आईएमई ग्रुपले छाड्यो नेपाल इन्स्योरेन्स, एशियन लाइफले किन्यो साढे ५८ करोडको सेयर

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएको छ । आईएमई समूहका तीन कम्पनीले २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बेचेका छन् । आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङ प्रालि गरी तीन कम्पनीको नाममा रहेको उक्त सेयर गत असार २४ गते बिक्रीमा राखिएको थियो । स्रोतका अनुसार उक्त सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको छ । आईएमई समूहले प्रतिकित्ता न्युनतम ३२५ रुपैयाँ मूल्य राखी बढाबढ मूल्यमा सेयर बिक्री खुला गरेको थियो । उक्त सेयरका लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ३६६ रुपैयाँमा टेण्डर पारेको हो । ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा उक्त सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । सनी सेक्युरिटीजमार्फत उक्त सेयर बिक्री भएको छ भने डाइनामिक मनि मार्केट सेक्युरिटीजबाट सेयर किनिएको छ । उक्त सेयर आईतबार नेप्सेमा कारोबार भएको हो । बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा सेयर क्रसहोल्डिङ हटाउन दवाब दिँदै आएको थियो । सोही क्रममा आईएमई समूहले प्रवर्द्धन गरेको आईजीआई र नेपाल इन्स्योरेन्सबीच मर्जरको प्रयास पनि भएको थियो । अन्तिममा आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएपछि आईएमई ग्रुपले नेपाल इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको थियो ।

आईएमई लाइफले वार्षिकोत्सवमा ३ हजार युवालाई एकैपटक दियो वित्तिय जनचेतनामूलक तालिम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरुलाई सामान्य वित्तिय ज्ञान दिने उद्देश्यका साथ इन्स्योरेन्सले शनिबार सातवटै प्रदेशका विभिन्न ४१ स्थानहरुमा उपरोक्त तालिम कार्यक्रम गरेको हो । इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर उक्त कार्यक्रम गरिएको हो । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कम्पनीका अनुसार मुलुकभर गरिएको वित्तिय जनचेतनामूलक कार्यक्रममा ३ हजार भन्दा बढी युवाहरु सहभागी भए । बीमा कम्पनीले एकैदिन ३००० भन्दा बढी युवालाई एकैपटक वित्तिय जनचेतनामूलक अभियान गरेको सम्भवतः यो पहिलो पटक हो । भाद्र १ गते आसन्न आफ्नो छैटौं वार्षिकोत्सव मनाउने क्रममा यस अघि इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरेको कम्पनीले जनाएकाे छ । आउँदा कार्यक्रमहरुमा भाद्र १ गते जीवन बीमाबारे जनचेतनाका लागि प्रभातफेरी कार्यक्रम तथा देशैभरि रक्तदान कार्यक्रमहरु गरि आफ्नो छैटौं वार्षिकोत्सव मनाउन गइरहेको इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफको नाफा साढे ६७ करोड, जगेडा कोषमा १२५ प्रतिशत छलाङ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमाससम्म खुद नाफा ६७ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ३.८३ प्रतिशत बढेर ३६ अर्ब ६२ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८.९४ प्रतिशत बढेर १५ अर्ब ४३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १४ अर्ब १६ करोड रुपैयाँ गरेको थियो । गत असारसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ८ अर्ब ९४ करोड रुपैयाँ गरेको थियो । साथै, पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ करोड १८ लाख रुपैयाँ गरेको थियो । अघिल्लो वर्ष २ खर्ब १८ करोड रुपैयाँ यवस्थापन खर्च गरेको कम्पनीले गत वर्ष २ अर्ब २६ करोड रुपैयाँ गरेको छ । कम्पनीको कुल कायम बीमालेखको संख्या ११ लाख ५ हजार ३६५ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा कोषको आकार १ खर्ब ३६ अर्ब रुपैयाँ थियो । यस्तै, कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ र जगेडा कोष १२५.३१ प्रतिशत बढेर ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२२ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस ४.३० रुपैयाँले ऋणात्मक थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८.८४ रुपैयाँ रहेको छ ।