सन नेपाल लाइफ इन्स्योरेन्सले गर्याे दुईवटा नवीनतम बीमा योजना सार्वजनिक
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेकाे हाे । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको सन नेपाल लाइफले जनाएकाे छ । ‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको कम्पनीकाे दावी छ । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालिन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिनसक्ने अपेक्षा कम्पनीकाे छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देश रहेका छन् । सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सतकर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ । सात सत्कर्म अन्तर्गत प्रभातफेरि, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ–मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामग्री गरिएको छ । सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ । वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौंलगायत विभिन्न सहरमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरि समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पारेका थिए । यस अवसरमा कम्पनीमा स्थापनाकाल देखी कार्यरत कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको छ । सुरुदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आम सञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कृषि बीमाको अनुदानलाई ५० प्रतिशतसम्म झार्ने तयारी, पारित हुँदै कार्यविधि
काठमाडौं । सरकारले कृषि बीमाको अनुदानलाई ५० प्रतिशतमा झार्ने तयारी थालेको छ । जसका लागि साविकको बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध लगाउने निर्देशिका, २०७० पनि खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैंकले कृषि तथा पशुपंक्षीको बीमा अनुदानसम्बन्धी निर्देशिका खारेज गरेको हाे । मन्त्रिपरिषदले उक्त निर्देशिका असोज मसान्तदेखि लागू हुनेगरी खारेज गरेको हो । अर्थात असाेज मसान्तसम्म सोही निर्देशिकाअनुसार काम हुनेछ । निर्देशिकाअनुसार कृषि बीमाको प्रिमियममा किसानले ७५ प्रतिशत अनुदान पाउने छन् । तर, आर्थिक वर्ष २०७८/०७९ को बजेटमा अनुदान दिने प्रतिशत बढाएर ८० प्रतिशत पुर्याइएको थियो । त्यसयता कृषि तथा पशुपक्षी बीमाको प्रिमियममा किसानले ८० प्रतिशत नै पाउँदै आएका थिए । तर, चालु आर्थिक वर्ष २०८१/०८२ को कार्तिक एक गतेदेखि लागू हुनेगरी उक्त अनुदान प्रतिशत घटाउने तयारी सरकारले गरिरहेको छ । जसका लागि कृषि मन्त्रालयले कार्यविधि नै बनाइसकेको छ । विकासन्यूजलाई प्राप्त सूचनाअनुसार अनुदानलाई ३ वटा संरचनामा विभाजन गरिएको छ । जहाँ ठूला किसानलाई ६५ प्रतिशतसम्म र साना किसानलाई ८० प्रतिशत नै अनुदान दिनेगरी ड्राफ्ट भएको कार्यविधि विकासन्यूजलाई उपलब्ध भएको छ । ५० लाखसम्मको बीमांक रकम भएमा ८० प्रतिशत अनुदान, १ करोड रुपैयाँसम्मको बीमांक रकम भएमा ६५ प्रतिशत र त्योभन्दा धेरै बीमांक रकम भएमा ५० प्रतिशत अनुदान दिने उक्त कार्यविधिमा उल्लेख छ । उक्त कार्यविधि केही दिनमा नै कृषि तथा पशुपंक्षी मन्त्रालयले पारित गर्ने स्रोतले जनाएको छ । साना किसानलाई मर्का नपर्नेगरी अनुदान घटाइयो कृषि तथा पशुपंक्षी बीमावापत सरकारले २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । ८० प्रतिशत अनुदान दिँदा हरेक वर्ष सरकारको दायित्व ३ अर्ब रुपैयाँ हुने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ । अनुदान रकम हरेक वर्ष बढ्दै गएको पनि छ । यसले सरकारलाई ठूलो आर्थिक भार थपिरहेको अर्थ मन्त्रालयले महसुस त गरेकै थियो तर अनुदान घटाउनतिर भने साेंचेकाे थिएन । यद्यपि चालु आवको बजेटमा यस वर्षका लागि २ अर्ब ६ करोड रुपैयाँ कृषि अनुदान रकम वापतका लागि छुट्याइएको छ । ८० प्रतिशतलाई नै निरन्तरता दिने हो भने २ अर्ब ६ करोडले अनुदान दिन पुग्ने स्थिति छैन । अर्थ मन्त्रालय र कृषि मन्त्रालयबीच यसबारे पटकपटक छलफल पनि भएको थियो । विगतका वर्षहरूमा पनि चाहिने अनुदानभन्दा धेरै कम रकम बजेटमा छुट्याइन्थ्यो । जसको नतिजा असार महिनामा रकमान्तर गरेर अनुदान वापतको दायित्व भुक्तानी गरिन्थ्यो । यस वर्ष भने सोही रकमबाट अनुदान कसरी पुर्याउने भन्नेबारे सबै सरकारवाला, अर्थ र कृषि मन्त्रालयबीच बारम्बार छलफल भएको थियो । सो छलफलले ५०, ६५ र ८० प्रतिशतको स्टक्चरमा जाने सहमति भएको हो । जसअनुसार कृषि मन्त्रालयले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध लगाउने निर्देशिका, २०७० लाई संसोधनका लागि कानून मन्त्रालयलाई प्रस्ताव गरेको कृषि मन्त्रालयका सूचना अधिकारी महेन्द्र जोशीले विकासन्युजलाई । जहाँ वार्षिक कार्यक्रमअनुसार नै कृषि बीमाको अनुदानका लागि मन्त्रालयलाई आफै कार्यविधि बनाएर काम गर्न कानूनले सुझाव दिएको थियो । यता अर्थसँग पनि ५०, ६५ र ८० प्रतिशतको स्टक्चरबारे कृषिले सहमति पाइसकेको थियो । सोहीअनुसार निर्देशिकालाई खारेज गरेर कार्यविधिबाट नै अघि बढ्ने मन्त्रालयले तयारी गरेको सूचना अधिकारी जोशीले जानकारी गराए । साना किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले ५० लाख बीमांकसम्म ८० प्रतिशत अनुदानलाई कायम राखिएको पनि उनले बताए ।
नेशनल लाईफको ‘मिट द सीइओ’ कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीइओ’ सम्पन्न गरेको छ । मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्ताहरूलाई उनीहरूको लगन परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरेका छन् भने स्किममा व्यवस्था भएअनुरूप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रप्रसाद खत्रीले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए । सीईओ खत्रीले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीइओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएको जानकारी दिए । उनले मधेश प्रदेशबाट मात्रै ३० जना अभकिर्ताहरू छनौट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको जानकारी दिए । कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सीइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव सहभागीहरूले दिएका थिए ।