रिलायबल नेपाल लाइफको सभाले पारित गर्यो अघिल्लो आवको वित्तीय विवरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार १ गते कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । सभामा सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले दिएका थिए ।

सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कुनालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथ लिएका हुन् । जेठ ३२ गते सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले कयाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । असार १ गते भएको शपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुवोध लाल श्रेष्ठको उपस्थिति थियो ।

प्रदेशका कम्पनीलाई प्राधिकरणले भन्यो : उधारो बीमा रोक्नुस्, दररेटलाई पूर्ण रुपमा पालना गर्नुस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्नेदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्राधिकरणले निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूसँग छलफल गरी कम्पनीहरुलाई सो निर्देशन दिएको हो । उक्त छलफलमा स्थानीय तहसँग अन्तरक्रिया गर्ने, उधारो बीमालाई रोक्ने, दररेटलाई पालना गर्नेदेखि नगद फिर्ता गर्नेसम्मको निर्णय भएको बीमा प्राधिकरणको लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले बताए । स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम लुम्बिनी प्रदेशमा रहेका बीमा कम्पनीले कुनै एउटा स्थानीय तह, वडा कार्यालय, टोल समुदायमा कार्यक्रम गर्नुपर्ने भएको छ । सो कार्यक्रम गर्दा बीमा प्राधिकरणको एक जना प्रतिनिधिको रोहवरमा गर्नुको साथै सो कार्यक्रमको प्रतिवेदन सात दिनभित्र प्राधिकरणको प्रदेश कार्यालयमा अनिवार्य रुपमा पेश गर्नुपर्ने निर्णय भएको प्राधिकरणका प्रदेश प्रमुख थापाले बताए । उधारो बीमालाई पूर्ण रुपमा रोक्ने बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) को व्यवस्था बमोजिम पुरा बीमाशुल्क प्राप्त भएपश्चात बीमालेख जारी गर्नु पर्ने व्यवस्थालाई पूर्ण रुपमा पालना गर्नुपर्ने भएको छ । दररेटलाई पालना गर्नुपर्ने प्राधिकरणको विभिन्न समयमा जारी गरिएको निर्देशिका तथा निर्देशनले तोकिए बमोजिमका दररेटलाई पूर्ण रुपमा पालना गर्ने निर्णय भएको छ । जुन बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (१) को व्यवस्था बमोजिम हुने पर्ने छ । नगद फिर्ता कम्पनीले व्यवसाय लिए बापत नगद, जिन्सी तथा अन्य कुनै पनि माध्यमबाट सम्बन्धित बीमितलाई प्रभाव पार्ने गरेको पाइएको भन्दै सो कार्यलाई रोक्ने निर्णय भएको प्रदेश प्रमुख थापाले बताए । उनका अनुसार उक्त प्रचलनले कम्पनीको नाफा लगायत अस्वस्थ प्रतिस्पर्धा हुन गएकोले सो कार्यलाई रोक्नको लागि बीमकका लुम्बिनी प्रदेश प्रमुखहरुको सहमतिमा सो निर्णय भएको हो ।