बैंकिङ नोकरी: घर बाहिरको जागिरको पीडा
आज पनि आखाँमा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नु पर्छ । म सुत्न नखोजेको पनि होइन । अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फेसबुक जबरजस्ति कत्ति चलाउनु ? यो ब्लग लेख्नुको पछाडि मलाई निन्द्रा नलाग्नु पनि हो । अहिले मैले ल्यापटपमा लेख्दै गर्दा मेरो भित्तामा झुन्डीएको घडीले साढे बाह्र बजेको संकेत गरिरहेको छ । जागिर खाएपछि खटाएको कार्यक्षेत्रमा अवश्य जानुपर्दछ । यसमा दुइमत छैन । निक्कै बर्ष विराटनगर को घर पाएक नोकरी गरेपछि नयाँ परिवेश , नयाँ अवसर ,नयाँ जिम्मेवारी र चुनौतिहरु सामना गर्ने आफ्नै इच्छाले पुर्विपहाडको विकट क्षेत्र मैले नै रोजेको हो । फेरि नोकरी भनेको कामको साथ साथै जागिरको दौरान सरुवा भएर नयाँ नयाँ ठाउँ हेर्ने अवसर पनि हो । विभिन्न जात जाति धर्म भौगोलिक बिबिधता र प्राकृतिक छटाहाहरु सँगं परिचित हुने मौका पनि हो । नोकरीको दौडान बाहिर जाँदा र बस्दा आफ्नै एक किसिमको अनुभव र अनुभुति हुने रहेछ तर पारिवारिक पाटो पनि निक्कै गाह्रो हुने रहेछ । त्यसमा पनि बैंकको नोकरी बाहिर बस्दाको पीडा सम्झदा जिवनका कयौ पारिवारिक पाटाहरु छुट्ने रहेछन् । मलाई सम्झना छ, कोरोनाको कारण गत साल यातायातको साधन नचल्दा र सरकारले लकडाउन को आदेश दिँदा करिब ६ महना पछाडि मात्र घर जान पाएको तितो अनुभव । अनि घरको मुल गेट खोल्दै गर्दा दुई वर्षमा देखेको र छोडेको छोरी आब्या एक्कासि अढाई वर्षमा मलाई देख्दा अपरिचित भनेर भाग्दै डराएर मामु को मान्छे हो ? भनेर म तिर फर्केर सोधेको नमिठो अनुभव । नमिठो लाग्छ छोरिले नै बाबा नचिन्दा । मलाई यहाँबाट घर जान एक दिन पुरै लाग्ने र आउन एक दिन पुरै लाग्ने कारणले त्यसमा पनि बैंकको नोकरीमा भनेको बेला छुट्टि नपाइने हुनाले अक्सर ५÷६ महिनामा म घर जान्छु । घर जान पाए भने खुसि लाग्छ । भोलि घर जाने भनेपछि त्यो रात निन्द्रा नै लाग्दैन । ५/६ महिनामा घर जाँदा छोरी पहिले देखेको भन्दा निक्कै बढेकी हुन्छे । सानो लिचीको बिरुवा नर्सरीबाट ल्याएर अस्तिको पल्ट रोपेको थिएँ । यात्रामा बसभरी विरुवा कत्रा भए होलान् भनेर सम्झन्ना आउँछ । घर पुगि हेर्दा ओइलिएछ । पानी दिनै पिच्छे पटाउन बिर्षे छन् क्यारे । गुलाफको फूल पनि ओइलिएछ । घरको पर्खाल पनि चर्किन थालेछन् । सम्झाउने म पनि त घरमा छैन नि । फोनबाट भएपनि पानी पटाओ है भनेर सम्झाउनु पर्थ्यो । मैले पनि बैंकिङ नोकरीको व्यस्तताले बिर्सेछु । उनीहरुले पनि बिर्सिएछन् । कोरोनाको कारणले १५ दिन पाइने फोर्स लिभ पनि सबै बैकले नदिने भइसक्यो । घरको बुढी आमाको एउटै सपना छ, हरेक बुढाबुढिको जस्तै भारतको चारधाम तिर्थ यात्र गर्ने । यो साल लामो बिदा नपाएर हो । अर्को पल्ट आउँदा पक्कै तिर्थ लान्छु भनेर मेरी बुढी आमालाई मैले ढाँट्दै गाडी चढेर कार्यक्षेत्रमा फर्केको मलाई अझै सम्झना छ । नजिकैको छिमेकि मरेर दुःख लाग्छ । म यहाँ छ,ु मलामी जान पाइएन । आफन्त नातागोेताको घरमा बिवाह लागेको छ । फोनबाट सुन्छु र चित्त बुझाउँछु । यहाँ आफन्त पनि कोही छैनन् । मेरा सबै सम्वन्ध पेशागत हुन् । दिनभरि काउन्टरमा आउने मान्छेसँग रमाउन खोज्छु । मेरो बैंक भित्र कोहि केटाकेटी आए भने मेरो छोरी पनि यत्रै भइ होली जस्तो लाग्छ । बृद्घवृद्घा हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता लिन भत्ताको लाइन मा बसेको देख्दा मलाई ति चाहुरिएको अनुहारमा आफ्नै आमा देख्छु । प्रत्येक पटक घर ३/४ दिनको छट्टिमा जाँदा आफ्नै घर बिरानो लाग्छ । जाँदा हवर हवर नै हुन्छ । बिजुलको बिल नतिरेको ६ महिना भएछ। घर जग्गाको कर नतिरेको महिनौ भएछ । टेलिफोनको लाइन पनि नतिरेर काटिएछ । फ्रिज पनि बिग्रिएछ । घरमा यो साल चाहिँ रङ लगाउनु पर्ने छ खै भ्याइँन्छ वा भ्याइँदैन । बुढी आमा मात्र होइन घरको भित्ताहरुले पनि मलाइ नै खोजिरहेको छ । म भने यता अफिसको टारगेट पुर्याउन तल्लिन छु । पेशागत कर्तव्य र धर्म मान्दै । बैंकको काम गरेपछि महिनामा तलब आउँछ अनि किरानाको मासिक रासनको बिल तिरिन्छ । बैंकले घरको चुलो बालेको छ । अफिस त १० देखि ५ बजेसम्म लाग्छ । तर, अफिस सकिएपछि उकुसमुकुस हुन्छ । घुम्न जाने कतै ठाउँ पनि छैन । तास पनि खेल्न आउँदैन । रक्सि कहिल्यै खाइएन । उफ ! सम्झदा यो एकान्त गाह्रो र गाह्रो महसुस हुन्छ । साथी त एकान्तमा केबल भित्ताको घडी भएको छ । घडीको सुई चाँडो घुमे हुने नी । क्यालेन्डरको पन्ना चाँडो पल्टे हुने नी । दशैं आउन एक महिना पनि छैन । घर जान पनि कमै दिन बाँकी छ । यहाँ बसेको पनि चार वर्ष भएछ । एकै ठाउँ बस्दा बस्दै अब पट्यार लाग्न थालिसकेको अब त घर पायक नै ट्रान्सफर भए हुने नी काम कति बाँकि छ । ट्रान्सफर भइहाले घर नजिक भए आमालाई तिर्थ लाने थिएँ । सधैँ पानी पटाइ ओइलिएको गुलाफहरु फुलाउने थिएँ । अनि नजिकैको मन्दिरको देवतालाइ चढाउने थिएँ । अब त छोरी पनि बाबा खोज्छे । उ सँग साँझमा खेल्ने थिएँ । घरका भित्ताहरु रङ्ग्याउने थिएँ । अनि फुल फुलाए जसरी फुलाउने थिएँ, मेरो ओइलिएको बैंकर परिवार ।
देशको विकास चाँडै हुन्छ, त्यो आँट म गर्दैछुः अर्थमन्त्री शर्माको विचार
मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको पनि छैन । राजश्वको लक्ष बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेको हो । अध्यादेश बजेट खासै चलाइएको छैन । तैपनि केही न केही सम्बोधन गरौं भनेर हेर्दा, हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो भेटियो, योजना बनाउने प्रचलन हेर्दा कहालीलाग्दो अवस्था पाएँ । देशलाई कति सडक चाहिने हो ? कुन सडक कति लेनको हुनु पर्ने हो ? यसको कुनै मानक पालना भएको पाइएन । जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकको बजेट हाल्ने गरेको पाइयो । सबै मन्त्रालयका सचिवहरुलााई बोलाएर मैले सोधें पुँजीगत बजेट किन खर्च भएन ? सचिवहरुले भन्नुभयो कि चाहिने ठाँउमा बजेट छैन नचाहिने ठाँउमा हालेको बजेट कसरी खर्च गर्ने ? यस्तो रहेछ बजेटको अवस्था । हामीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीको खाँचो छ । खर्च र लगानीका नयाँ क्षेत्रहरु पनि छन् । त्यो अनुसारको प्रणाली पनि आवश्यक छ । हामीलाई रोजगारी सृजना गर्नुछ । यसको लागि उद्योग धन्दा खोल्नु महत्वपूर्ण छ । तर त्यसको पक्षमा मैले केही नयाँ निर्णय गर्दा कतिपयलाई घाटा पर्ने भएछ । मैले निर्णय गर्दा कसलाई घाटा भयो कसलाई नाफा भयो भनेर हिसाव किताव गरेको होइन । मैले त देशलाई फाइदा हुने निर्णय गरेको हो । अरुले हाम्रो देश बनाउन दिएनन् भन्थे त्यो कुरा सत्य होइन रहेनछ । हामी आफैले नबनाएको रहेछ । । तर म त्यो प्रचलन तोड्नेछु । स्वदेशमै उद्योग धन्दा खुल्ने वातावरण बनाउँछु । यसको लागि पनि इमान्दारिता नै प्रमुख कुरा हुँदो रहेछ । भित्रैदेखिको इमान्दारिता चाहिनेरहेछ । देश बनाउने इमान्दारिता । इमान्दार छैन भने बाहिरबाट उठेका प्रश्नहरुको सामना गर्न सकिँदैन । मसँग त्यो आँट छ । म हरेक प्रश्नहरुको सामना गर्न तयार छु किनकि मैले इमान्दारितापूर्वक देश बनाउने कुरा गरेको छु । अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन खोज्यो भने पनि हाम्रै संयन्त्रले मान्दो रहेनछ । वातावरण सहज बनाउनुको सट्टा ढोका बन्द गर्ने चलन हाम्रै संयन्त्रभित्र रहेछ । औपचारिक बाटोमा आउनको लागि त प्रक्रिया सरल बनाइदिनुप¥यो नि । ढोका खोलिदिनुप¥यो नि त । तर बन्द यहाँ त ढोका बन्द गर्ने परिपाटी रहेछ । अप्ठेरो बनाइदिने रहेछ नीति र ऐन कानुन बनाइनेरहेछ । नीति, नियम, कानुन सरल बनाइदियो भने धेरै कुरा अगाडि बढ्ने मैले देखेको छु । चाँडै नै देशको विकास हुने मैले देखेको छु । त्यो आँट म गर्दैछु । श्रम सहकारीलाई १० करोडको काम: हकारी संस्थाहरु निश्चित कानुन अनुसार दर्ता भएका हुन्छन् । यो अविछिन्न संस्थाको रुपमा रहिरहन्छन् । श्रम सहकारीहरु जसले श्रमिकहरुलाई संगठति गरोस् । श्रमिकहरुलाई सीप विकास तालिम देओस् । तर उपभोक्ता समितिको निरन्तरता कहाँ छ त ? एउटा कामको लागि बन्यो, काम सकिएपछि भंग भयो । यस्तो हुन्छ उपभोक्ता समिति । संस्थागत स्मरणहरु केही हुँदैनन् । त्यसैले मैले यसलाई बदल्न खोजेको हो । निर्माणको काम कार्यकर्तालाई दिन खोज्यो भनेर प्रचारि गरिएको छ । तर वास्तवमा कुरा त्यसो होइन । कार्यकर्तालाई बाँड्ने काम त बरु उपभोक्ता समितिहरुले गरेका होलान् । मैले यसलाई तोड्न खोजेको हो । श्रम सहकारीमार्फत काम गर्दा त्यस्तो हुँदैन । १० करोड भनेको हिजो उपभाोक्ता समितिलाई १ करोड दिएजस्तै हो । आजको मूल्यमा अनुपात मिलाएर हेर्दा मैले अघि सारेको यो कार्यक्रम उपभोक्ता समितिलाई सिधै रकम हस्तान्तरण गरे जस्तो होइन । श्रम सहकारीहरुबिच आपसी प्रतिस्पर्धा गरेर, दर रेट निर्धारण गरेर सामुहिक रुपमा काम गर्ने अवधारणा हो । निश्चित दर रेट निर्धारण भइसकेपछि प्रतिस्पर्धामा भाग लिने सबैले काम गर्न पाउने व्यवस्था गर्न खोजिएको हो । यसमा कसैको हारजित हुँदैन । सबैले काम पाउनेछन् । सवै मिलेर काम गर्नुपर्नेछ । दश हजार राहतको कुरा: कोभिड १९ कारण रोजगारी गुमाएका अति विपन्न जनतालाई संकटको बेला राज्यले सम्झेको मात्र हो । मापदण्ड बनाएर केही थोरै दिन खोजेको मात्र हो । राज्यले पहिलो पटक गरिबलाई सम्झेको हो ।सरकारको ढुकुटीमा रहेको जनताको अलिकति पैंसा राहत कार्यक्रममार्फत बजारमा परिचालन गर्ने उपाय पनि हो । यसले अर्थतन्त्रलाई चलायमान बनाउने काम पनि गर्नेछ । गरिबले पाएको त्यो पैंसा घरमा थन्काएर त पक्कै पनि राख्दैन । त्यो पैंसा बजारमा पुग्छ । पैंसा परिचालन हुन्छ । तर एकथरिलाई अर्कै चिन्ता छ । तर, हामीले जनताको पैंसा जनतालाई नै दिन खोजेको हो । यस्ता केही कुरामा अलिकति बल गरिएन भने अघि बढ्न सकिँदैन । हामी हाम्रा हातखुट्टा आफै बाँध्नेरहेछौं, हाम्रो विकास हामी आफै रोक्दारहेछौं । यो स्थिति तोड्न खोजेको हो । तपाई अडिटरहरुले पनि यो कुरालाई ध्यान दिनुपर्नेछ । तपाई हामी सवैले आ–आफ्नो ठाँउबाट मेहेनत गर्नुप¥यो । देशलाई समृद्ध बनाउन हामी सवैले प्रतिवद्धता गर्नुप¥यो । यसो गरियो भने पक्कै केही सुधार हुन्छ । देश विकासको बाटोतिर अघि बढ्छ । देशको समग्र सम्पत्तिको मूल्याङ्कन मैले केही समय अघि देशको समग्र सम्पत्तिको मूल्याङ्कन गर्ने कुरा उठाएको थिँए । यस अभियानबाट म पछि हटेको छैन । समग्र मूल्याङ्कन गरियो भने के नतिजा आउँछ त ? यो देशको समग्र वार्षिक ट्रान्जेक्शन कति हो त ? औपचारिक ट्रान्जेक्शनको तथ्याङ्क त आउला तर अनौपचारिक क्षेत्रको कति हो ? पुरा हिसाव के छ नेपालको ? यो पत्ता लगाउने विचार छ । यो कसरी गर्न सकिन्छ ? त्यो आइडिया तपाई अडिटरहरुले निकाल्नुप¥यो । मलाई त यो गर्नुपर्छ भन्ने मात्र थाहा छ तर कसरी गर्ने भन्नेको ज्ञान तपाइसँग छ । यस कार्यमा पनि तपाईहरुले सहयोग गर्नुप¥यो । मैले यो कुरा गर्दा कतिपयहरु झस्किएछन् कि अब यसले व्यक्तिगत सम्पत्ति खोजविन गर्ने कुरा ग¥यो भनेर । तर मैले त्यसो भन्न खोजेको हैन । मैले त समग्र देशको सम्पत्ति मूल्याङ्कन गर्न चाहेको हो । (शुक्रवार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राखेको विचार)
अस्पताल खरिद बिक्रीले ल्याउँदैछ भयावह अवस्था
धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठूला निजी अस्पताल र मेडिकल कलेजहरूलाई १/१ गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो । यसले ल्याउने मोनोपोली, र समाजका सबै क्षेत्रमा मौलाउँदै गरेको त्यस्तै मोनोपोलीबारे अस्पताल ‘खरिद’को पक्षविपक्षमा अनेक तर्क दिन सकिएला । तर, मुख्य डरलाग्दो कुरा देशको स्वास्थ्य प्रणालीमा यसबाट नराम्ररी झ्याँगिने मोनोपोली हो । यसले बजारमा स्वभाविक रूपमा हुनुपर्ने प्रतिस्पर्धालाई दबाएर देशको स्वास्थ्य सेवाको ठूलो हिस्सालाई केही व्यापारीको चङ्गुलमा लगिदिन्छ । जनहितको पैरवी गर्नुपर्ने राजनीतिक दल र राज्यका सबै अङ्गमा यस्तै व्यापारीको हालिमुहाली भइसकेको छ । स्वार्थको द्वन्द विरुद्धका कुनै संहिता वा नियम छैनन्, र भए पनि दलाल र व्यापारीलाई आफूखुशी नियम बनाउन, राज्य-कब्जा गर्न र आम नागरिकलाई र सामुदायिक पुँजीलाई दोहन गर्न रोकेका छैनन् । विगत २-३ दशकमा जसरी देशमा सर्वत्र क्रोनी पूँजिवाद हावी भयो, दल, तिनका भातृ संगठन र तिनमार्फत् राज्यका सबै अङ्ग अन्ततः दलाल र संभ्रान्तको हितमा परिचालन हुने साधन बनाइए (केही घटनाविशेष अपवाद बाहेक), यो सारा अवधिभर मिडिया लगभग पूरै बेखबर रह्यो । मिडियाको चेतना अझै उन्नत भएको छैन । नागरिक समाजले थरीथरीका पिनहोल चश्माले मात्र देशलाई हेर्ने, तर सबै जात, भाषा, क्षेत्र र अन्य कोटी-विभाजनमा छुट्टिएका सारा नागरिकका वर्तमान र भविष्यलाई एकैनासले बन्धक बनाइरहने -र यससँग लड्छु भने सबैलाई जुटाउने पनि- यत्रो बडेमानको अर्थ सामाजिक अजिङ्गरलाई भने नदेख्ने प्रण गरेको छ। राजनैतिक दल कुनैमा पनि यो समस्यालाई रोक्नुपर्छ भन्ने सामूहिक चेत छैन । आँट, घोषित नीति त झन् शून्य । अचेल राजनैतिक करियर-पथ यसरी कोरिन्छन् कि आशालाग्दा केही युवा नेता पनि त्यही दलाल तन्त्रको पृष्ठपोषक हुने शर्तमा, र त्यस्तो झुकावको प्रमाण दिँदै गएमा मात्र निर्णायक ठाउँमा पुग्नेछन् । दलालतन्त्र बिचौलियातन्त्रको अन्तिम लक्ष्यजस्तै हो मोनोपोलि । यो चुनौतिसँग लड्न जुन किसिमको राजनीति र सांगठनिक पहल देखिनुपर्ने हो, नागरिक समाज र मिडियाको जुन किसिमको चेतना र पूर्वसक्रियता हुनुपर्ने हो, त्यो कसैबाट कतैबाट नदेखिँदा हाम्रो नियति यही दलदलमा झन् भासिँदै जाने हुने हो । यो मोनोपोलि बन्नबाट रोक्न वा भत्काउन के हुन सक्छ ? के गर्न सकिन्छ ? तृणमूल तहबाटै गलत संरचना र संस्कारलाई विस्तारै भत्काउने संगठनको निर्माण र विस्तार नै सबैभन्दा दिगो समाधान हो । तर त्यो बनाउने प्रयत्न हुँदै गर्दा यी अरू काम हुँदै जान सक्लान्- १. खुबी देखाउन चाहने सांसद र युवा राजनीतिकर्मीहरूले सरकारको मुख नताकी आफ्ना र सबै दलका यो विषयमा कुरा मिल्ने समकक्षीहरूसँग मिलेर एकाधिकार व्यापार-निरोधी (ट्रस्ट-बस्टिङ) कानुन र स्वार्थको द्वन्द्व सम्बन्धि कानुनको पक्षमा लहर सिर्जना गर्ने, कानुन बनाउने र संसदबाट पास गर्ने । २. आम नागरिकको अधिकार र सामुदायिक स्वार्थको लागि वकालत गर्ने जुझारूपना र निष्ठा भएका कानुनकर्मीहरूलाई निरन्तर त्यसो गरिरहन चाहिने आर्थिक आवश्यकता पुरा गर्ने र अन्य भरथेग गर्ने संस्था र सञ्जाल (अमेरिकाको एसीएलयू जस्तो) बनाउन सक्ने सबैले आर्थिक दान र अरू पहल गर्ने । ३. दलालतन्त्र, मोनोपोलिले गरेका बदमाशीको हप्तौं र महिनौंसम्म अध्ययन गर्दै, अन्याय र ठगीका सबै पत्र उप्काउँदै सप्रमाण समाजलाई पस्कने कर्मठ पत्रकारहरूलाई त्यसरी पत्रकारिता गरिरहन सम्भव बनाइदिन सक्ने आर्थिक क्षमता र मिसन भएका संस्था बनाउन सक्ने सबैले आर्थिक दान र अरू पहल गर्ने । (डा. सुवेदीकाे सामाजिक सञ्जालबाट)