२ महिनामा निर्जीवन बीमाको व्यापार करिब ८ अर्ब, अर्ब क्लबमा सलिको मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ) मा निर्जीवन बीमा कम्पनीहरूले करिब ८ अर्ब रुपैयाँको व्यापार गरेका छन् । ४ लघुसहित १८ निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८५ करोड ७० हजार रुपैयाँ बढीको व्यापार गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गरेको छ । सलिकोले एक अर्ब एक करोड २१ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको छ । सलिको यो दुई महिनामै अर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्ने एक्लो कम्पनी बनेको छ । यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८१ करोड ३३ लाख, शिखर इन्स्योरेन्सले ७२ करोड ३४ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड २३ लाख, नेको इन्स्योरेन्सले ५८ करोड ८९ लाख, आइजीआई प्रुडेन्सियलले ५८ करोड १ लाख, राष्ट्रिय बीमा कम्पनीको ५४ करोड ५३ लाख र एनएलजी इन्स्योरेन्सले ४८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कुन कम्पनीको व्यापार कति ?      

आईएमई लाइफले ल्यायो ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सल‍े ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरूसहित विभिन्न पेशामा आवद्ध व्यक्तिलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । १८ वर्षभन्दा माथिका व्यक्तिले न्यूनतम बीमाङ्क ५० हजार रुपैयाँ राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेशागत व्यक्ति, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ । विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, विभिन्न २१ घातक रोगविरुद्धको रक्षावरणसहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने व्यवस्था कम्पनीले गरेको छ । साथै बीमाशुल्कको भुक्तानी बीमितको इच्छाअनुसार एकैपटक वा नियमितरूपमा तिर्न सकिनेछ । कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्तामार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशत छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण बीमा शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितहरूले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरूमा छुट दिने भएको हो । कम्पनीले असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारू गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने कम्पनीले जनाएको छ । ३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा ३० प्रतिशत, ३ वर्ष भन्दामाथि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा २५ प्रतिशत र ५ वर्ष भन्दामाथि व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि १ वर्ष भित्र समर्पण भएमा प्रदान छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ । कम्पनीका अनुसार एकपटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरूलाई पूरा बीमा अवधिभरी पुनः छुट दिइने छैन ।