सलिको र डेल्क्रेडा नेपालबीच उधारो बिक्री बीमा प्रवर्द्धन गर्न समझदारी
काठमाडौं । नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनी सलिको र उधारो बिक्री व्यवस्थापन (ट्रेड क्रेडिट म्यानेजमेन्ट) तथा उधारो बिक्री बीमासम्बन्धी विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपालबीच असार ४ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली बजार अनुरूप उधारो बिक्री बीमाको शुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ जसबाट व्यवसायी लगायत सरकारलाई पर्याप्त लाभहरू हुने देखिन्छ । समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । यस सहकार्यको मुख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रूपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्री बीमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्नु बताइएको छ । यस सहकार्यले तालिमका कार्यक्रमहरू आयोजना गरेर उधारो बिक्री बीमाको फाइदाहरूका बारेमा व्यवसायहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य राखेको छ । साथै, डेल्क्रेडा नेपालले सलिको लाई उपयुक्त उधारो बिक्री बीमा नीति विकास गर्न, प्राविधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तर रूपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्नेछ । उधारो बिक्री बिमाको सुरुवातले व्यवसाय, सरकार र बीमा उद्योगमा धेरै फाइदाहरू हुनेछ । व्यवसायलाई हुने फाइदाहरू यस प्रकारका छन्ः जोखिम न्यूनीकरणः उधारो बिक्री बीमाले व्यवसायहरूलाई तिनीहरूका ग्राहकहरूले भुक्तान नगर्ने जोखिमबाट जोगाउँदछ र तिनीहरूका नगद प्रवाहमा बाधा नपर्ने सुनिश्चित गर्दछ । क्रेडिट व्यवस्थापनः उधारो बिक्री बीमाबाट, व्यवसायहरूले आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी क्रेडिट सर्तहरू बढाउन, व्यापार सम्बन्ध सुदृढ गर्न र आफ्नो बजार पहुँच विस्तार गर्न सहयोग पुर्याउँदछ । वित्तिय पहुँचः उधारो बिक्रि बीमा गरिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले व्यवशायी हरुलाई अनुकुल शर्तमा सहजै ऋण प्रदान गर्ने देखिन्छ । स्थायित्व र वृद्धिः आफ्नो व्यवसायहरूलाई ऋण जोखिमहरूबाट जोगाएर, व्यवसायहरूले अझ बढी आत्मविश्वासका साथ दीर्घकालीन वृद्धि र स्थिरताको लागि योजना बनाउन सक्दछन्। सरकारलाई हुने फाइदाहरू आर्थिक स्थायित्वः सरकारले उधारो बिक्री बीमाको प्रयोगलाई बढावा दिएर, भुक्तानी नगरिएको बिजकहरूका कारण व्यवसाय विफलताको जोखिमलाई कम गर्दछ र अर्थतन्त्रको समग्र स्थिरतालाई बढाउँदछ। कर राजस्वमा वृद्धि उधारो बिक्री बीमाको थप सुरक्षाको साथ व्यवसायहरू बढ्दै र फस्टाउन थालेपछि, उच्च व्यापार गतिविधि र कर राजस्वमा समेत वृद्धि हुनेछ । सुदृढ वित्तीय क्षेत्र र लगानी आकर्षणः उधारो बिक्री बीमा बजारको विकासले नेपालको वित्तीय क्षेत्रको समग्र बल र लचिलोपनमा योगदान पुर्याउनेछ, थप लगानी आकर्षित गर्न र आर्थिक विकासलाई बढावा दिनेछ ।
मर्जरबिनै सलिकोलाई शिखरको टक्कर, ओरियन्टलको आक्रामक बिजनेस
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सामान्य वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्मको तथ्याङ्कमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय सामान्य बढेको हो । चालु आर्थिक वर्षको ११ महिनामा १४ वटा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ०.३६ प्रतिशत बढेर ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । गत आर्थिक वर्ष २०७९/८० को जेठमा ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय आर्जन गरेका थिए । समीक्षा अवधिमा दि.ओरियन्टल इन्स्योरेन्स व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । ११ महिनामा यस कम्पनीको कुल बीमाशुल्क आर्जन ४०.५६ प्रतिशत बढेर १ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ गरकेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २४ करोड ८६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । नेशनल इन्स्योरेन्सको १२.३३ प्रतिशत बढेर १ अर्ब १ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९० करोड ७५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सको ११.१५ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड ७७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । सानिमा जिआइसीको ८.२३ प्रतिशत बढेर २ अर्ब २१ करोड ६८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ८.०३ प्रतिशत बढेर २ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ६.४० प्रतिशत बढेर ३ अर्ब २१ करोड ३३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका हुन् । यस्तै, हिमालयन एभरेष्टको ५.६६ प्रतिशत बढेर ३ अर्ब २३ करोड ५७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ५.२४ प्रतिशत बढेर २ अर्ब २६ करोड ९ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सको ५.०१ प्रतिशत बढेर ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २.८५ प्रतिशत बढेर ४ अर्ब ८९ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । समीक्षा अवधिमा विभिन्न ४ वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय भने घटेको छ । नेपाल इन्स्योरेन्सको ०.५७ प्रतिशत घटेर १ अर्ब ४० करोड २२ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरको ८.६८ प्रतिशत घटेर ३ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोडको २४.१४ प्रतिशत घटेर २ अर्ब ३८ करोड ७० लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ३२.३१ प्रतिशतले घटेर १ अर्ब ५३ करोड १४ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका हुन् । ११ महिनाको अवधिमा ओरियन्टल इन्स्योरेन्स व्यवसाय वृद्धिमा आक्रामक देखिएपनि मर्जरबिनै शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेको छ । साथै शिखर इन्स्योरेन्सलाई मर्जरमा गएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पच्छ्याइरहेको छ ।
सीएसआरको रकम तत्काल खर्च गर्न प्राधिकरणका अध्यक्षको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरूलाई सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम तत्काल र्खच गर्न निर्देशन दिएका छन् । आइतबार नेको इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको जिल्ला उपशाखा बाणगंगालाई एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । उनले बीमा कम्पनीहरुले सीएसआर अन्तर्गतको खर्च जनताको हित हुने क्षेत्रमा गर्नुपर्ने बताए । साथै समाजबाट कम्पनीहरूले व्यवसाय गर्ने र सो व्यवसायबाट हुने नाफाको एक प्रतिशत रकम सम्बन्धित क्षेत्रमा खर्च गर्नुपर्ने उनको भनाइ छ । ‘कम्पनीले समाजबाट व्यवसाय गरेर समाजमै सामाजिक सेवाको रूपमा काम गर्नुपर्छ,’ उनले भने, ‘सीएसआरको रकम बचत गरेर राख्नु हुँदैन, त्यो रकमलाई तत्काल खर्च गर्नुपर्छ ।’ सीएसआरको रकम समयमा खर्च हुँदा कम्पनीको हितमा हुने उनले बताए ।