वैदेशिक रोजगार म्यादी जीवन बीमाको दायरा बढ्दै, ४ महिनामा १ अर्ब बढीको व्यवसाय
काठमाडौं । स्वदेशमै रोजगार सिर्जना नभएपछि कामको सिलसिलामा विदेश जाने नागरिकको संख्या दिनदिनै बढ्दै गएसँगै वैदेशिक रोजगार म्यादी जीवन बीमाको पनि दायरा बढ्दै गएको छ । सरकारले यो बीमालाई अनिवार्यसमेत गरेको कारण म्यादी जीवन बीमाको दायरा बढ्दै गएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनाको अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमा लेखअन्तर्गत २४ करोड ४३ लाख रुपैयाँ पोलिसी जारी भएको छ । सो संख्या बराबरको पोलिसी जारी हुँदा बीमा कम्पनीहरूले १ अर्ब १७ करोड ७३ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमा लेखअन्तर्गत २१ लाख ६८ हजार ५५वटा पोलिसी जारी गरी १ अर्ब ५ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका थिए । गत आवको तुलनामा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन व्यवसाय ११.४० प्रतिशतले वृद्धि भएको छ । बीमा कम्पनीहरूले उक्त पोलिसीअन्तर्गत सबैभन्दा धेरै व्यवसाय बागमती प्रदेशबाट गरेको छ । बीमा कम्पनीहरूले बागमती प्रदेशबाट मात्रै २४ लाख १३ हजार संख्या बराबरको बीमालेख जारी गरी कुल १ अर्ब ९ करोड ४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । यो कुल व्यवसायको ९२.६२ प्रतिशत हो । त्यस्तै, चार महिनाको अवधिमा कोशी प्रदेशबाट ८५ लाख ७६ हजार बीमालेख जारी गरी २ करोड ५७ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । मधेश प्रदेशबाट २ अर्ब १३ करोड रुपैयाँ, लुम्बिनीबाट २ अर्ब ८ करोड रुपैयाँ, गण्डकीबाट १ अर्ब ३८ करोड रुपैयाँ, कर्णालीबाट २५ लाख र सुदूरपश्चिमबाट २४ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेखअन्तर्गत बागमतीबाट १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष लुम्बिनी, गण्डकी र लुम्बिनीबाट १ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो ।
मेटलाइफ नेपाल र बीमा गोजिमा एपबीच साझेदारी, मोबाइलबाटै बीमा खरिद गर्ने सुविधा
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो डिजिटल पहुँच विस्तार गर्दै ग्राहकहरूको लागि मोबाइल एपबाटै सजिलै खरिद गर्न सकिने विशेष बीमा सुरक्षा प्याकेजहरू सार्वजनिक गरेको छ । यस उद्देश्यका लागि मेटलाइफले डिजिटल प्लेटफर्म बीमा गोजिमा मार्फत पहिचान पाएको नियोअस्योर इन्स्योरेन्स एजेन्ट प्रालि सँग साझेदारी गरेको हो । यस साझेदारीमार्फत बीमा गोजिमाका सदस्यहरूलाई विशेष रूपमा तयार गरिएको सिंपल ग्रुप अफिनिटी प्याकेज उपलब्ध हुनेछ । ग्राहकहरूले केही आधारभूत केवाइसी विवरण भरिसकेपछि आफ्नो फोनबाटै आवश्यक बीमा सुरक्षा छान्न र खरिद गर्न सक्नेछन् । यसले बीमा प्रक्रियालाई छिटो, सजिलो र पहुँचयोग्य बनाएको छ । प्याकेजमा समावेश मुख्य सुरक्षा सुविधाहरूमा टर्म लाइफ इन्स्योरेन्स समावेश छ, जसले जीवन बीमा सुरक्षा प्रदान गर्दछ । साथै, एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी पनि उपलब्ध छ, जसले दुर्घटनाका कारण मृत्युलाई कभर गर्दै स्थायी अपाङ्गतामा आर्थिक सुरक्षा प्रदान गर्छ । प्याकेजमा क्रिटिकल इलनेस कभर पनि समावेश गरिएको छ, जसले योजनामा समावेश गम्भीर रोग पुष्टि भएमा आर्थिक सहायता उपलब्ध गराउँछ । त्यसैगरी, एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट सुविधा मार्फत दुर्घटनाका कारण भएको उपचार खर्चलाई पनि कभर गरिन्छ । ग्राहकहरूले स्ट्यान्डअलोन टर्म लाइफ योजना वा आवश्यकताअनुसार टर्म लाइफ एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी, टर्म लाइफ क्रिटिकल इलनेस, वा टर्म लाइफ एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी क्रिटिकल इलनेस एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट जस्ता मिश्रित प्याकेजहरू चयन गर्न सक्नेछन् । मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, 'हामी नेपाली ग्राहकलाई सरल र भरपर्दो बीमा सुरक्षा प्रदान गर्ने यात्रामा छौं । बीमा गोजिमासँगको यो सहकार्य डिजिटल बीमा पहुँचलाई नयाँ स्तरमा लैजाने महत्वपूर्ण कदम हो । यसले ग्राहकलाई छिटो, सजिलो र पारदर्शी तरिकाले भविष्य सुरक्षित गर्न मद्दत गर्नेछ ।' साथै नियोअस्योरका महाप्रबन्धक युगेन गौतमले भने, 'मेटलाइफ नेपालसँगको हाम्रो साझेदारीले प्रविधि र विश्वसनीय सुरक्षाको शक्तिशाली संयोजन प्रस्तुत गर्दछ । यस सहकार्यले जीवन बीमालाई पहिलेभन्दा अझ पहुँचयोग्य बनाउँदै ग्राहकलाई सूचित निर्णय गर्न र आफ्नो परिवारको भविष्य सुरक्षित गर्न सक्षम बनाउँछ ।' साझेदारीले डिजिटल–फस्ट ग्राहकहरूलाई आधुनिक र सहज बीमा अनुभव प्रदान गर्दै नेपालको डिजिटल बीमा इकोसिस्टमलाई मजबुत बनाउने अपेक्षा राखेको छ ।
४ महिनामा निर्जीवन बीमकको व्यापार १५ अर्ब ८४ करोड, शिखर र सलिकोबीच टक्कर
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिना (कात्तिक) सम्म १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ९ लाख ३ हजार ९८५ वटा बीमालेख जारी गरेर १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । बीमा कम्पनीहरूले चालु आवको पहिलो चार महिनामा संकलन गरेको कुल बीमा शुल्क गत आवको यही अवधिको तुलनामा १२.४२ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले ८ लाख ९७ हजार २३५ वटा बीमालेख जारी गरेर १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । चार महिनाको अवधिमा कुल व्यवसाय आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र शिखर इन्स्योरेन्सबीच कडा टक्कर देखिएको छ । यो अवधिमा सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकाले चार महिनामा १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ०.३८ प्रतिशतले बढेको छ । दोस्रो धेरै व्यवसाय भित्र्याउने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । शिखरले यो अवधिसम्ममा १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय २३.२८ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले चालु आवको चार महिनामा १ अर्ब ६० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३९.६६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, चार महिनामा शिखर इन्स्योरेन्सले १ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड ३६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २६ करोड २२ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड ३७ रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २ करोड ३ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले ९२ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा हिमालयन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.८२ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२.२२ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३४.०१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३९ प्रतिशत, युनाइटेड अजोडको २७.८० प्रतिशत र सानिमा जीआईसीको ३०.९३ प्रतिशतले व्यवसाय बढेको छ । चालु आवमा ओरियन्टलको भने ०.५० प्रतिशतले व्यापार घटेको छ । चार महिनामा नेपाल इन्स्योरेन्सले ८६ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६५ करोड ७१ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ५० करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । गत आवको तुलनामा नेपाल इन्स्योरेन्सको १०.०९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.७१ प्रतिशत र नेशनल इन्स्योरेन्सको ३.९० प्रतिशत व्यवसाय बढेको छ । राष्ट्रिय बीमा कम्पनीको भने व्यापार २८.९३ प्रतिशतले घटेको छ ।