हिमालयन एभरेष्टको खुद बीमाशुल्क ३१ प्रतिशत बढ्यो, २.१७ अर्ब भुक्तानी हुन बाँकी

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.२६ प्रतिशत बढेर ११ करोड २५ लाख ५५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३०.५४ प्रतिशत बढेर ५९ करोड १९ लाख ५० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी २५ प्रतिशत घटेर १८ करोड ६६ लाख ४८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ६० लाख ११ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको अभिकर्ता कमशिन २० प्रतिशत घटेर २ करोड ५ लाख ४५ हजार रुपैयाँ गरेको छ । कम्पनीको पुनर्बीमा कमिसशन आय १७ करोड ४५ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ३ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २.१९ प्रतिशत घटेर २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ, जगेडा कोष ७.६४ प्रतिशत बढेर ६६ करोड २० लाख रुपैयाँ, बीमा कोष ५.५० प्रतिशत बढेर १ अर्ब १५ करोड ७ लाख रुपैयाँ र महाविपत्ती कोष ५ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ५० करोड ८१ लख रुपैयाँ, जारी बीमा लेखको संख्या १ लाख २६८ वटा, कुल दावी भुक्तानी रकम ४६ करोड ७६ लाख २६ हजार रुपैयाँ, १३ हजार १२६ वटा दावी वापत २ अर्ब १७ करोड ६४ लाख रपैयाँ कुल दावी भुक्तानी हुन बाँकी रहेको छ । यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी १०.०५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८३.२१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।

गण्डकीमा स्वास्थ्य बीमा गर्ने ८ लाख, कास्कीमा सबैभन्दा बढी

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको सङ्ख्या दुई लाख ७५ हजार ७६ पुगेको बोर्डका प्रदेश संयोजक महेश ठाकुरले जानकारी दिए । सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विसं २०७३ असारमा गण्डकीमै पहिलोपटक बागलुङबाट स्वास्थ्य बीमा सुरु भएको थियो । अहिले प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । पछिल्लो पटक विसं २०७७ चैतदेखि हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा कार्यक्रम विस्तार गरिएको थियो । बोर्डको आकँडाअनुसार सबैभन्दा बढी कास्की जिल्लामा स्वास्थ्य बीमाको पहुँच पुगेको देखिएको छ । कास्कीका हालसम्म दुई लाख २२ हजार पाँच सय २४ जना स्वास्थ्य बीमामा जोडिएका छन् । यो प्रदेशको कूल जनसङ्ख्याको ४५ प्रतिशत हो । सबैभन्दा कम मनाङमा चार सय ५९ जनाले स्वास्थ्य बीमा गरेका छन् । स्याङ्जामा एक लाख १७ हजार नौ सय १४, तनहुँमा एक लाख सात हजार आठ सय ९३, बागलुङमा ९० हजार ४२, गोरखामा ८५ हजार छ सय ६५, नवलपुरमा ८६ हजार एक सय ६५, गोरखामा ८५ हजार छ सय ६५, लमजुङमा ३१ हजार आठ, म्याग्दीमा २८ हजार सात सय ४५, पर्वतमा २८ हजार चार सय ४९ र मुस्ताङमा नौ सय २१ जना स्वास्थ्य बीमामा आवद्ध छन् । स्तरीय अस्पतालबाट सेवा लिन पाइने भएकाले कास्कीमा बीमा गर्नेको सङ्ख्या बढ्दो पाइएको हो । मनाङ र मुस्ताङमा ढिलो गरी कार्यक्रम लागू भएकाले बीमा गर्नेको सङ्ख्या न्यून देखिएको हो । ती जिल्लामा जनसङ्ख्या पनि कम छ । बोर्डले चालु आवमा गण्डकीको ५० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पु¥याउने लक्ष्य लिएको छ । हालसम्म कास्कीमा ४५, स्याङ्जामा ४१, बागलुङमा ३४, तनहुँमा ३३, गोरखामा ३२, नवलपुरमा २८, म्याग्दीमा २५, लमजुङमा १८, पर्वतमा १८, मनाङ र मुस्ताङमा समान सात प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमा जोडिएको बोर्डले जनाएको छ । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका दीर्घ रोगी, अतिअशक्त र गरिब परिचयपत्र पाएका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको बोर्डका प्रदेश संयोजक ठाकुरले बताउनुभयो । गरिब पहिचान भएर परिचत्रपत्र पाएका बागलुङ, गोरखा र तनहुँका परिवारले मात्र निःशुल्क बीमाको सुविधा पाएका छन् । सरकारले प्रदेशका अन्य जिल्लामा गरिब परिवार पहिचान गरेको छैन । ‘कैदीबन्दी, अनाथलय र आश्रममा रहने व्यक्तिलाई पनि स्वास्थ्य बीमामा जोड्न पहल भइरहेको छ’, उनले भने,’सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने बोर्डको लक्ष्य छ ।’ बोर्डले बिमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशभित्र ५३ वटा अस्पताल तोकेको छ । पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० को बीमा गरेबापत एक लाखसम्मको उपचार सेवा पाउँछन् । पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य सात सय थप्नुपर्ने प्रावधान छ । ठूलो परिवारले दुई लाखसम्मको उपचार सेवा पाउने बोर्डको भनाइ छ । बोर्डले तोकेको ११ सय ३३ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको उपचार पनि बीमाबाट हुने संयोजक ठाकुरले उल्लेख गरे । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि अस्पतालमा बिरामीको पनि चाप बढ्दो छ । बागलुङस्थित धवलागिरि अस्पतालका स्वास्थ्य बीमाका स्रोत व्यक्ति भरत सापकोटाले अस्पतालमा आउने दैनिक बिरामीमध्ये ६० देखि ७० प्रतिशतले बीमाको सुविधा लिने गरेको बताए । ‘हनिर्या, पित्तथैली, एपेन्डिस आदिको शल्यक्रियादेखि बहिरङ्गका अधिकांश सेवा बीमा गरेका व्यक्तिले पाउँछन्’, उनले भने, ‘स्वास्थ्य बीमा सुरु भएपछि अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ ।’ गत साउनदेखि पुस मसान्तसम्ममा बीमामा जोडिएका २१ हजार छ सय जनाले धवलागिरि अस्पतालबाट सेवा लिएको जनाइएको छ । जनआन्दोलनका घाइते, बेपत्ताभएका व्यक्ति, द्वन्द्वप्रभावित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र नियमित डायलासिस गर्नुपर्ने बिरामीका परिवारको पनि निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको छ । प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । अपाङ्गता परिचयपत्र, डायलासिस गर्नुपर्ने बिरामीको अस्पताल रिपोर्ट, द्वन्द्वप्रभावित, जनआन्दोलनका घाइतेको परिचयपत्र, परिचयपत्र नभए जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा बीमा दर्ता हुने गरिएको छ ।वडा तहमा खटिएका दर्ता सहयोगीमार्फत बीमा दर्ता हुने गरेको बागलुङ बीमा बोर्डका संयोजक दिनेश जिसीले बताए । स्वास्थ्य बीमाको महत्वबारे बुझाएर परिवार र तिनका सदस्यलाई बीमामा जोड्ने गरिएको छ । पहिलो वर्ष बीमा गरेका कतिपय बिमितहरुले अर्को वर्ष नवीकरण नगर्ने गरेको पनि पाइएको जिल्ला संयोजक जिसीको अनुभव छ । सरकारले गरिब परिचयपत्र सबै जिल्लामा उपलब्ध गराउन सके गरिब तथा विपन्न परिवारले लाभ उठाउने देखिन्छ । स्वास्थ्य बीमाको प्रभावकारिता बढाउन जनस्तरमा सचेतनाको पनि खाँचो छ । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि सुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । अहिले ७७ वटै जिल्लामा उक्त कार्यक्रम पुगेको छ । रासस

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज हुने, स्वाप रेसियो बराबर

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन् । क्रसहोल्डिङ रहेका यी दुई निर्जीवन बीमा कम्पनीले मर्जरको तयारी गरिरहेका हुन् । स्रोतका अनुसार यी दुई कम्पनीबीच मर्जरमा जाने अनौपचारिक रुपमा सहमति भएपनि सम्झौता भने भइसकेको छैन । छिट्टै प्रारम्भिक समझदारी (एमओयू) गर्ने तयारीमा छन् । ‘दुई कम्पनी बराबरी हैसियतमा मर्जरमा जाने भएका छन्, भोलिसम्म मर्जर सम्झौता पनि हुन सक्छ,’ स्रोतले विकासन्युजसँग भन्यो । स्रोतका अनुसार दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने सहमति भएको छ । मर्जपछि बन्ने नयाँ कम्पनीको नाम  आईएमई जनरल इन्स्योरेन्स नै हुने बताइएको छ । यस्तै, नयाँ कम्पनीको अध्यक्ष, सीईओ, डिसीईओ लगायतको विषय भने छलफलको क्रममै रहेको बुझिएको छ । नेपाल बीमा प्राधिकरणले क्रसहोल्डिङ भएका नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान दबाब दिइरहेको थियो । तर, नेपाल इन्स्योरेन्स भने तत्काल मर्जरमा नजाने भएको छ । ‘नेपाल इन्स्योरेन्स तत्काल मर्जमा जान मानेन, तर पछि आईएमई जनरल र प्रुडेन्सियल मर्जपश्चात बन्ने नयाँ कम्पनीसँग मर्ज हुने सम्भावना बढी छ,’ स्रोतले विकासन्युजसँग भन्यो । हाल आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।