रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो ५ लाख रुपैयाँ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित कुमार कार्कीको मृत्यु भएकोले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो । सो कम्पनिको इटहरी शाखाले सुनसरी जिल्लाको बराहक्षेत्रका रामझोडा निवासी स्वर्गीय कुमार कार्कीको घरमै गएर निजकी पत्नी गंगा पोखरेललाई ५ लाख ५३ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । जीवन बीमा मृत्यु दावी हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ, इटहरी शाखा प्रमुख चन्द्रमणी निरौलाले पीडितको सहजताकोलागि घरमै पुगेर रकम प्रदान गरिएको बताए । कार्यक्रममा इटहरी शाखाकी वरिष्ठ एजेन्सी मेनेजर तुल्सा कार्कीले जीवन बीमा जीवन रहँदा पनि जीवन नरहँदा पनि बीमित तथा आसृत परिवारको आर्थिक सुरक्षाको निमित्त अपरिहार्य रहेको बताइन् । बीमा दावी रकम बुझ्दै मृतककी पत्नी गंगा पोखरेलले रिलायबल नेपाल लाइफबाट झन्झटरहित तवरले दावी रकम पाएको र प्राप्त रकम छोराछोरीको भविष्य निर्माणमा लगानी गर्ने बताइन् । कार्यक्रममा मृतककी बहिनी सिता छेत्री, स्थानिय समाजसेवी अर्जुन भट्टराई, रिलायबल इटहरी शाखामा आवद्ध अभिकर्ता, एजेन्सी मेनेजर एवम् मृतकका नातेदारहरुको समेत उपस्थिती थियो । मृतक कार्कीको गत मंसिर २७ गते मृगौला तथा कलेजोमा भएको खराबीको कारणले मृत्यु भएको थियो ।

मेटलाइफ फाउन्डेशनले महिला नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार डलर दिने

काठमाडौं । मेटलाइफ फाउन्डेशनले महिला नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार डलर दिने भएको छ । फाउन्डेसनद्वारा पौरखी नेपाललाइ महिला नेतृत्वको व्यवसाय विकासका लागि अमेरिकी डलर ५० हजार सहयोग गरेको हो । मेटलाइफ फाउन्डेसनले सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न पौरखी नेपालसँग सम्झौता गर्दैछ । यस कार्यक्रम अन्तर्गत पौरखीले यी महिलाहरुको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्नेछन् । अमेरिकी डलर ५० हजारको सहायताद्वारा यस परियोजनाले ४ महत्त्वपूर्ण क्षेत्रहरू जस्तै उद्यमशीलता, वित्तीय सेवाहरूमा पहुँच, स्थानीय बजारमा बिक्री विकास, र सहयोगी शिक्षा प्रदान गर्ने छ । पौरखीले काठमाडौं, चितवन र मकवानपुर जिल्लाका करिब १५ हजार महिलालाई सहयोग पुर्याउन यस अभियानलाई गम्भीरताका साथ सञ्चालन गर्नेछन् । यो परियोजना एम एस सी ग्लोबल कन्सल्टिङसँग समन्वय गरीएको छ, जुन बुटिक परामर्शदाता फर्म हो जसले विगत २० वर्षदेखि अर्थपूर्ण, आर्थिक, सामाजिक र आर्थिक समावेशी गतिविधिहरूमा काम गरिरहेको जनाएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘नेपाल जस्ता देशका महिला उद्यमीहरूले आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्दा आर्थिक स्वास्थ्य सुधार गर्न थुप्रै चुनौतीहरू सामना गर्छन् । यी महिलाहरूलाई आफ्नो उद्यमहरू निर्माण गर्न र आफ्नो आम्दानी बढाउन, डिजिटल फुटप्रिन्टहरू सिर्जना गर्न र विभिन्न प्रकारका वित्तीय सेवाहरू पहुँच गर्न सहयोग चाहिन्छ । मेटलाइफ फाउन्डेसनको यो सहयोगले यी महिला उद्यमीहरूलाई दिगो जीवन र थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गरेर उनीहरूको जीवनमा परिवर्तन ल्याउनेछ ।’ मेटलाइफ फाउन्डेसनको महिला–नेतृत्व व्यवसायको लागी सहयोगको एक भागको रूपमा, फाउन्डेशनले पौरखी जस्तै साझेदारहरु संग काम गर्न को लागी तथा उनीहरुको क्षमताहरु निर्माण गर्नको लागी मार्गदर्शन र वित्तीय सेवाहरुको प्रावधान संग काम गर्नेछ जसले उनीहरुलाई सम्बन्धित कठिनाईहरु पार गर्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समतालाई अंगाल्ने विषयको समर्थनमा, मेटलाइफ फाउन्डेसनको कार्यक्रमले महिला–नेतृत्व व्यवसायका महिलाहरुका लागि भारत, नेपाल र भियतनाममा उनीहरूको वित्तीय स्वास्थ्यमा सुधार गर्दै राम्रो जीवनयापनका अवसरहरू निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।

नेपाल लाइफको नाफामा २३७.२९ प्रतिशत फड्को, जीवन बीमा कोष डेढ खर्ब पुग्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३७.२९ प्रतिशत बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क सामान्य बढेर १८ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन १.२९ प्रतिशत बढेर १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ३९ करोड ५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशत बढेर ८ अर्ब ४४ करोड २५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ३० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ८२ करोड ७६ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो । पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २९ करोड ८७ लाख ५७ हजार रुपैयाँ लगानी गरेको थियो । यस्तै, कम्पनीले ५१ प्रतिशत सेयर बराबरको रकम १५.२० करोड दिर्घकालीन क्षेत्रमा लगानी गरेको छ । कम्पनीको अभिकर्ता कमिशन भने घटेको छ । यस अवधिमा कम्पनीले १ अबए ५३ करोड ८० लाख ५१ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ४६ लाख ८२ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको थियो । ६ महिनाको अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जगेडा कोष ७२.५८ प्रतिशत घटेर ४८ करोड ४ लाख ४९ हजार रुपैयाँ, जीवन बीमा कोष २१ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपत्ती कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.७३ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य अनुपात आम्दानी ६८.४४ गुणा रहेको छ ।