वर्षातको भेलमा बग्दै गरेका दिगो आर्थिक विकासका सपना
देशमा हालै आएको वाढीको भयावय प्रकोप हेर्दा हाम्रा नेपाली डाँडाकाडाँको उचित संरक्षण गरिएन भने आगामी वर्षहरुमा समेत वर्षातसँगै वाढीको प्रकोप जारी रहने र अर्बाैं लगानीमा बनेका विकास संरचनाहरु विनास हुने यो क्रम जारी रहन्छ । र, नेपाली भुभागमा रहेको खेतियोग्य मलिलो माटो पश्चिम वंगालको वाटो हुँदै समुन्द्रमा त्यस्तै पहाड निर्माणमा सहायक वन्ने क्रम जारी रहनेछ । देशको विकास निर्माणमा संलग्न हुने प्राविधिक पक्षले राजनैतिक र प्रशासनिक प्रणालीसँग आर्थिक प्रलोभनमा नतमस्तक भएर आफ्नो विज्ञता त्यसैसँग नसाटेको भए सायद यति वढी वितण्डा हुने थिएन होला । त्यसैले नेपालका जति पनि पूर्वाधारको वढी खर्च वर्षा लाग्ने समय जेठ असारमा हुने र श्रावणको वाढी र भेलसँगै वालुवामा जाने गर्दछ । यस्तो कार्यले एकातर्फ वातावरणीय सन्तुलनमा असर नपर्ने गरी वाटोघाटो लगायतका पूर्वाधारहरुको विकास हुन नसक्नुले विकासका पूर्वाधारमा दिगोपन छैन भने बर्सेनि दोहोरो तेहोरो रुपमा एकै कार्यक्रमा खर्च गर्नुपर्दा देशको सिमित साधन र श्रोतले सामाजिक रुपमा समट्नुपर्ने आर्थिक विकासका अन्य पक्षहरु समेट्न सकको छैन । न देशको आर्थिक विकासले जनताको आर्थिक जीवनस्तर उकासेको छ, न त दीर्घकालिन रुपका पूर्वाधारहरु वनेका छन् । अझै पनि हाम्रा उत्पादन भण्डारणको पर्याप्त व्यवस्था छैन । दुध उत्पादन गर्ने गाउँका किसानहरुका लागि वजार छैन । कति पटक त मिल्क होलिडे गर्नु परेकोले भएका गाई भैसी वेचेको देखिएको छ । वस्तुको विविधिकरण गरि गरिने निर्यातको मात्रा नगन्य छ । जोश र जाँगर भएको युवा जनशक्ति विदेश पलायन भएको छ । उसैको विप्रेषणको भरमा देशमा शोधनान्तर स्थिति सवल भै मुलुक एनकेन चलेको छ । विकास भनेको कुनै वस्तु तथा सेवाको उत्पादन वढ्नु मात्र होइन । त्यसको व्यवस्थित वितरण पनि हो । गाँउमा डोजर, लोडर लगाउदैमा विकास हुने होइन । ग्रामीण जनजीवनको आर्थिक विकासका परियोजनाहरु सूचारु गनर्, सहज तुल्याउन त्यहाँ वाटोघाटो जानुपर्दछ । होइन भने त्यो वाटो गाडी चढेर खाडी जान, वजारको वियर र कोक खान, गाँउमा उत्पादन हुने रोटी मकै खान छोडेर कुकुर्रे, चाउचाउ खान, मुलधाराको चिसो पानी र गाँउको मिठो दुध मही खान छोडेर आइसक्रिम र त्यस्तै कोकजन्य पेय पिउन सहज वनाइएको भन्ने बुझिन्छ । डाँडामा भएका एकाध घरलाई केन्द्रिकृत व्यवस्थित नगरी घरघरमा वाटो पुर्याउने निहूँमा लोडर र डोजर डाँडाकाँडामा संचालन गर्दैछौं भने वुझिन्छ, त्यस्तो विकास राष्ट्रको लागि अन्ततः वाढी पहिरोको विनास निम्ताउने देशलाई समस्याको दलदलमा फसाउने विकासको नामधारी निकास हुनेछ । हामीले पंचायत फाल्यौं, वहुदल ल्यायौ, गणतन्त्र पनि ल्यायौं, धेरै नेताहरु मन्त्री पनि वने । नेताको घर वन्यो । नेताको स्तरीय समृद्धि भयो । देशको समृद्धिको सपना सपना नै रह्यो । किन यसो भइरहेको छ ? सम्रान्त वर्गलाई दुश्मनदेखि वर्ग संघर्षको कथा फलाकेर जनयुद्ध गर्ने माओवादीका अधिकांश नेता नै अहिले आर्थिक रुपमा सम्रान्त बने । उनीहरुले एकपटक वहुमत समेत प्राप्त गरे । तर, हाम्रा प्रणालिगत कमी कमजोरीभित्र उनीहरु रमाए । त्यसवाट वाहिर निस्कन सकेनन् र अन्ततः जनताको विश्वास गुम्यो । फेरि पनि हामी अर्को राजनीतिक दुश्चक्रमा फसेका छौं । नेताहरुबाट आशा गर्ने ठाँउ हराएको छ । तर यो देशको प्रशासनिक संयन्त्रमा क्षमता भएर पनि नेताहरुकै गुलाम वन्दा औठा छाप लाउने जनप्रतिनिधिहरुको अगाडी लोभ लालचाले समेत उसले पनि आफ्नो डिग्रीको ज्ञानलाई औठा छाप नै वरावर हुने गरी नतमस्तक भै हजुर, हजुर, हुन्छ, हुन्छ भनिरहेको देखिन्छ । त्यसैले विकासमा कुनै विज्ञताको स्तर देखिदैन । समस्याको चुरो के होला ? कुनै पनि देशको विकास भनेको कुनै व्यक्तिगत दलगत स्वार्थले हुने कुरा होइन । यो सारा देशवासीको एउटै चाहना भावना परिकल्पनाले सजिएको विषय पनि हो । हरेकले आफ्नो स्वार्थ भन्दा विल्कुल धेरै माथि राखेर मैले गरेको कामले मेरो समाज र राष्ट्रलाई के के हित हुन्छ वा हानी पो गर्दै छ कि भन्ने विषयमा सवै क्षेत्रका विज्ञहरुमा सचेतनाको द्धवार खुल्नु जरुरी छ । नेतृत्वमा दुरदर्शिता भएन भने देशको दीगो विकासको परिकल्पना सोच्न सकिदैन । दिगो विकासमा श्रोत र साधनको प्रभावकारी उपयोग मात्र नभै समग्र प्रणालीगत संरचनाहरुको समेत स्थायीत्वको अपेक्षा गरिन्छ । त्यसैले भन्ने गरिन्छ सिस्टम वसेको ठाँउमा सिस्टमले नै संचालन र नियन्त्रण गर्दछ । हाम्रो देश नेपालको सन्र्दभमा राणाशासनको अन्त पछि विकासका विभिन्न प्रयासहरुको सिलसिलामा अहिलेको समयमा भन्दा निकै राम्रा प्रयासहरु भएको पाइन्छ । प्रशासन सुधारको लागि २००४ सालमा पद्य शमशेरले समेत भारतीय विज्ञहरु ल्याएर सुधारको लागि विज्ञताको ज्ञान अनुरुप शासन संचालन गर्न खोजेको पाइन्छ भने त्यसपछि २००८ मा भारतीय निजामती सेवाका वरिष्ठ अधिकृत जेएम नाघेष र श्री गोविन्द नारायणको सेवा लिएको, २०१३ सालमा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा प्रशासन सुधार आयोग गठन गरिएको, २०२५ मा तत्कालिन गृहमन्त्री वेदानन्द झाको अध्यक्षतामा विज्ञहरु सम्मिलित टोली गठन गरेको, २०३२ मा भेषबहादुर थापाको अध्यक्षतामा थियो भने प्रजातन्त्र पश्चात २०४८ मा तत्कालिन प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाको अध्यक्षतामा प्रशासनिक क्षेत्रका विज्ञहरु सम्मिलित १७ सदस्यीय उच्चस्तरीय प्रशासन सुधार सुझाव आयोग गठन गरि सो आयोगका सुझावहरु वमोजिम प्रशासिन संयन्त्र संचालन गरेको पाइन्छ । यसै प्रसंगमा खासगरी २०४८ भन्दा अघि पंचायतकालिन र सो अघिको समयमा समेत हामीले हेर्यौं भने अत्यन्त दुरगामी महत्वका कामहरु भएको पाइन्छ । विदेशी मित्र राष्ट्रहरुसँगको सम्वन्ध, अन्तराष्टिय मंचमा नेपालको उपस्थिति, यूएन लगायतका संगठनको सदस्यता, आवधिक योजनाको शुरुवात (२०१३), पूर्वपश्चिम राजमार्ग, विकास क्षेत्रको अवधारणा र विकेन्द्रीकरण, सीमा रक्षाको लागि सीमा क्षेत्रहरुमा व्यवस्थित वसाई सराई, शहरी विकासको अवधारणा, औद्योगिक क्षेत्रहरुको स्थापना र संचालन, विभिन्न क्षेत्रका सार्वजनिक संस्थानहरु, संवैधानिक निकायहरु, नेपाल राष्ट्र वैंकको स्थापना, भष्टाचार निवारण ऐन लगायतका कानुनहरु वनेका थिए । हामी स्वतन्त्र पर्यवेक्षकको रुपमा वाहिरवाट शासनलाई नियाल्दा शासकले विज्ञको सल्लाह वमोजिम नै गर्न खोजेको हुन्थ्यो र यतिका दुरगामी काम भएका थिए । सकभर क्षेत्रगत विज्ञ नै मन्त्री हुने गर्थे । नभए मन्त्रीले विज्ञहरुको सुझाव वमोजिम नै कार्य गर्दथे । शासनले राज्यको श्रोत र साधनको प्रयोगमा मितव्ययिता, प्रभावकारिता, कार्यदक्षता, जस्ता विषयहरु अपनाउन संविधानमा नै व्यवस्था समेत गरेको थियो । तर, पछिल्लो समयमा विकास प्रकृयामा दिइने सुझावहरुमा समेत दलगत राजनैतिक गन्ध आउन थाल्यो र विकास प्रकृयाले राम्रो नतिजा दिन सकेन । ग्रामीण क्षेत्रका वाटाहरु जो प्रकोपको वेवास्ता गरी खनिए ती अहिलेको वाढीका केही कारक हुन । यस्ता देशका साझा मुद्दाहरुमा पनि राजनीतिक दलहरु एकै ठाउमा उभिइ गोलवद्ध भै अघि नबढ्नु र फलदायी विकासको मोडेल चयन हुन नसक्नु नै हामी नेपालीको वर्तमानको दुर्भाग्य नै हो, जसले हाम्रो दिगो विकासको सपनालाई साकार हुन दिइरहेको छैन र हाम्रा सपनाहरु वर्षातका भेलसँगै बाढी बनेर बगिरहेका छन् । (विकास प्रशासन समेतमा स्नातोकत्तर तथा कानून स्नातक लेखक पौडेल पेशाले बैंकर हुन् ।)
एक बैंकरको घरः कोरोना कालको व्यवहार, दशैं तिहार र नयाँ नोट
दशैं भर्खर सकिएको छ । दशैं नेपालीको महान र सबैभन्दा ठूलो चाड पर्व हो । त्यसमा पनि हामी बैंकरहरुलाई बैंकमा अरु वेला हत्तपत छुट्टी नपाउने अत्यावयक पेसा भएकोले दशैं र तिहार जस्तो चाडपर्वमा छुट्टी पाउँदा खुब रमाउछौं । मिठो मिठो खान र नयाँ नयाँ लुगा लगाउनभन्दा पनि यो कोरोनाको बेलामा पाइरहेको फोर्स लिभ विदा पनि काटिएकोले र भनेको बेला बिदा नपाइने हुनाले दशैं र तिहारको पाँच छ दिनको विदामा म र मजस्तै समस्त बैंकरहरु साच्चै मख्ख पर्दछन् । सधैंको कामको तनाव, हैं, हैं गर्दै बैंकिङ पेशाको भागदौडको जिन्दगी, बिहान नौ नबज्दै अफिस जानुपर्ने । बेलुका सात आठ वजेसम्म काम गरेर अबेर घर आउनु पर्दा र टार्गेटको प्रेसर वास्तवै यो चार पाँच दिनको दशैं छुट्टी मलाई असाध्यै मिठो लाग्छ । अरुवेला यो त बैंकमा काम गर्दछ, यसलाई त फुर्सदखनै हुदैन, योसँग भेट नै हुदैन, के यसको घर जानु ? अत्यावश्यक क्षेत्रमा काम गर्छु भन्छ, व्यस्तताको वहाना बनाउँदछ । टोलको सामाजिक काममा पनि भ्याइन है, अफिस जानुछ भन्दै गाउँ टोल आफन्त कोही मर्दा पनि मलामी समेत जादैन । कोरोनाको बेला पनि मेरो बैंक खुल्या छ, मलाई जानु छ भन्दै लखर लखर हिड्छ । यसैले कोरोना सार्ने भयो भन्दै मलाई तिरस्कार र हेयको नजरले हेर्ने मेरा आफन्त, छिमेकी र साथीभाइहरु घटस्थापनादेखि तिहारसम्म दशैमा कहाँ लाइनमा घन्टौं उभिनु, नयाँ नोट तिम्रो बैंकबाट मलाई ल्याइदेउ ल, भन्दै एकविहानै आफन्तजन छरछिमेक घरमै आई नयाँ नोटको डिनेमेशन सहित पैसा मलाई र म नभए मेरो श्रीमतीलाई दिँदा हासो पनि उठ्दछ । झन यो पल्ट त दशैंमै क्वाटर्ली क्लोजिङ परेर दशैंको मात्र विदा पाइयो । दुई तीन दिन थप विदा लिएर सपरिवार कही घुम्न जाम भनेको, त्यो पनि पाइएन । होइन, पण्डितहरुले पनि हामी बैंकरको मर्म वुझेर बैंकको क्लोजिङमा दशैंको साइत नपार्नु नि, जस्तो पनि लाग्यो यो पल्ट । यो पल्ट दशैको छुट्टीमा पनि बसेँ भनेर के भन्नु ? विदामा मोज गरेँ भनेर के भन्नु ? क्लोजिङ परेर टिका थाप्दै गर्दा पनि दिमागमा भने फलानोले लोनको किस्ता हाल्छ कि हाल्दैन, फलानोले गत महिना पनि व्याज हालेन यो पल्ट के गर्छ भनेर बैंकिङ काम मेरो मानसपटलमा घुमिरहयो । आखिर हुनपनि भोलि दशैं विदा सकिएपछि उठाउने त किस्तै हो, गर्ने त बैकिङ काम नै हो । धन्न, तिहार चाहीँ बैकिङ क्लोजिङमा परेको छैन र दिमागी प्रेशर तिहारमा हुदैन कि । आज पनि घर आइपुग्दा अवेर भयो । राति आठ बज्यो । घर छिर्दै गर्दा श्रीमती फतफताउदै थिइन् । मैले बुझिहालें, आज श्रीमतीजीको मुड खराव छ । जिस्कनु ठिक हुदैन । म चुपचाप हात खुट्टा धोइ भान्सामा सघाउन छिरे । तर, उ एक्लै फतपताएको देखेर भान्सामा सघाउन आँट आएन । र, चुपचाप डाइनिङ कुर्सीमा बसेँ । एकछिनपछि उनले मेरो मौनता तोडदै आफै भनिन्, हजुरलाई जसको पनि काम गर्नु पर्ने ? सबैसँग राम्रो हनु पर्ने ? त्यत्रो कोरोनाको बेला सवै जना कोरोना लाग्छ कि भनेर डरले सुरक्षित घरमा बस्दा हजुर चाहीँ बैंकिङ भनेको अत्यावश्यक क्षेत्र हो र यसमा काम गरेपछि डराउनु हुँदैन भन्दै बैंक गइरहनु भयो । हजुरलाई र मलाई यी टोलका र आफन्त जनले केसम्म भनेनन् ? के मैले विर्सिएकी छु र ? लखर लखल हिडछ, कोरोना यसैले सार्दछ भने । किराना पसलमा पनि यो बैंकमा काम गर्दछ, यसलाई सामान नदिनु, यो दोकानमा आयो भने हामी आउदैनौंसम्म भने । तपाइलाई थाहाँ छ ? हामीलाई मात्र होइन, हाम्री छोरी आभ्यालाई पनि उनीहरुको केटाकेटीसँग खेल्न दिएनन् । यसको बाबु बैंकमा काम गर्दछन्, यसको बाबुको बैकमा नानाथरिका ग्राहक आउँछन्, त्यही भएर यसको छोरीसँग नखेल्नुसम्म भने । हजुरले विर्सेपनि मैलै कहाँ बिर्सेको छु र ? कोरोनाको समयमा यो समाजका मान्छेहरुले वोलेको हामीमा तिखो बचन । मैले हास्दै भने, के भयो ? सबै मान्छे एकै थरिका हुदैनन् नि, मान्छेले विस्तारै बुझ्दछ नि, नरिसाउन । उनले जवाफमा मलाई कर्के आँखाले खाउला झै गरेर हेर्दै भनिन्, त्यो छिमेकी रत्न दाइ भन्ने छन् नि, कोरोना सर्दछ भन्दै हाम्रो छोरीसँग उसको छोरी खेल्न दनिने, हेर्नु न आज दिउँसो आएर मलाई तिहारको लागि नयाँ नोट चाहियो भन्दै पो घर आएका । दशैमा यत्रो दुनियाको नयाँ नोट साटियो । अव तिहारमा पनि पो चाहिने रे नयाँ नोट । मलाई त उसले नयाँ नोट चाहियो भन्दा झनक्क रिस उठेको थियो । मेरो बुढा सामाजिक छैन, समाजको काम गर्दैन भनेको होइन ? मेरो बुढाले कोरोना सार्दछ भनेको होइन ? अनि के जम्मैको दशैंमा र तिहारमा नयाँ नोट साट्ने र घरसम्म पुर्याउने मेरो बुढा भरिया हो ? भनिदिउँ कि जस्तो पनि लाग्यो । हजुरको अनुहार हेरेर चुप्प लागेँ । साटनु पर्दैन है त्यो रत्न दाइको नयाँ नोटसोट भन्दै उनले मलाई रिसाउदै आदेश दिइन् । र, फेरि फतफताउँदै खाना पकाउन लागिन् । उसले फतफताउदै गर्दा मैले भने विर्षिसकेको थिएँ । कोरोनाको वेला हामी बैंकरलाई छर छिमेकी र आफन्तजनले गरेको र वोलेको दुव्र्यवहारको भाषा । विर्सिसकेको थिएँ, उनीहरुको तिखो वचन । सवै मानिस एकैथरिका हुदैनन् । यो समाजको बैंकरलाई हेर्ने नजर विस्तारै सकारात्मक अवश्य हुनेछ । फेरि हामी बैंकर सहनशील हुनु पर्दछ । स–साना कुरामा हामी बैकरले इख गर्नु हुदैन । अवगुणलाई गुणले जित्नु पर्दछ । मैले यी कुरा सोच्दै गर्दा मेरी श्रीमतीले एक्कासी फेरि भनिन्, मैले भनिदिएको छु है, अरुको लागि नयाँ नोट साटे पनि हाम्रो छोरी आभ्यासँग खेल्दा कोरोना सर्दछ भनेर खेल्न नदिने उसको छोरी त्यो रत्नदाइको चाहि मरे पनि नयाँ नोट नसाट्नु है । आफै दुई तीन घन्टा बैंकमा वसेर लाइन लागेर साट्छन् । खवरदार है भन्दै श्रीमती फतफताउदै थिइन् । यता म भने उसले अवोध वालकले झै जिद्दी गरेको देखेर मुसुमुसु हास्दै, हुन्छ, साट्दिनँ भन्दै उत्तर दिदै थिएँ । तर, मनमा भने त्यसो गर्नु हुँदैन, पैसाको वदला पैसा नै त मागेको हो नि, नयाँ नोट त मागेको हो नि । दशैं तिरहारमा ऊ जस्तै सेवाग्राहीले पुरानो नोट दिई नयाँ नोट लिई उसको दशैं नयाँ र राम्रो हुन्छ भने के फरक पर्दछ ? हामी बैंकरले नयाँ नोट साटिदिन । के फरक पर्दछ नयाँ नोटको भरिया हुन ? मनमनै कुरा खेलाउदै थिए । यता श्रीमतीले खवरदार नसाट्नु भन्दै गर्दा म भने मेरी श्रीमतीले पनि थाहा नपाउने गरि रत्न दाइलाई सुटुक्क नयाँ नोट साटिदिने निधोमा पुगिसेको थिएँ ।
सधैं यस्तो भाग्यमानी भइदैन, आईपीओ भर्नुअघि जान्नै पर्छ यी तथ्य
पछिल्लो समयमा सेयर बजारमा जति पनि नयाँ लगानीकर्ताको प्रवेश भएको छ, त्यसको प्रमुख कारण प्रविधि नै हो । प्रविधिले गर्दा लगानीकर्ताहरु सजिलो तरिकाले बजारमा छिर्न सक्ने पहुँचको विकास भयो । विशेष गरी गाउँ गाउँमा बैंक पुग्ने र उनीहरुले बैंक तथा डिम्याट खाता खोलिदिनाले नयाँ लगानीकर्तालाई सजिलै बजारमा प्रवेश गर्ने एउटा माध्यम बनायो । नयाँ लगानीकर्ताहरु प्राथमिक बजारमा आएको त थाहा हुन्छ, कुनै कम्पनीको आईपीओमा परेको आवेदन मार्फत । त्यसमध्ये कति वास्तविक हुन्, कति होइनन् भन्ने हुन्छ । जस्तै, एउटा परिवारमा ५ जना छन् । एउटा व्यक्तिले सबैको खाता म्यानेज गर्यो भने त्यहाँ त्यो एक व्यक्ति मात्रै प्रमुख पात्र तथा बजारको लगानीकर्ता अथवा चासो दिने व्यक्तिको रुपमा पर्छ । बाँकी ४ जना पर्दैनन् । औषतमा त्यस्ता लगानीकर्ता कति छन् त ? हामीलाई थाहाँ हुँदैन । ती व्यक्ति कति दोश्रो बजारमा छिर्छन्, कति प्राथमिक बजारमै अड्केर बसिरहेका हुन्छन् भन्ने अर्काे प्रश्न पनि आउँछ । लगाकर्ता जुनसुकै हिसाबले प्राथमिक बजारमा आउन् या दोश्रो बजारमा छिरुन्, उनीहरुले बजारको बारेमा न्यूनतम आधारभूत ज्ञान लिन आवश्यक पर्छ । जस्तो, हामी जुन सेयर भन्छौं, त्यो सेयरबाट कति फाइदा छ र त्यो सेयरसँग सम्बन्धित कम्पनीले भोलिका दिनमा कसरी फाइदा दिन सक्छ र, त्यो मैले कसरी प्राप्त गर्छु भन्ने विषयको ज्ञान नयाँ लगानीकर्तामा हुन आवश्यक छ । यदि प्राथमिक बजारमा मात्रै जाने हो भने पनि । अब प्राथमिक बजारबाट दोश्रो बजारमा पनि छिर्ने अथवा सिँधै दोश्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताहरुले अझ बढी ज्ञान लिन आवश्यक हुन्छ । त्यो भनेको बजारको मुभमेन्ट कसरी हुन्छ बुझ्न जरुरी छ । र, के कारणले आफूले किन्न खोजेको कम्पनीलाई असर गर्छ भन्ने अर्को महत्वपूर्ण हो । किनभने प्राथमिक बजारमा मात्रै लगानी गर्नेलाई दोश्रो बजारमा त्यति अनुभव पनि हुँदैन । र, दोश्रो बजारको मुभमेन्टको मनोवैज्ञानिक असर पनि उसलाई पर्न सक्छ । दोश्रो बजारमा छिरेर सेयर किनबेच गर्दा बजारमा हुने अप एण्ड डाउनले लगानीकर्तालाई मनोवैज्ञानिक असर परिरहेको हुन्छ । उसको नाफाले भन्दा पनि सेयर किनेर घटेपछि उसले बढी फिल गर्छ । त्यो फिल गर्दा उसले के कारणले मार्केटमा अप एण्ड डाउन आइरहन्छ र त्यो अवस्थामा आफूले कसरी लगानी व्यवस्थापन गर्दै जाने भन्ने बुझ्नु पर्ने हुन्छ । त्यो बुझ्न सक्यो भने भोलि नाफा लिने र घाटालाई व्यवस्थित गर्न सकिन्छ । यसको लागि अध्ययन निकै महत्वपूर्ण हुन्छ । सबैभन्दा पहिला म कहाँ, किन र कसरी लगानी गर्दैछु भन्ने आफ्नो उद्देश्य कसरी तय गर्ने भन्ने हो । त्यसपछि मैले यो कम्पनीमा, यति पैसा, यति समयको लागि लगानी गर्छु भनेर रणनीति तय गर्ने । अथवा कारोबार नै गर्ने हो भने पनि यस्तो कम्पनीमा यति नाफा लिएर निस्किने गरी लगानी गर्ने । घाटा नै भएछ भने पनि यतिसम्म मैले घाटा व्यहोर्न सक्छु भन्ने भएपछि निस्किने । यति विषयलाई ध्यान दिएर लगानी गरियो भने बजारमा उसको लगानी सबैभन्दा व्यवस्थित र तनाव कम हुन्छ । यहाँ सबैभन्दा ठूलो कुरा नाफाभन्दा घाटाको तनाव र त्यसको असर सबैभन्दा डरलाग्दो हुन्छ । नाफा त नाफा भैहाल्यो, त्यसले एक किसिमको उत्साह दिन्छ । तर, त्यो उत्साहभन्दा घाटाको पीडा सबैभन्दा बढी हुन्छ । त्यसैले नाफाभन्दा पहिला घाटालाई व्यवस्थित गर्ने तरिका सिक्नुपर्ने हुन्छ । त्यसलाई हामी लगानीको बीमा पनि भन्छौं । जसरी हामीले हरेक ठाउँमा एक किसिमको सुरक्षा अपनाइरहेका हुन्छौं, त्यसैगरी लगानीमा पनि जोखिमलाई कम गर्नको लागि बजारमा भोलि आइपर्ने जोखिमको सुरक्षा आफैले अपनाउनु पर्ने हुन्छ । अर्को, कम्पनीलाई बुझ्न लगानीकर्ताले कम्पनी विशेषका कुराहरु बुझ्न जरुरी छ । जस्तो, कम्पनीको परफरमेन्स, नाफा नोक्सान, कम्पनीको व्यवस्थापन तथा सुशासन लगायतका कुराले प्रभाव पारिरहेका हुन्छ । यसलाई कसरी अध्ययन गर्ने, कहाँबाट हेर्ने, सूचनाका श्रोतहरु के के हो भन्ने जस्ता विषयमा आफू सचेत र जानकार हुनुपर्छ । श्रोत त अहिले जति पनि छन् । तर, ती श्रोतमध्ये पनि भरपर्दो श्रोत चाहिँ कुन हो ? भन्ने बुझ्नु पर्छ । किनभने एउटै कम्पनीको विवरण तथा प्रतिवेदनलाई १० वटा मिडियाले १० थरि विश्लेषण गरेका हुन्छन् । कसैले सही तरिकाले गरेका होलान्, कसैले बुझेर गरेका होलान् या कसैले नबुझी अनुमानको आधारमा पनि गरेका होलान् । कसैले केही विषयको मात्रै विश्लेषण गरेका हुन्छन्, जसले हामीलाई पर्याप्त जानकारी नदिन पनि सक्छ । कम्पनी स्थापना भएको ३ महिना, ६ महिना मै आगामी १० वर्षको एउटा प्रोजेक्सन गरेर हामीले यो बिजनेश गर्छौं भनेर आउने स्थिति बन्यो र त्यो किसिमले पैसा उठाएर बिजनेस गर्ने अवस्था आएर सेयरमा लाउनु पर्यो भने हामीले अहिलेको मात्रै ज्ञान र यति मात्रैको अध्ययनले यति सजिलै प्राथमिक बजारमा आवेदन दिएर हामी नाफा कमाउने स्थितिमा पुग्दैनौं । लगानीकर्ताले पर्याप्त सूचना लिनको लागि विश्वसनीय श्रोत के हो ? उनीहरुले कम्पनीकै वेवसाइटमा गएर वार्षिक प्रतिवेदनहरु हेरेर त्यसलाई बुझ्ने कोशिस गर्यो भने त्यो रिलायबल हुन सक्छ । हाम्रोमा रिलायबल श्रोतको विकास भएको छैन । जति पनि अनलाइन मिडियाहरु छन्, ती मिडियाहरुमा जसले लेखेपनि यो रिलायबल हो भन्ने आधार छैन । किनभने फरक व्यक्तिको विश्लेषण फरक फरक हुन्छ । हामीले कम्पनीबाट जे आउँछ, त्यहि नै पायो भने त्यो रिलायबल हो । व्याख्या गरेका कुराहरु सबै रिलायबल नहुन सक्छन् । कतिपय जानकारी तथा सुचनाहरु यस्ता हुन्छन् कि कम्पनीहरुले पनि पर्याप्त रुपमा दिन सकेका हुँदैनन् । हामी कम्पनीले दिएको प्रेस विज्ञप्ति आधिकारिक भन्छौं, तर त्यो आधिकारिकतामा नै कमजोरी भैदिन्छ । त्यहाँ पनि उसले पर्याप्त जानकारी दिन जान्दैन । अहिले लघुवित्तहरु जति छन्, त्यसमध्ये कुनै एउटाको सर्भे गरियो भने तिनका सबैको आफ्नो आधिकारिक वेवसाइट छैनन् । वेवसाइट भएकामध्ये सबैकोमा आफ्नो वार्षिक वित्तीय विवरण पनि छैन । प्राथमिक बजारमा प्रवेश गर्न पनि कम्पनीको बारेमा बझ्नु पर्छ । प्राथमिक बजारमा पनि जुनसुकै कम्पनीको सेयर किन्न हुँदैन । जुनसुकै कम्पनीको सेयर किनेर हामीले चाहे अनुसारको नाफा प्राप्त गर्न सक्दैनौं । मार्केट सधैँ यहि किसिमले अर्थात १०० रुपैयाँ लगानी गर्दा एकैपटक ५/६ सय रुपैयाँसम्म पुग्ने हुँदैन । सधैँ निरन्तर उकालो लागिरहन्छ भन्ने अवस्था आउँदैन । अहिले पो बढी वित्तीय संस्थाहरु आइरहेका छन् । र, यिनीहरुले हामीलाई एउटा कन्फिडेन्ट के दिएका छन् भने, यिनीहरु वेल रेगुलेटेड संस्था हुन्, यिनीहरुको नियामक तुलानात्मक रुपमा अन्यको भन्दा राम्रो छ भन्ने छ । भोलि योभन्दा बाहिर क्षेत्रका जस्तै, कुनै उत्पादनमूलक, कुनै सेवामूलक, जस्ता अन्य क्षेत्रका कम्पनीहरु आउन थाले र, ती कम्पनीहरुको पनि मार्केटमा सेयर जारी गर्न सक्ने कुनै कानुनहरु बन्यो, जसले ५/१० वर्षको इतिहास हुनै पर्छ भन्ने छैन । ६ महिनाको इतिहास बोकेर पनि मार्केटमा आउन सक्छौं भन्ने किसिमका कानुनी कुराहरु आए भने जुनसुकै कम्पनीहरु मार्केटमा आउन चाहन्छन् । त्यो बेला त सर्वसाधारणले मूल्यांकन गर्नुपर्ने हुन्छ । लगानीकर्ताले उसको सम्भावना, उसको व्यवसाय, नाफा गर्न सक्ने आधार, सुशासन, समूह, जस्ता उसको भावी योजनाहरु सबै बुझ्नु पर्ने हुन्छ । जस्तो अहिले सिमेन्ट कम्पनीको आउन खोजिरहेको छ । भोलि कुनै सर्भिस तथा हेल्थ सेक्टर अथवा जुनसुकै क्षेत्रका कम्पनीहरु मार्केटमा आउन सक्नछन् । जस्तै, अन्तर्राष्ट्रिय बजारमा ६ महिना एक वर्ष नभई मार्केटमा आइदिन्छ । उनीहरु रुपैयाँमा भन्दा पनि पैसामा सेयर जारी गर्ने हिसावले आउँछन् । कुनै बेला यस्तो कम्पनी आउँछ कि जुन एउटा कोठामा मात्रै सीमित हुन्छ । उसले भोलि म यो बिजनेस गर्छु भनेर एउटा सम्भावना देखाएर मात्रै पनि आज सेयर खुलाउन सक्छ । उसको बिजनेस अहिले शुरु नै भएको छैन, बिजनेस त अझ २/४ वर्षपछि शुरु हुन्छ । त्यस्तै, नेपालमा पनि भोलि ओटीसी मार्केटलाई व्यवस्थित गरेर त्यो किसिमले आउने वातावरण बन्यो भने हामीले थप बढी अध्ययन गर्नुपर्ने हुन्छ । जस्तो, ओटीसीमा एउटा निश्चित क्राइटेरिया पुगेपछि मात्रै स्टक एक्स्चेञ्जमा लिस्टिङ्ग हुने भन्ने हिसाबले हामी गयौं भने हामीले त्योभन्दा बढी अध्ययन गर्नुपर्ने हुन्छ । अहिले त हामीसँग यस्तो छ कि कम्पनीले कम्तिमा एक वर्ष पुरा गरेकै हुनुपर्छ, यो अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हुनै पर्छ भन्ने किसिमका एउटा जुन मापदण्डहरु छन्, यो त हाम्रो भाग्य हो । यो किसिमले सेयर बजारमा आउने वातावरण, कानुन बन्नु भनेको हामीले लगानी गर्नको लागि भाग्यमानी नै मान्नुपर्छ । तर, कम्पनी स्थापना भएको ३ महिना, ६ महिना मै आगामी १० वर्षको एउटा प्रोजेक्सन गरेर हामीले यो बिजनेश गर्छौं भनेर आउने स्थिति बन्यो र त्यो किसिमले पैसा उठाएर बिजनेस गर्ने अवस्था आएर सेयरमा लाउनु पर्यो भने हामीले अहिलेको मात्रै ज्ञान र यति मात्रैको अध्ययनले यति सजिलै प्राथमिक बजारमा आवेदन दिएर हामी नाफा कमाउने स्थितिमा पुग्दैनौं । (सेयर विश्लेषक रविन्द्र भट्टराईसँग गरिएको कुराकानीमा आधारित)