एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हट्यो, अभिकर्तालाई सफलता
काठमाडौं । अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटेको छ । बीमा प्राधिकरणको सञ्चालक समिति बैठकले सो व्यवस्थालाई हटाएको हो । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले यसअघि गरेको व्यवस्थालाई हटाएर अब अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्थालाई हटाएर बीमा गर्न पाउने व्यवस्था गरेको जानकारी गराएका हुन् । उनका अनुसार गत साउनको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० संशोधन गरेर एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाएको हो । उनले अब केही दिनभित्र प्राधिकरणले सो संशोधित निर्देशिका सार्वजनिक तयारी गरेको बताए । नेपाल बीमा प्राधिकरणले गत चैतमा बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० जारी गर्दै बीम अभिकर्ताले एकाघर परिवारको बीमा गर्न बन्देज लगाएको थियो । सो निर्देशिकाको दफा ३६ को उपदफा (३) मा ‘बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन पाउने छैन भन्ने उल्लेख थियो । मुख्य सरोकारवाला अभिकर्ताहरूसँग छलफल नै नगरी हचुवाको भरमा प्राधिकरणले यस्तो व्यवस्था ल्याएको भन्दै सर्वत्र विरोध भएको थियो । मुलतः जीवन बीमा व्यवसायको मुख्य व्यापार नै अभिकर्ताले गर्ने गर्दछन् । तर, तिनै अभिकर्तालाई वाइपास गरेर आफूहरुको हितविपरीत प्राधिकरणले एकाघर परिवारको बीमा गर्न नपाउने नियम ल्याएको भन्दै अभिकर्ता प्राधिकरणप्रति असन्तुष्ट बनेका थिए । सो नियमले अभिकर्तामात्र होइन समग्र जीवन बीमा क्षेत्रलाई नै नकारात्मक प्रभाव पर्ने भन्दै अभिकर्ताहरूले आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । पेसागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले उक्त नियम नसच्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी प्राधिकरणलाई दिएका थिए । उनले भनेका थिए, ‘आफ्नो नजिकको मान्छेको बीमा गराएर अभिकर्ताको सुरुवात गर्नुपर्छ भन्ने प्राधिकरणले नै भन्ने गरेको छ । तर, फेरि नजिकका नातेदारको बीमा गर्न नपाउने नियम बनायो, यसले गर्दा नयाँ अभिकर्ता निरुत्साहित हुनुका साथै पुरानाले पनि यस पेसाबाट बाहिरिने सम्भावना हुन्छ ।’ यो नीतिले समग्र जीवन बीमा क्षेत्रलाई नै नकारात्मक असर पर्ने अभिकर्ताको भनाइ थियो । निर्देशिका जारी भएपछि अभिकर्ता र प्राधिकरण धेरै चरणमा यसबारेमा छलफल पनि गरे । तर, निकास निस्किएको थिएन । अभिकर्ताको निरन्तरको आन्दोलन गर्ने चेतावनी र दबाबपछि प्राधिकरणले अन्ततः सो नीतिबाट पछि हट्नु परेको हो । यसले अभिकर्ताहरूलाई सफलता मिलेको छ । अब अभिकर्ताले एकाघर परिवारको पनि बीमा गर्न पाउनेछन् ।
प्रभु महालक्ष्मी लाइफको हकप्रद सेयर पुनरावलोकन
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले हाल कायम रहेको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेपछि हकप्रद सेयर पुनरावलोकन गरेको हो । नेपाल बीमा प्राधिकरणको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाले हकप्रद सेयर पारित गर्ने कम्पनीले जनाएको छ ।
प्रभु महालक्ष्मी लाइफले घोषणा गर्याे १०.५२ प्रतिशत लाभांश
काठमाडौं । प्रभु महालक्ष्मी लाइफले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको भदौ ७ गते बसेको सञ्चालन समितिको बैठकले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामि वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव किशोर प्रसाद लामिछानेले जानकारी दिए ।