नेशनल लाइफको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न, ५ शाखा सम्मानित

काठमाडौं । ‘शिफ्टिङ द पाराडाइम २०८०/८१’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने बार्षिक सम्मेलन  एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा उक्त सम्मेलन आयोजना गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ । श्रावण १८ गते देखी २१ गते सम्म आयोजना गरिएको उक्त सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए । यस सम्वन्धमा आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु-याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्ने बारे सो सम्मेलनमा विचार विमर्श भएको थियो । सम्मेलनमा सहभागि कर्मचारीहरुलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पंडितले सम्पत्ति शुद्धिकरण तथा आंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । यसैगरी, नेपाल का चर्चित मनोक्रान्तीका संस्थापक डा. योगी विकासानन्दले सहभागि कर्मचारीहरुलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकरात्मक उर्जाले तनाव व्यवस्थापन गर्न सकिने विषयमा प्रशिक्षण प्रदान गरे । आ.व. २०७९/८० मा शाखा संचालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालय हरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सन नेपाल लाइफले साउन ३२ गतेदेखि आईपीओ बिक्री गर्दै, जोहो गर्नुहोस् २ हजार ३९० रुपैयाँ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३२ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्रीपश्चात् सर्वसाधारणलाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली र ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरि बाँडफाँट समेत गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयरमा कम्पनीमा कार्यरत कर्मचारी र बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ १४ गतेसम्म आवेदन लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ । कम्पनीको आईपीओमा न्यूनमत कित्ताका लागि आवेदन दिने हो भने २ हजार ३९० रुपैयाँ आवश्यक पर्ने देखिन्छ । यदि अधिकमतसम्म आवेदन दिने हो भने ४७ लाख ८० हजार रुपैयाँको जोहो गर्नु पर्ने हुन्छ ।

२५७ रुपैयाँमा रिलायबल लाइफको आईपीओ बिक्री खुला

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आज साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारी र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २६ गते र ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।