हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २५ करोड नाफा, दावी भुक्तानी १५९२ प्रतिशत बढ्यो
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत मसान्तसम्म २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीले २९.५१ प्रतिशत खुद नाफा वद्धि गरेको हो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ३ अर्ब ३८ करोड ४६ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गतवर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क ६१२ प्रतिशतले बढेको हो । यस्तै, ९ महिनाको अवधिमा कम्पनीको खद दावी भुक्तानी १५९२ प्रतिशत बढेर २४ करोड ७२ लाख ६१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ, जगेडा कोष ३८ करोड ५८ लाख रुपैयाँ, बीमा कोष १३ करोड ६९ लाख रुपैयाँ र महाविपत्ति कोष १ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
प्रभु लाइफको अध्यक्षमा शिक्षा भट्टचन
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा नियुक्त गरेको हो । संस्थापक सेयरधनीहरुको तर्फबाट भट्टचन अध्यक्षमा चयन भएकी हुन् । साथै कम्पनीको संचालकमा सुशान शेरचन, मिजास भट्टचन र श्याम कृृष्ण श्रेष्ठ चयन भएका छन् ।
आइएमई लाइफले आईपीओ लगत्तै बोनस सेयर दिने, प्रिमियममा सेयर किन्दा नाफा कि घाटा ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गरेपछि सजिलै २५ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । इन्स्योरेन्सले न्युनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउन आईपीओ पछि बोनस सेयर वितरण गर्ने भएको हो । कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गर्दैछ । सर्वसाधारण समुहको एक करोड २० लाख कित्तामध्ये ६ लाख कित्ता कर्मचारीहरुलाई आधार मूल्यमै बिक्री गर्नेछ । बाँकी एक करोड १४ लाख कित्ता सेयर प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्काशन गर्नेछ । प्रिमियम मूल्य १३६.९१ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता सेयर बिक्री गर्दा एक अर्ब ५६ करोड रुपैयाँ प्रिमियम आर्जन गर्नेछ । तर आयकर ऐनले विगतमा प्रिमियममा सेयर निष्काशन गरेका बीमा कम्पनीहरुलाई समेत अहिले आएर कर भुक्तानी गर्न निर्देशन दिइरहेको सन्दर्भमा आइएमई लाइफले पनि उक्त प्रिमियम रकमबाट २५ प्रतिशत कर तिर्नु पर्नेछ । यदि कर भुक्तानी गर्नु परेको खण्डमा कम्पनीले राज्यलाई प्रिमियमबाट आर्जित रकमबाट झण्डै ३९ करोड रुपैयाँ तिर्नु पर्छ । त्यसपछि कम्पनीसँग लाभांश वितरण योग्य प्रिमियम रकम एक अर्ब १७ करोड हुने कम्पनीले बताएको छ । आईपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन एक अर्ब आवश्यक पर्नेछ । यसका लागि कम्पनीले कम्तिमा पनि २५ प्रतिशत बोनस सेयर वितरण गर्नै पर्नेछ । अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा थप एक अर्बभन्दा माथि रकम रहेको छ । इन्स्योरेन्सका अनुसार प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस सेयर र आगामी वर्षमा लगानीकर्ताहरुलाई निश्चित प्रतिशत बोनस सेयर नियमित रुपमा वितरण गर्न सक्ने क्षमता बनाउनेछ । प्राथमिक बजारबाट २३६.९१ रुपैयाँको दरमा सेयर खरिद गर्नेले पहिलो वर्षमै २५ प्रतिशत प्रतिफल पाउन सक्ने छन् । प्राथमिक बजारबाट शेयर खरिद गर्नेहरुले समेत प्राप्त बोनस सेयर दोस्रो बजारमा बिक्री गरेर आफ्नो लगानीलाई सजिलै उठाउने छन् । मानौ कुनै सेयरधनीले प्राथमिक बजारबाट १०० कित्ता सेयर खरिद गर्यो । उसको प्राथमिक लगानी २३ हजार ६११ रुपैयाँ पर्न जान्छ । ५ अर्ब रूपैयाँ पुँजी पुर्याउने क्रममा कम्पनीले पहिलो वर्ष २५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न सक्ने विश्लेषण पुँजी बजारमा हुन थालेको छ । अहिलेको अवस्थामा पनि दोस्रो बजारमा जीवन बीमा कम्पनीको सेयर मूल्य कम्तिमा पनि ४७४ रुपैयाँ रहेको छ । मानौ प्राथमिक सेयरधनीले कम्तिमा पनि प्रतिकित्ता ४५० रुपैयाँको दरले प्राप्त भएको २५ कित्ता बोनस सेयर बिक्री गर्यो । यसबाट उसले ११ हजार २५० रुपैयाँ प्राप्त गर्छ । बोनस सेयर बिक्री भएपछि प्राथमिक सेयरधनीको लागत १२ हजार ३६१ रुपैयाँमा झर्छ । यदि भोलिका दिनमा बढ्दो बजारमा सेयर बिक्री गर्न सकियो भने लगानीकर्ताले प्राथमिक बजारमा गरेको लगानीलाई सजिलै उठाउन सक्ने देखिन्छ । त्यसमा पनि २५ प्रतिशत बोनस सेयर दिने भएपछि कम्पनीको सेयर मूल्य दोस्रो बजारमा राम्रै अवस्थामा रहने बजार विश्लेषण छ ।