सन नेपाल लाइफले मृतक प्रेम आचार्यको परिवारलाई दियो ५० लाख रुपैयाँ
काठमाडौं । प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो । नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा भोलिपल्ट विहान मृत्यु भएको थियो । कम्पनीले दाबी भुक्तानी वापतको मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताए । आचार्यको निधनभएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ । रासस
बीमाको रकम पाइने लोभमा बर्दियाका चौधरीले जलाए आफ्नै गाडी
काठमाडौं । बर्दियाका चालक रामु चौधरीले बीमा दावी गर्ने मनासयले आफै गाडीमा आगो लगाएका छन् । गाडी मर्मत गर्न बढी रकम लाग्ने भएपछि निज चालकले आफ्नो फोर्स गाडीमा आगो लगाएका पुष्टि भएको छ । फागुन १ गते बिहान करिब २ बजेको समयमा जिल्ला बर्दिया मधुबन नगरपालिका-०४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा तत्काल एकिन नम्बर खुल्न नआएको पछि खुल्न आएको लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडी आगलागी भएको जानकारी पाएपछि प्रहरी कार्यालय ढोढरी बर्दियाको टोली घटनास्थलमा पुगेको थियो । उक्त घटनास्थलमा पुग्दा गाडीको पुरै भाग आगलागी भई पुर्ण रुपमा जली नष्ट भएको अवस्थामा रहेको प्रहरी कार्यालयले जनाएको छ । र, घटनास्थलमा कुनै पनि व्यक्ति नरहेको सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सवारी साधनको चालक जिल्ला बर्दिया मधुबन नगरपालिका-०२ गंगापटुवा बस्ने रामु चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्यो । सोधपुछको क्रममा चालक चौधरीले गत माघ २० गते उक्त फोर्स गाडी बिग्रिएकोले मर्मतको लागी ग्यारेजमा लगेका बताए । तर मर्मत गर्न बढी रकम लाग्ने भएपछि उनले गाडीमा आगो लगाई बीमा दाबी गर्ने मनसायले माघ २९ गते राती करिब ८ बजेको समयमा छुट्टै जिपद्वारा टोचन लगाई जिल्ला बर्दिया मधुबन नगरपालिका-०४ बसन्ता स्थित एकान्त जँगल एरियाको माचड भुरिगाउँ जोड्ने पक्की सड्कको पश्चिम किनारामा लगे । र, फागुन १ गते बिहान करिब २ बजेको समयमा उनले गाडीमा डिजल छर्की आगो लगाई आफ्नो घरतर्फ गएको जानकारी प्रारम्भिक अनुसान्धनबाट प्राप्त भएको प्रहरीले जनाएको छ । साथै, उक्त प्रहरीको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने
गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । यसका लागि स्रष्टाको पहिचान र नामावली सङ्कलन भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’का अनुसार यस वर्ष दुई सय जना कवि, कलाकारको निःशुल्क स्वास्थ्य बीमा गरिनेछ । ‘दीर्घरोगी, न्यून आय भएका र जीवनभर सिर्जनाकर्ममा लागेकालाई लक्ष्य गरी स्वास्थ्य बीमा कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘प्रदेशका ११ वटै जिल्लाका स्रष्टालाई यसमा समेट्छौँ ।’ प्रतिष्ठानले स्वास्थ्य बीमामा आबद्ध हुन इच्छुक स्रष्टालाई आवेदनका लागि सार्वजनिक रुपमा सूचितसमेत गरेको छ । स्रष्टाको छनोट प्रतिष्ठानले बनाएको कार्यविधिअनुसार हुने कुलपति खड्काले बताए । सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रमको ढाँचा र मापदण्डअनुसार नै स्रष्टाको बीमा गर्न लागिएको हो । प्रतिष्ठानले बीमा गर्दा लाग्ने प्रतिव्यक्ति शुल्क तीन हजार पाँच सय रुपैयाँ स्वास्थ्य बीमा बोर्डलाई तिर्नेछ । सोबापत पाँच जनासम्मको परिवारले वार्षिक एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् । पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य रु सात सय थप्नुपर्ने प्रावधान छ । ठूलो परिवारले रु दुई लाखसम्मको उपचार सेवा पाउने बोर्डको भनाइ छ । बोर्डले तोकेका एक हजार एक सय सय ३३ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको जाँच तथा उपचार सेवा पनि बीमाबाट हुने गरेको छ । प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले भाषा, साहित्य, सङ्गीत, नाट्य, चित्रकला, मूर्तिकलाजस्ता क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाको स्वास्थ्य बीमा गरिने उल्लेख गरे । ‘बीमाको प्रक्रिया अगाडि बढिसकेको छ, आवश्यकताका आधारमा स्रष्टाले यो सुविधा पाउनुहुन्छ,’ उनले भने, ‘यो कार्यक्रमको निरन्तरताका लागि बजेट थप्न सरकारसँग माग गरेका छौँ ।’ स्रष्टाको सम्मानसँगै दुःखसुखमा साथ दिने राज्यको संस्था छ भनेर अनुभूति दिलाउन स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको उपकुलपति गुरुङले बताए । सुरुआतमा थोरै सङ्ख्यामा स्रष्टाको बीमा गरिन लागिए पनि यसबाट सकारात्मक सन्देश प्रवाह हुने प्रतिष्ठानका पदाधिकारीको बुझाइ छ । धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले स्वास्थ्य बीमा कार्यक्रमबाट आर्थिक समस्या झेलिरहेका कवि, लेखकलाई बढी लाभ पुग्ने बताए । ‘जिल्ला तहमा पनि धेरैले बीमाबारे चासो लिनुभएको छ, मापदण्ड बनाएर यसलाई छिटो लागू गर्नुपर्छ,’ उनले भने । प्रतिष्ठानले ‘गण्डकी प्रतिभा उपचार कोष’को अवधारणा पनि अघि सारेको छ । उपचार पाउनबाट कोही पनि स्रष्टा, सर्जकले वञ्चित हुन नपरोस् भनेर कोष स्थापनाको योजना ल्याइएको कुलपति खड्काले बताए । गत वर्ष स्थापना भएको प्रतिष्ठान भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनामा क्रियाशील छ । रासस