्भावना दोस्रो पुस्तामा टल्किएको बेला यसको सदुपयोग किन नगर्ने ? नेतृत्वको गरिमा कहिलेकाहीँ आफूभन्दा सक्षम वा भविष्यदृष्टि भएको पुस्तालाई अघि लगाउन सक्ने साहसमा पनि नापिन्छ । नेतृत्व त्यही हो, जहाँ व्यक्तिगत भावनाभन्दा संस्थाको भविष्य ठूलो हुन्छ । तर, आज कांग्रेसले त्यो इतिहास बिर्सेको हो कि भन्ने प्रश्न सामुन्ने आएको छ । यस्तै कारणले विश्वभर ‘पुराना दलहरूको संकट’ जन्मिएको हो, इटालीको डेमोक्रेटिक पार्टी, फ्रान्सको सोसलिस्ट पार्टी, भारतको कांग्रेस—सबै नयाँ पुस्तालाई समयमै अगाडि नसार्दा कमजोर हुँदै गए । क्यानडाको लिबरल पार्टी दशकौंसम्म थाकेको संरचना जस्तै थियो, जसलाई जस्टिन ट्रुडोको नेतृत्वमा पुनःसंगठित गरिएपछि मात्र पुनर्जीवन मिल्यो । युकेको लेबर पार्टी बाहिर निस्किनै सकेन, जबसम्म उसले पूराना अनुहारहरूको चक्र तोडेन । नेपालमा कांग्रेस आज यस्तै मोडमा पुगेको छ । कार्यबाहक सभापति तोकेर उपचारका लागि सिंगापुर जानुअघि देउवाको अभिव्यक्ति र उदारताले कांग्रेस र उनको छविमा नयाँ रक्तसञ्चारको आशा पलाएको टिप्पणी सुरु भएको थियो । तर, उनी फर्केपछि पुनः पूरानै राजनीतिक रक्तसञ्चार लिएर फर्किएको मत निर्माण भैरहेको बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले साझा निकास निस्कने र सभापति देउवा सक्रिय राजनीतिमा नफर्कने संकेत दिएका छन् । हुन पनि कांग्रेस सभापति देउवाको जस्तो सरल व्यक्तित्व र सौम्य अभिव्यक्ति जस्ता गुण अहिलेका समकालीन कुनै नेतामा पनि छैन ।  विधानको व्यवस्था अनुसार महाधिवेशनमा जानु पर्ने पार्टीपंक्ति मितिको रडाकोमा फसेको छ । यसले जति सक्यो छिटो आमचुनावमा लगाउनु पर्ने शक्ति आफै भित्रको लडाइँमा क्षयीकरण भैरहेको छ । संस्थापन तर्फका आधा दर्जन भाइहरूको जिद्दीले कांग्रेस र देश अनिर्णयमा फसेका छन् । तर, संस्थापन तर्फ अहिले चुनावी लहर ल्याउन सक्ने नेता छैनन् । कांग्रेसको दोस्रो पुस्ताका गगन थापा जो विद्यार्थी राजनीतिबाट उदाएका हुन्, उनीजत्तिकै देश हाँक्ने योजना बनाएर तयार भएका र विश्वप्रकाश जस्ता सारथी भएका नेता अरु कुनै पार्टीमा छैनन् । देउवा समेतका सबै नेता अभिभावकीय कवजमा बसेर यी युवाहरूलाई अघि सारेर पार्टी र देशलाई सही दिशा दिन सकिन्छ भन्ने मत पार्टीभित्र र आम जनतामा बलियो हुँदै गएको छ । तर, ‘प्रिग्नेन्ट’ कांग्रेसले यो निर्णय लिन सक्छ वा सक्दैन भन्ने कुरा निकट भविष्यमा थाहा होला ।  हो, राजनीतिमा आफ्नो खास अनुयायी भन्दा अर्कालाई अघि सार्न गाह्रो छ । तर, सबैले कांग्रेसलाई आशाले हेरिरहँदा यस भन्दा फरक सोच्ने छुट कांग्रेस र यसको संस्थापन पक्षलाई छैन । पूरानो पुस्ताको सम्मान र नयाँ पुस्ताको भावना बोक्न सक्ने ल्याकतसहित हालसम्मका राम्रा कुराको श्वेतपत्र जारी गरि कमजोरीहरुको आत्मालोचनासहित यो पार्टीले जेन्जी पुस्ताको भावना र सन्देश आत्मसात् गरेर अघि बढ्न जति ढिलो गर्यो देश र कांग्रेस दुवै उत्तिकै ठूलो अन्यौल र अस्थिरताको भूमरीमा फस्तै जाने खतरामा छन् ।