सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको हो । ‘म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप’ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्याक अफिस र फ्रन्ट अफिसमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो । नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षकहरूले प्रदान गर्नुभएको उक्त प्रशिक्षण, कर्मचारीहरूका लागि कार्यस्थलमा आफ्ना सहकर्मीहरू र अन्य आन्तरिक तथा बाह्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गरी उत्कृष्ट कार्यसम्पादन गर्ने र उक्त कार्य गर्नमा आफूमा के -कस्ता परिवर्तनहरू ल्याउन आवश्यक पर्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न , कर्मचारीहरूबीच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकाश हुने विश्वास व्यक्त गरे ।

आचार्य भन्छन्- स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ढंगले समितिले काम सुरु गरिसक्यो

काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिले काम शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमा गत आइतबार सुझाव समितिको पहिलो बैठक बसेर समितिले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी खाका बनाउने कामलाई अघि बढाएको हो । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि रोडम्यापसहितको सुझाव तयार पार्ने काम सुरु गरिएको समितिका संयोजक डा. शम्भुप्रसाद आचार्यले जानकारी दिए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले कुन हदसम्म अघि बढाउन सक्ने भन्ने कुरापनि सुझावमा उल्लेख गरिने बताए । संयोजक डा. आचार्यले भने, ‘राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने स्वास्थ्यमन्त्री प्रदीप पाैडेलकाे एउटा ठूलो कमिटमेन्ट देखेकाे छु । त्यहीअनुसार कमिटी गठन भएको छ । कमिटीमा डा. भगवान कोइराला, डाक्टर रघुराज काफ्ले हुनुहुन्छ । मन्त्रीज्यूको जुन एक्सपेक्टेशन छ, त्यो एक्सपेटेशनलाई कमिटीले पूरा गर्छ भन्ने मैले विचार राखेको छु । यसलाई कसरी प्रभावकारी बनाउने, कसरी प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याओस् भन्ने कमिटमेण्ट छ । कमिटीले काम सुरु गरिसकेकाे छ ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यही असोज ८ गते स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिने कार्यादेशसहित डा. आचार्यको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला, विकास अर्थशास्त्री डा. रघुराज काफ्ले, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत रहने गरी सो सुझाव समिति गठन गरेका थिए । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आवद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुमारी बैंक र ट्रष्ट माइक्रोबीच सम्झौता, सजिलो तरिकाले लघु बीमा सेवा प्रदान गर्ने

काठमाडौं । कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच ग्राहकहरूलाई सहज तवरले लघु बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हाे । ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले ग्राहकहरूको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरूको सरल तरिकाले लघु बीमा गराउन सक्नेछन् । लघु बीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरूको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरूबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरूलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस भएको क्षतीलाई पुनः प्राप्ति गर्न मद्दत दिलाउँने कम्पनीको भनाई छ । नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भुमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले बताएको छ ।