बीमाशुल्क आर्जनमा आईएमईपछि गुराँस लाइफ एग्रेशिभ, अर्ब क्लबमा थपियो प्रभु लाइफ
काठमाडौं । चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन भएको छ । पुसदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्ससमेत गरी २० वटा जीवन बीमा कम्पनीले सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् । जुन पछिल्लो एक महिना अर्थात मंसिरसम्मको तुलनामा ३९.०९ प्रतिशतले बढी हो । मंसिरसम्ममा १९ वटा जीवन बीमा कम्पनीले ५१ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा सबै कम्पनीको व्यवसायमा सुधार देखिन्छ । रकमको आधारमा नेपाल लाइफको अग्रता कायमै छ । कम्पनीले चालु आवको ६ महिनामै १८ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । मंसिरसम्ममा १५ अर्ब ६२ करोडको व्यवसाय गरेको कम्पनीले एक महिनामै १९.२३ प्रतिशतले वृद्धि गरेको छ । यससँगै १० अर्ब बढीको जीवन बीमाशुल्क संकलन गर्नेको सूचीमा नेपाल लाइफ एक्लै छ । प्रतिशतको आधारमा भने आईएमई लाइफ इन्स्योरेन्स एग्रेशिभ बनेको छ । कम्पनीले पुस एक महिनामै ३२.६० प्रतिशत बढी व्यवसाय विस्तार गरेको छ । गत मंसिरसम्म १ अर्ब ४७ करोड रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा १ अर्ब ९५ करोड प्रिमियम उठाएको छ । आईएमईपछि गुराँस लाइफ एग्रेशिभ देखिन्छ । समीक्षा अवधिमा गुराँस लाइफले २८.५३ प्रतिशतले जीवन बीमाशुल्क संकलनमा वृद्धि गरी १ अर्ब ४३ लाख रुपैयाँ कायम गरेको छ । जुन अघिल्लो महिनासम्ममा १ अर्ब ११ करोड रुपैयाँ थियो । यो अवधिमा अर्ब बढी बीमाशुल्क संकलन गर्नेको सूचीमा प्रभु लाइफ इन्स्योरेन्स थपिएको छ । गत मंसिरसम्ममा ८२ करोड ५३ लाख रुपैयाँ बराबरको बीमशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा एक अर्ब ३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा २५.७२ प्रतिशतले बढी हो । यस्तै, ५ अर्बदेखि १० अर्बको बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनी छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ र राष्ट्रिय बीमा संस्थान रहेका छन् । यता १ अर्बदेखि ५ अर्बको सूचीमा अधिकांश कम्पनी छन् । समीक्षा अवधिमा महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन मंसिरसम्मको तुलनामा २०.९१ प्रतिशतले बढी हो । त्यस्तै, पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस मसान्तसम्ममा ५९ करोड ८२ लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेको तथ्यांकले देखाएको छ । कुनको कति ?
लाभांश र मर्जर प्रस्ताव पारित गर्न लुम्बिनी र सगरमाथा इन्स्योरेन्सले डाके साधारण सभा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । दुवै कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिक डिल्लीबजार काठमाडौंमा र सगरमाथा इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा लैनचौ ब्याङ्क्वेटमा हुने । दुवै कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव र मर्जर प्रस्ताव पारित गर्नेछन् । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । यस्तै, सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, दुवै संस्थाबीच हुने मर्जर प्रस्तावलाई सभाले पारित गर्नेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १००ः८० स्वाप रेसियोमा मर्ज हुनेछन् । सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछन् । दुवै संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले माघ २७ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी र लाभांश प्राप्त गर्नेछन् ।
१० वटा कम्पनीलाई बीमा प्राधिकरणको चेतावनी : पोलिसी रोक्नेदेखि १० लाखसम्म जरिवाना लाग्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले समयमा विवरण पेश नगरेको भन्दै विभिन्न १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ । समयमा विवरण पेश नगरेका ३ वटा जीवन बीमा, ६ वटा निर्जीवन र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटालाई बुधबार पत्रचार गर्दै समयमा विवरण बुझाउन प्राधिकरणले चेतावनी दिएको हो । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५ बमोजिम चौमासिक रुपमा विवरण उपलब्ध नगराएका १० कम्पनीलाई चेतावनी दिइएको प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले बताए । ‘बीमा कम्पनीहरुले आफ्नो कारोबारको चौमासिक विवरण पेश गर्नुपर्ने हुन्छ, त्यो नगरेको कारणले जीवन र निर्जीवन गरी १० वटा कम्पनीलाई पहिलो पटक सचेत गराइएको हो,’ प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले बताए । उनकाअनुसार समयमा विवरण नबुझाउनेमा जीवन बीमातर्फका गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, निर्जीवन बीमातर्फबाट राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् भने पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले आफ्नो कारोबारको चौमासिक विवरण बुझाएका छैनन् । प्राधिकरणले पहिलो पटकका लागि यी १० कम्पनीलाई पत्राचार गर्दै चेतावनी दिइएको र पटक पटक दोहोरिएमा नगद जरिवानासमेत हुन सक्ने निर्देशक लाल बताउँछन् । ‘अब पनि सुध्रिएन भने सम्पत्ति शुद्धिकरणमा १० लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ,’ उनले विकासन्युजसँग भने । बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले प्रत्येक चार/चार महिनामा कति कारोबार गरे, कुन कुन पोलिसी जारी गरे, शंकास्पद कारोबार भएमा कस्ता कस्ता भए लगायतका सबै विवरण बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेमा कम्पनीहरुलाई नगद जरिवानादेखि पोलिसी जारी गर्न नपाउनेसम्मको कारवाही हुने प्राधिकरणले जनाएको छ ।