बीमामा बेइमान, करोड कमाउने लोभमा ‘मुटु’को हत्या
काठमाडाैं । २०७६ साल असार १७ गते छोरी हराएको भन्दै राम किशोर यादवले प्रहरीमा खबर गरे । रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका यादवले छोरी घरबाट हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । खबरपछि खोजीमा जुटेको प्रहरीले स्थानीयको सहयोगमा यादवको छोरीको शव गाउँकै एक पोखरीमा फेला पार्यो । पोष्टमार्टमका क्रममा शरिरमा निलडाम देखेपछि बालिकाको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गर्दै अनुसन्धान अगाडि बढायो । तत्कालीन प्रहरी नायक उपरीक्षक नविन कार्की नेतृत्वको प्रहरी टोलीले गरेको अनुसन्धानमा बालिकाकै बुबा रामकिशोर यादवले हत्या गरेको निष्कषृ निकाल्यो । प्रहरीको अनुसन्धानले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेर बीमाको रकम खाने योजना उनले बुनेका रहेछन् । रामकिशोरले जिल्लाकै गरुडामा रहेको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठ २०७६ मा छोरीको नाममा २५ लाख रुपैयाँको जीवन बीमा गराएका थिए । बीमा बापतको पहिलो किस्ता करिब पौने २ लाख उनले कम्पनीलाई बुझाइसकेका थिए । यो बीचमा उनलाई कसैले सुनाई दियो, ‘बीमा गरेको एक महिनामै यदि बिमकको निधन भएमा बीमाको दुई गुणा रकम फिर्ता हुन्छ ।’ ती व्यक्तिको वाक्यले उनको मन मस्तिष्क रन्थनियो । उनलाई २५ लाख रुपैयाँबाट ५० लाख रुपैयाँ पाउने लोभको भुत जाग्यो । सोही बीमाको रकम पाउने लोभमा कुटपिट गरेर छोरीको हत्या गरे । हत्यापछि छोरीको शव पोखरीमा फालेर आफैंले छोरी हराएको भन्दै प्रहरीमा खबर गरे । अनुसान्धानपछि प्रहरीले बीमा बापतको रकम पाउन आफ्नै ४ बर्षीय छोरीको हत्या गरेको आरोपमा उनीविरुद्द मुद्दा दायर गरेको थियो । यस्तै, २०८० साल असोजमा बीमा रकम हात पार्न नक्कली विवाह गरेर हत्या गरेको घटनामा संलग्न ६ जना विरुद्द मुद्दा चल्यो । पैसाका लागि कानुनी रूपमा श्रीमती बनेकी सपना मल्लसहित सञ्जीव अर्याल, छविकुमारी खत्री, दीपक केसी, सरदार अहमद खाँ र टोपबहादुर क्षेत्रीविरुद्ध मुद्दा चल्यो । सपनाविरुद्ध दुई करोड ५० लाख, सञ्जीवलाई ८० लाख ३६ हजार, छविकुमारीलाई १७ लाख ४६ हजार, दीपकविरुद्ध ६० लाख बिगो कायम गरिएको थियो । त्यस्तै, अहमद खाँविरुद्ध २० लाख बिगो कायम गरी प्रहरीले मुद्दा दायर गरेको थियो । सञ्जीव नेतृत्वको गिरोहले सपनाको बाँके कोहलपुरका सर्जन बिकसँग कानुनी रूपमा बिहे गराई दुर्घटना भएको देखाएर उनको हत्या गरी बीमा रकम निकाली बाँडेर लिएका थिए । पछि नेपाल पुनर्बिमा कम्पनीले शंका लागेर प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको थियो । ठूलो रकमको बीमा गरेलगत्तै शंकास्पद मृत्यु भएकाले पुनर्बिमाका कर्मचारीले शंका गरेर प्रश्न उठाएपछि अनुसन्धान सुरु भएको थियो । एक सामान्य मजदुरको साढे दुई करोड रुपैयाँको बीमा हुनु, बीमा गरेको चार दिनपछि विवाह दर्ता हुनु र त्यसको एक महिनामै उनको शंकास्पद मृत्यु हुनुले घटना सुनियोजित हुन सक्ने शंका गर्दै प्रहरीमा उजुरीमा परेपछि यो घटना बाहिर आएको हो । सोही आधारमा पुनर्बीमाले रिलायन्स लाइफ इन्स्योरेन्सलाई यसबारे जानकारी गराएपछि सो कम्पनीका उच्च अधिकारीले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेका थिए । अनुसन्धानमा बीमाकै लागि हत्या भएको अनुसन्धानबाट खुलेको थियो । बीमाबापत आएको साढे दुई करोडमध्ये एक करोड सात लाख ६६ हजार सपना र उनको परिवारले लिएका थिए । ८० लाख ३६ हजार सञ्जीव र ६० लाख दीपक केसीले लिएका थिए । त्यसैगरी, सो समूहले अन्य व्यक्तिको पनि बीमा गराएर योजनाबद्ध रूपमा हत्याको योजना बनाएको समेत प्रहरी अनुसन्धानमा खुलेको थियो । करोड पाउने लोभमा श्रीमतीकै हत्या २०७६ असार १ गते पोखरा-१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल हराएको २५ दिनपछि नजिकैको जंगलमा फेला प¥यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक-पटक प्रहरी कार्यालय पुगेका लक्ष्मीका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए । रमेश पोखराको रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै सामान्य मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीया लक्ष्मी गृहणी थिइन् । श्रीमानलाई हरेक बिहान पसलमै खाना पु¥याउने उनको दैनिकी थियो । लक्ष्मीलाई छालाको एलर्जी थियो । छालाको एलर्जी भएपछि उनीहरू उपचारका लागि धेरै ठाउँ धाएका थिए । योजनाबमोजिम असार १ मा छालाको एलर्जी उपचारका लागि रमेश दम्पती नजिकैको जंगलमा जडिबुटी खोज्न गए । त्यही जंगलमा रमेशले श्रीमतीको हत्या गराए । हत्यापछि रमेशले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजतलास गरिदिन निवेदन दिए । उनले उक्त दिन श्रीमतीलाई पसल कुर्न भनी कालिकाचोकमा छोडेर आफू मोबाइलसम्बन्धी कामले साथी भेट्न गएको प्रहरीलाई बताएका थिए । डेढ लाख रुपैयाँसमेत श्रीमतीको साथमा भएको उनले बताएका थिए । प्रहरीका अनुसार उनले श्रीमती खोजिदिन प्रहरीलाई पटक-पटक आग्रह गरिरहे । २० असार ११ मा लक्ष्मीकी आमा पिठुमाया परियारले पनि खोजतलास गरिदिन प्रहरीमा निवेदन दिइन् । लक्ष्मीको माइती पक्ष, श्रीमान र प्रहरी मिलेर लक्ष्मीको खोजी गरिरहे पनि कतै पत्ता लागेन । एक वर्षदेखि रमेशले श्रीमती हत्याको योजना बुनेका थिए । कास्की प्रहरीका अनुसार रमेशले मोबाइल पसल चलाउने सञ्जय शर्मा र चित्तरञ्जन साहलाई ‘एकजना महिलाको हत्या गर्नुपर्ने र त्यसबापत राम्रो रकम आउने’ योजना सुनाएका थिए । यो योजना सुनेपछि साहले १० लाख रुपैयाँ तिरेर भारतबाट पेसेवर हत्यारा बोलाए । हत्याकै योजना गरेर रमेशले आफ्नो श्रीमतीलाई जंगल लिएका थिए । तिनै भारतीय सुटरहरूको सहयोगमा उनले आफ्नो श्रीमतीको हत्या गराए । र, उनी घर फर्किए । हत्याको केही समयपछि रमेशले आफ्नो घर र लक्ष्मीको माइतीतिर फोन गरेर श्रीमती हराएको जानकारी गराएका थिए । लक्ष्मीको हत्यापछि उनी बीमा रकम दाबी गर्न पुगेका थिए । श्रीमतीको मृत्यु भएको भन्दै रकम दाबी गर्न पुग्नुले पनि प्रहरीलाई उनीमाथि शंका गर्ने आधार बनेको थियो । बीमा रकम पाउने लोभले नै यी सबै घटना घटेका हुन् । पछिल्लो समय बीमा रकम पाउने लोभकै कारण विभिन्न अपराधिक घटनाहरू घटिरहेका छन् । नेपाल प्रहरीका अनुसार पछिल्लो ५ वर्षमा मात्रै ६ वटा यस्ता घटना दर्ता भएका छन् । नेपाल प्रहरीका प्रवक्ता दान बहादुर कार्कीका अनुसार यसरी बीमाको लागि गरिने अपराधिक घटनालाई अपराधिक घटनालाई कर्तव्य ज्यान मुद्दामा राखिन्छ । ‘बीमाको लागि हत्या गरिएको भए पनि त्यो कर्तव्य ज्यान नै हो । पछिल्लो ५ वर्षमा बीमाको पैसा पाउनकै लागि हत्या भएको ६ वटा घटनाहरू प्रहरीमा दर्ता भएका छन्,’ उनले भने । छोटो समयमा नै धेरै पैसा कमाउने मनासयले मानिसको ज्यान नै लिने गरेको पाइएको उनी बताउँछन् । ‘मानिसहरू छोटो समयमा नै धेरै पैसा कमाउन चाहन्छन्, जसकै कारण कसैको ज्यान लिन समेत पछि हट्दैनन्,’ उनी भन्छन्, ‘बीमामा देखिएको मुख्य कारण पनि यही हो, त्यसैले कोही मानिसले ज्यान समेत गुमाउनु परेको छ ।’ उनका अनुसार बीमा कम्पनीहरू यस्ता विषयमा गम्भीर नबन्ने हो भने यसले भविष्यमा अझै विकराल रुप लिने देखिन्छ । ‘कुनै बिमितबारे शंका लागेमा बीमा कम्पनीहरूले सुरुमा बीमा प्राधिकरणसँग सल्लाह गर्नुहुन्छ र हामीकहाँ आउने केस भए मुद्दा दर्ताको प्रक्रिया सुरु हुन्छ,’ उनी भन्छन्, ‘यति हुँदा हुँदै पनि बीमा कम्पनीहरू अझै धेरै सजक हुन आवश्यक देखिन्छ ।’ उनका अनुसरा पछिल्लो ५ वर्षमा २०७६/७७ मा बागमति प्रदेशमा यस्ता किसिमा २ वटा घटना भएका छन् । मकवानपुर र कञ्चनपुरमा गरी भएको २ घटनामा ७ जना महिला र ५ जना पुरुष पक्राउ परेका छन् । त्यस्तै, मधेश प्रदेशको बारामा २०७९/८० मा भएको एक घटना दर्ता भएको छ । जसमा ३ पुरुष पक्राउ परेका छन् भने १ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । २०८०/८१ मा लुम्बिनी प्रदेशमा ३ वटा घटना दर्ता भएका छन् । सबै घटना बाँकेमा भएको प्रहरी तथ्याङ्कले देखाउँछ । ३ वटै घटनामा ८ जना पुरुष र ४ जना महिला पक्राउ परेका छन् । पछिल्लो ५ वर्षमा दर्ता भएका ६ वटा मुद्दा मध्ये नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाइफ, सिटजन लाइफ, एशियन लाइफ र रिलाईन्स लाइफसँग जोडिएका घटनाहरू रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसरा पछिल्लो ५ वर्षमा सोही प्रकृतिका घटनामा १६ पुरुष र ११ जना महिला गरि कुल २७ जना पक्राउ परेका छन् भने १ जना फरार छन् । बीमा वापत्तको रमक हत्याउन हत्या गर्नेहरूले फरक-फरक योजना बनाउने गरेको कार्की बताउँछन् । उनका अनुसरा कुटपिट गरी हत्या, करेन्ट लगाएर हत्या, दुर्घटना गराएर हत्या र सवारीले ठक्कर दिई मारेको तथ्याङ्क प्रहरीसँग रहेको छ । बीमा कम्पनीहरू भने यस्ता किसिमा घटना हुन नदिन शंका लागेको व्यक्तिलाई बीमा वापत्तको रकम अनुसन्धानपछि मात्रै दिने गरेको बताउँछन् । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीका अनुसार कम्पनीले अन्डरराइटिङलाई विशेष ध्यान दिने गरेको बताउँछन् । ‘कसैप्रति शंका लाग्यो भने सबैभन्दा सुरुमा अन्डरराइटिङ बीमा हो होइन भनेर जाँच् गर्छौ,’ उनी भन्छन्, ‘कसैको आम्दानी एकदमै कम छ । तर, ठूलो रकमको बीमा गरेको छ, कसैको मृत्यु भएको केही दिनमा नै बीमाको रकम माग्न आएको छ लगायतका शंका गर्ने कुनै माध्यमहरू भेटिए भने हामीले रकम भुक्तानी गर्ने गरेका छैनौं ।’ यस्ता किसिमका शंकास्पद घटना देखिए नियामक निकाय बीमा प्राधिकरणसँग सुरुमा छलफल गर्ने र प्रहरीमा जानुपर्ने अवस्था भए प्रहरीमा जाने गरेको उनी बताउँछन् । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेल पनि बिमितप्रति कुनै शंका सिर्जना भएमा रकम भुक्तानी नगर्ने गरेको बताउँछन् । ‘शंका लागेको खण्डमा हामीले भुक्तानी रोक्छौं,’ उनी भन्छन्, ‘त्यसको आवश्यक अनुसन्धान हुन्छ त्यसपछि भुक्तानी गर्न मिल्ने भए गर्छौं, नभए रकम रोकिन्छ र अनुसन्धान अघि बढ्छ ।’ बीमाकै कारण कसैको जाने जाने अवस्था सिर्जना हुन नदिन सक्दो प्रयास गरिरहेको बीमा कम्पनीहरूले बताएका छन् । कुनै पनि बीमा कम्पनीले बीमाको जोखिम वहनका लागि बीमा गरेको हुन्छ । यस्ता घटना देखिएमा विस्तृत अध्ययन गरेर मात्र दाबी भुक्तानी दिने गरेको कम्पनीहरूको दाबी छ । बीमाको रकम असुल गर्नका लागि अपराधिक मानसिकता भएकाहरूले आफ्नै नजिककाहरुके हत्या गरिरहेका छन् । आफ्नै कोखमा जन्मिएका छाेराछोरी, आफ्नै श्रीमान र श्रीमती अर्थात् आफ्नै मन मुटु भनिनेहरूको हत्या गरेर बीमा रकम असुल गर्ने गलत प्रवृति समाजमा बढ्दै गएको छ ।
आरबीसीकै मापदण्डमा बीमा कम्पनीको मूल्याङ्कन हुन्छ, कार्यान्वयनमा जोड दिनु
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयन गर्ने विषयमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तक्र्रिया गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । अध्यक्ष सिलवालका अनुसार बीमा कम्पनीहरू परम्परागत रूपमा नभई आधुनिक समय अनुसार अघि बढ्नुपर्छ । कम्पनीको सक्षमता बढाउन र विश्व बजारमा विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूले आरबीसी लागु गर्नुपर्ने उनको भनाय छ । आरबीसी पूर्णरूपमा कार्यान्वयन गर्न कम्पनीका व्यवस्थापनले जनशक्तिको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उनले बताए । बीमा कम्पनीहरूले आरबीसीको कार्यान्वयन आफ्नै लागि हो भनेर बुझ्नुपर्ने उनको धारणा छ । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले पर्याप्त अध्ययन र गृहकार्य गरेर आरबीसी कार्यान्वयनमा ल्याएको बताए । निर्देशक सुवेदीले गत २०८० साल साउन १ गतेदेखि अन्तरिम रूपमा कार्यान्वयनमा आएको आरबीसी आगामी २०८४ साउन १ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा आउने उनले जानकारी गराए । उनका अनुसार आरबीसी कार्यान्वयनमा आएका अन्तरिम वर्षहरू बीमा कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको मितिले १२० दिनभित्र र पूर्णरूपमा कार्यान्वयमा आएपछिका वर्षमा आर्थिक वर्ष समाप्त भएको मितिले ९० दिनभित्र जोखिममा आधारित पूँजी सम्बन्धी प्रतिवेदन बुझाउनुपर्नेछ । निर्देशक सुवेदीले प्राधिकरणले पनि आरबीसीकै मापदण्डका आधारमा कम्पनीहरूको मूल्याङ्कन गर्ने बताए । नेपाल बीमक सङ्घले अध्यक्ष चंकी क्षेत्रीले कम्पनीका फरक–फरक समस्याहरू सङ्कलन गरेर प्राधिकरणमा छलफल गरी समाधान गरे सहज हुने धारणा राखे । आरबीसी कार्यान्वयनका क्रममा भूकम्प तथा बाढी पहिरो जस्ता जोखिमका बीमाशुल्कका बारेमा ध्यान दिए कार्यान्वयन गर्न कम्पनीहरू प्रतिवद्ध रहेको उनको भनाइ छ ।
तीन वर्षदेखि लाभांश नदिएको एलआईसी नेपालको सेयर मूल्य किन उच्च ?
काठमाडौं । पुँजी बजारमा जीवन बीमा र निर्जीवन बीमा समूह सूचक उच्च छन् । आइतबार (असार २ गते)को अन्तिम कारोबारपश्चात् जीवन बीमा समूह सूचक १० हजार १९२ अंक छ भने निर्जीवन बीमा समूह सूचक १० हजार ६७७ अंक कायम छ । १० हजारमाथि सूचकांक रहेका यी दुई समूहबाट पनि प्रष्ट हुन्छ कि पुँजी बजारमा लगानीकर्ताको चासो सबैभन्दा धेरै बीमा कम्पनीहरूमा छ । जीवन बीमा कम्पनीहरूमध्ये पुरानो र परिपक्व कम्पनीका रूपमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)लाई लिइन्छ । पुँजी बजारमा जीवन बीमा कम्पनीहरूमा ‘हटकेक’का रूपमा एलआईसी नेपाललाई लिइन्छ । पुँजी बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य भएको कम्पनी एलआईसी नेपाल हो । असार २ गतेको तथ्याङ्कलाई आधार मान्दा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३६० रुपैयाँमा अन्तिम कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । यद्यपी सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९० रुपैयाँ घटेको छ । नेप्सेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष (५२ हप्ता)मा कम्पनीको सेयर मूल्य अधिकतम १ हजार ८ सय रुपैयाँ पुगेको छ भने न्यूनतम मूल्य १ हजार २३९.७० रुपैयाँ थियो । नेप्सेका अनुसार अधिकांश बीमा कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा कम छ । तर, विगत ४ वर्षदेखि सेयरधनीहरूको हात रित्तो बनाएको एलआईसी नेपालको सेयर मूल्य भने १ हजार बढी छ । अन्तिम पटक कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता सेयरधनीहरूले कम्पनीबाट लाभांशको स्वाद चाख्न पाएका छैनन् । कम्पनीले आर्थिक वर्ष २०६४/६५ मा १५ प्रतिशत, आर्थिक वर्ष २०६५/६६ मा २० प्रतिशत, आर्थिक वर्ष २०६६/६७ मा ५.२६ प्रतिशत नगद लाभांश बाँडेको थियो । यस्तै आर्थिक वर्ष २०६८/६९ मा ६२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कुल ६५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६९/७० मा ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद गरी कुल ३० प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ३० प्रतिशत (बोनस), आर्थिक वर्ष २०७१/७२ मा २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत गरी कुल २६.३२ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७२/७३ मा २४.८ प्रतिशत बोनस सेयर र १.३ प्रतिशत नगद गरी कुल २६.१ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३४.४६ प्रतिशत बोनस सेयर र ३५.५३ प्रतिशत नगद गरी कुल ७० प्रतिशत र आर्थिक वर्ष १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको लाभांश इतिहास हेर्दा पुँजी बजारमा बीमा कम्पनीहरूमा नम्बर वान थियो । अहिले समय बदलिएको छ । अन्य जीवन बीमा कम्पनीले निरन्तर र उच्च दरमा लाभांश वितरण गरिरहेका छन् । तर, ती कम्पनीहरूको सेयर मूल्य उच्च छैन । भारतीय बीमा कम्पनी एलआईसीले नेपालको ठूलो व्यावसायीक घराना विशाल ग्रुपसँगको सहकार्यमा सन् २००१ सेप्टेम्बरमा एलआईसी नेपाल सञ्चालनमा ल्याएको हो । विगतमा एलआईसीले उच्च लाभांश बाँडेको भएपनि नेपाल बीमा प्राधिकरणले नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि प्रतिस्पर्धामा कमजोर बन्न पुग्यो । कम्पनीका सूचना अधिकारी सदर्शन गिरी प्राविधिक कारणले सेयरधनीहरूलाई लाभांश बाँड्न नपाएको बताउँछन् । विगत तीन आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको कमाई रिजर्भमा राखेको र उक्त रकम सेयरधनीहरूकै भएको उनको भनाइ छ । ‘तीन आर्थिक वर्षदेखि कम्पनीले लाभांश बाँडेको छैन । त्यो सबै नाफा रिजर्भमा राखिएको छ । सेयरधनीहरूको कमाइ खातामा छ । कम्पनीले सेयरधनीहरूलाई कुनै घाटा बनाउँदैन । त्यसमा कुनै शंका छैन । एलआईसीमा लगानी गर्ने सेयरधनीहरू जहिले पनि खुसी नै हुनुहुन्छ,’ उनले भने, ‘प्राविधिक कारणले एलआईसीले लाभांश बाँड्न नपाएको हो । अरू कुनै कारण छैन । कम्पनीको क्षमता नभएको भन्ने पनि होइन ।’ उनका अनुसार अन्य कम्पनीको तुलनामा एलआईसी नेपालको रिजर्भ उच्च छ । ‘कम्पनीले वितरण गर्ने रकम रिजर्भमा छ । त्यसैले यस कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो । सेयर मूल्य उच्च भएको हो,’ उनले भने । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म कम्पनीले रिटेन्ड अर्निङ्गमा २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ, सेयर प्रिमियममा ६ करोड ११ लाख ५१ हजार रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८० लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमासमा कम्पनीले १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने १२ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउन कम्पनीले ८८.४५ प्रतिशत अर्थात् २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबर हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अड्किएको छ । सूचना अधिकारी सदर्शन गिरीका अनुसार हकप्रद सेयरको लागि अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको भएपनि एक वर्षदेखि पेण्डिङमा छ । पुँजी नपुर्याएसम्म प्राधिकरणले लाभांश बाँड्न नदिएकाले नगद लाभांश वितरण गर्न नपाएको उनले बताए । ‘८८ प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेर बोर्डमा आवेदन दिएका छौं । न्यूनतम पुँजी नपुर्याएसम्म नगद लाभांश बाँड्न मिल्दैन । सबै प्रक्रिया पुरा गरेर के आधारमा बोनस सेयर दिने ?,’ उनले भने, ‘कम्पनीले कमाएको सबै नाफा जगेडा कोषमा राखिएको छ ।’